डडेल्धुरामा देखिन थाले गिद्ध, संरक्षणमा वेवास्ता

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । करिव १०/१५ बर्ष अघि ठुलो संख्यामा हुलका हुल देखा पर्ने गिद्ध पछिल्लो समय लोप हुदै गएका छन् । लोप हुदै गएका प्रकृतिका कुचिकारको रुपमा रहेका चरा प्रजाती गिद्ध हिजो आज गाउँघर तिर निकै कम संख्यामा देखिन थालेका छन् ।

जिल्लाका ठुला पहाड, भिरपाखामा दैनिकजसो सहजै देखिने गिद्ध पछिल्लो समय दिन प्रतिदिन वातावरण असन्तुलित हुनु र गिद्धलाई आवश्यक पर्ने उपयुक्त बासस्थान तथा आहाराको कमी हुदा गिद्धको संख्यामा कमि हुदै गएको स्थानियवासीको भनाइ छ ।

गाउँघर नजिकैका सिनो फाल्ने ठाउँतिर ठुलो संख्यामा भेटिने गिद्ध मानवीय सचेतनाका कारण जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रुपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको संख्या कम हुँदै गएको स्थानिय बताउँछन ।

प्रकृतिको कुचीकार मानिने पंक्षी गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने पंक्षीको रुपमा समेत लिने गरीन्छ । तर यसको संरक्षणमा भने कतैबाट खासै पहल भएको देखिदैन । ‘डाइक्लोफेनिक’ औषधि सेवन गरेका पशुहरु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्दछ ।

लोपोन्मुख अबस्थामा पुगेको गिद्ध हिजो आज गाउँघर तिर थोरै भए पनि देखिन थालेकाले यस्को संरक्षणका सम्बन्धित निकायले ध्यान दिनु पर्ने स्थानिय पदम बहादुर निदालले बताउनुभयाे । गिद्धका लागी आहारा नपुग्दा र बासस्थान नहुदा लोप हुदै गएको र आहारा र वास स्थान भए गिद्धको संख्या केही बढ्ने उहाँको भनाई छ ।

बढ्दो जनसंख्या संगै वन विनास हुन थाले पछि ठुला रुखमा कमी हुनु, पर्यावरणमा असर आउनुलगायतका कारणबाट पनि गिद्धको संख्यामा कमि आएको हुनसक्ने स्थानिय बताउछन् । गिद्धको संरक्षणमा सरकारी प्रयासले मात्र सम्भव नहुने हुँदा यसको संरक्षणका लागि स्थानियबासिलाई जनचेतना जगाई सचेत गराउनुपर्ने आवश्यकता रहेको जानकारहरु बताउछन् ।

लोप हुने अबस्थामा पुगेको गिद्ध पछिल्लो समय जिल्लाको अमरगढी संगै जिल्लाका अन्य क्षेत्रमा पनि देखिन थालेकाले स्थानीय सरकार र सरोकारवाला निकायले यसको संरक्षणका लागी ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?