आर्थिक काममा रहेको जनसंख्या एक करोड ५० लाख

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका एक करोड ४९ लाख ८३ हजारजना आर्थिक काममा संलग्न रहेको पाइएको छ । सो संख्यामध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रको काममा सहभागी जनसंख्या ५७.३ प्रतिशत रहेको छ । थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मत कार्यमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवामा ३.९ प्रतिशत र औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न छन् । राष्ट्रिय जनगणनाअनुसार गणना सुरु भएको १२ महिनाअघि आर्थिक काम गरेका व्यक्ति कुल एक करोड ४९ लाख ८३ हजार तीन सय १० जना रहेका छन् । जसमध्ये सबैभन्दा धेरै ५५.३ प्रतिशतले आफ्नै काम गरेका छन् । अरूको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएको संख्या ०.१ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका एक करोड ४९ लाख ८३ हजारजना आर्थिक काममा संलग्न रहेको पाइएको छ ।

सबैभन्दा बढी घरायसी क्षेत्रमा आर्थिक काम गरेका व्यक्ति ६१.८ प्रतिशत, गैरवित्तीय संस्था ३२.७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत, नाफा नकमाउने संस्था ०.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेको छ । १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी रहेका छन् । त्यसपछि अन्य कारणमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, वृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको छ ।

आर्थिकरूपले सक्रिय जनसंख्या १० वर्ष वा सोभन्दा बढी उमेरका दुई करोड ३९ लाख ५८ हजार आठ सय ६८ जना व्यक्तिमध्ये एक करोड ५६ लाख ८९ हजार सात सय ७७ जना अर्थात् ६५.५ प्रतिशत आर्थिकरूपले सक्रिय र ८२ लाख ११ हजार १२ जना अर्थात् ३४.३ प्रतिशत आर्थिकरूपले निष्क्रिय रहेका छन् । आर्थिकरूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेको संख्या ५८ हजार ७९ जना रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

अक्सर आर्थिकरूपले सक्रिय व्यक्तिको संख्या एक करोड १० लाख ३८ हजार एक सय पाँच रहेको छ । जुन आर्थिकरूपमा सक्रिय कुल व्यक्तिको ७०.३५ प्रतिशत हो । त्यसैगरी आर्थिकरूपले निष्क्रिय संख्या ४६ लाख ५१ हजार छ सय ७२ जना रहेको छ । जुन कुल आर्थिक सक्रिय संख्याको २९.६५ प्रतिशत हो । आर्थिकरूपले सक्रिय एक करोड १० लाख ३८ हजार एक सय पाँच जनामध्ये एक करोड दुई लाख ७० हजार चार सय ४७ जनाले अक्सर रोजगार गर्ने र सात लाख ६७ हजार छ सय ५८ जना अक्सर बेरोजगार रहने गरेको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?