गरिब र उत्पीडित वर्गले आफ्नो असली प्रतिनिधि चिन्न जरुरी छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयोे, ‘नेपाली जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्णचाहिँ छैन । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो । जे-जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो । इमानदार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ ।’

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरूको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्बद्र्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताउनुभयो । उहाँले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत संघर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो । ‘शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो । पहिलोचोटि प्रधानमन्त्री भएपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ’, उहाँले भन्नुभयो, ‘नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो ।’

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उहाँले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालय लगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

कोशीमा आन्दोलनरत पक्षसँग वार्ताका लागि ६ सदस्यीय समिति गठन
कोशी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो । शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो । छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले घटनाबाट आफू गम्भीर भएको बताउनुभएको थियो गत फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो तर यो नामको विरोधमा चैत ५ गते विराटनगरमा विरोध भयो । यही विरोधका क्रममा प्रहरीले लाठीचार्ज गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदमबहादुर लिम्बू घाइते हुनुभएको थियो । उपचारकै क्रममा उहाँको शुक्रबार बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उहाँको निधनपछि समस्या थप बल्झन सक्ने भएपछि सरकारले छानविन समिति गठन गरेर घटनाको विषयमा अध्ययन गर्ने भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?