अपांगता भएका महिलाहरूको आर्थिक अधिकार प्रवद्र्धन, वित्तीय न्याय र समावेशीकरणका लागि अन्तक्र्रिया

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेत्रहीन महिला संघ, नेपालको आयोजनामा ‘अपांगता भएका महिलाहरूको आर्थिक अधिकार प्रवद्र्धन, वित्तीय न्याय र समावेशीकरणका लागि सरोकारवाला र पत्रकारबीच अन्तक्र्रिया कार्यक्रम’ राजधानीमा सम्पन्न भएको छ । अपांगता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धन गर्न तथा उनीहरूको न्यायमा पहुँच पुगोस र अपांगता भएका महिलाहरूको सवालहरू सबै क्षेत्रमा समावेशीकरणका लागि सबै पक्षको ध्यानाकर्षण होस् भन्ने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका प्रतिनिधिसभाका सदस्य डा.तोसिमा कार्कीले अपांगता भएका महिला तथा व्यक्तिहरूका लागि संविधानलगायत कानुनी प्रावधानले उनीहरूले पाउनुपर्ने सेवा, सुविधा तथा हकअधिकार सुनिश्चित गरेको भए तापनि त्यसको कार्यान्वयन नहुनाले उनीहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउनुभयो । यसका साथै उहाँले यससम्बन्धी आवाज उठाउन तथा समस्या सम्बोधन गर्न अपांगता भएका व्यक्तिहरूका लागि छुट्टै आयोग अर्थात् अपांगतासम्बन्धी आयोगको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा नेपाल राष्ट्र बैंकका उपप्रवक्ता नारायणप्रसाद पोख्रेल, युवा तथा साना व्यावसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोका (कल्याण) रहनुभएको थियो । विशिष्ठ अतिथिको रूपमा बोल्नुहुँदै डा.रोकाले राज्यको नीति, नियम, वित्तीय बजेट उचित लक्षित वर्गलाई समेट्ने खालको भन्दा पनि अरू वर्ग तथा क्षेत्रहरूमै बढी केन्द्रित भएकाले अपांगतालगायत विशेष प्राथमिकता दिएर सेवासुविधा दिनुपर्ने क्षेत्रमा चाहेर पनि काम गर्न नसकिरहेको गुनासो गर्नु हुँदै नीतिगत रूपमै परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी अतिथिको रूपमा बोल्नुहुँदै महिला तथा बालबालिका विभागका निर्देशक निरा अधिकारीले अपांगता भएका महिला पनि रोजगारी तथा स्वरोजगारीमार्फत आत्मनिर्भर हुन सक्छन् र यसको लागि अवसरको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा सभापतित्व ग्रहण गर्नु हुँदै नेत्रहीन महिला संघ, नेपालका अध्यक्ष, सीता सुवेदीले अपांगता भएका महिलालाई रोजगारी तथा स्वरोजगारी गर्न विभिन्न समस्या, चुनौती भएकाले समाधान गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले आर्थिक सशक्तीकरण नभएसम्म अपांगता भएकाको न्यायमा पहुँच पुग्न सक्दैन । त्यसैले यो सवाललाई सबै पक्ष तथा क्षेत्रमा समावेशीकरण गर्न सबै सरोकारवाला, सञ्चारकर्मी तथा पत्रकारले पनि पहल गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा अपांगता भएका महिला तथा अभिभावकले रोजगारी तथा स्वरोजगारीसँग जोडिएका तथा आफूले भोगेका समस्याबारे उजागर गर्नु हुँदै राज्यले आफूहरूलाई साँच्चै नै उपेक्षा गरेको वा राज्य भएको महसुस नभएको पीडा पोख्नुभयो । कार्यक्रमको सहजीकरण नेत्रहीन महिला संघ, नेपालका महासचिव अनिता सिग्देलले गर्नुभएको थियो । कार्यक्रमलाई सफल पार्न ओपन सोसाइटी फाउण्डेशन, एलायन्स फर सोसल डायलगले सहयोग गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?