जनसंख्याको असमानुपातिक अवस्थिति

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा लिएको जनगणनाको तथ्यांक विश्लेषणसहित सार्वजनिक गरेको अन्तिम जतिजाले विभिन्न नयाँ तथ्यांक सार्वजनिक गरेको छ । श्री ३ महाराज चन्द्रशमशेरका पालामा विसं १९६८ देखि सुरु भएको जनगणना गर्ने कार्यको थालनी अहिले पनि निरन्तर छ । प्रत्येक १०/१० वर्षमा गरिँदै आएको जनगणना नेपालमा हालसम्म १२ पटक गरिसकिएको छ । प्रत्येक पटक कुनै न कुनै नयाँ सन्दर्भसमेत समावेश गरेर जनतालाई प्रश्न गर्ने गरिएको छ ।

जनगणना गर्दा केवल जनगणना गरिँदैन । धर्म, जात, भाषाका साथै पेशा, व्यवसाय, रोजगारलगायत विभिन्न जनसांख्यिक विवरणसमेत तयार पार्ने गरिन्छ । वर्तमान समय राजनीतिको चरमोत्कर्षको बेला हो । कुनै प्रदेशको नाम यही नै हुनुपर्छ भनी आन्दोलनमा होमिएरसमेत ज्यान फाल्ने गरिन्छ । नाममा पहिचान चाहियो भनेर आन्दोलन गर्ने समय हो यो । राजनीति वा आन्दोलनका नयाँ विषय खोज्ने समयमा जाति, भाषा, धर्मजस्ता कुरामा राजनीति नहुने कुरै भएन । त्यसैले कुनै अमूक जातको मानिस मातृभाषा नेपाली नै बोल्ने रहेछ भने पनि जनगणनामा उसले जाफ्नो जातीय भाषालाई आफ्नो मातृभाषा भनेर लेखाउने गरेको छ ।

अर्कातिर हिन्दूधर्मावलम्बी जनजाततिको मानिसलाई कुनै हिन्दूइतरको धर्म मान्छु भनेर लेख्न दबाब दिइन्छ । यसरी जनगणनामा आएका तथ्यांकहरू शतप्रतिशत ठीक प्रमाणित हुन नसकेका होलान् तर सरकारले आफ्नो आधिकारिक निकायबाट गरेको जनगणना हो यो । त्यसैले यसलाई मिथ्यांक भन्न मिल्दैन । जात, भाषा, धर्मजस्ता कतिपय कुरालाई छोडेर जानसांख्यिक तथ्यांक, अवस्थिति, प्रतिव्यक्ति आयलगायत कुराहरूमा द्विविधा छैन भन्न सकिन्छ । मधेस नेपालको जम्मा भूगोलको १७ प्रतिशत क्षेत्रफल हो । दुई दशक पहिलेसम्म त्यहाँ ४६ प्रतिशत मानिसको बसोवास छ भन्दाभन्दै हाल झण्डै ५४ प्रतिशत मानिसको बसोवास पुगेको र काठमाडौं उपत्यकामा अत्यधिक बढी मानिसको चाप रहेको कुराले सरकारलाई केही सोच्न बाध्य बनाएको छ ।

बसाइँ सराइको तीव्रता यसले देखाएको छ । कम सुविधा भएका हिमाली तथा पहाडी क्षेत्रका ठाउँहरूमा क्रमशः जनसंख्या कम हुँदै गइरहेको छ । सक्नेले राजधानी वा अन्य सुविधा सम्पन्न शहरी क्षेत्रमा बसोवास गर्न चाहका छन् र त्यस्ता ठाउँहरूमा बस्ने सामथ्र्य नहुनेहरूले तराईलाई आफ्नो रोजाइमा राखेका छन् । यसले गर्दा विभिन ठाउँका खेतीयोग्य स्थान आवासीय क्षेत्रमा परिणत भइरहेका छन् । हिमाली तथा पहाडी क्षेत्रका रुख्खासुख्खा ठाउँमात्र खाली छन् तर ती ठाउँहरूमा भएका बस्ती पनि उजाडिँदैछन् र ती क्षेत्रमा खेतीपाती गर्न छोडिएको छ । यो सबैले देख्दै र महसुस गर्दै आएकै कुरा हो । त्यसमाथि सरकारले गरेको जनगणनाले अधिकारिक रूपमै पुष्टि गरेको छ ।

यसैगरी यसपटकको जनगणनामा जागरिकलाई मोबाइल, टेलिभिजन, फ्रिज छ कि छैन भनेजस्ता प्रश्न गरिएको थियो । इन्टरनेटबारे पनि सोधिएको थियो । समयसन्दर्भ अनुसारका आधुनिक सुविधामा नागरिकको पहुँच विकास हुनसकेको छ कि छैन र कति प्रतिशत नागरिकहरूले यस्ता सुविधा लिन सकेका छन् भन्ने जानकारी लिन सरकारले यसपटक यस्ता प्रश्न समावेश गरेको थियो । विदेश पलायन भएको जनसंख्याको प्रतिशत यसबाट प्राप्त भएको छ । देशको ठूलो जनशक्ति वैदेशिक रोजगारीमा विदेशिएको छ । यो सुखद् सन्दर्भ होइन । देशमा असमानुपातिक बसोवास नभएको कुरा वर्तमान जनगणनाले देखाएको छ । यसबाट एकातिर बस्ती उजाडिने र अर्कातिर बढी जनघनत्व हुने समस्या सिर्जना भएका छन् ।

समानुपातिक रूपमा रोजगारी सिर्जना र विकास हुन नसकेका कारण यस्तो परिणाम देखिन आएको हो । जनसंख्याको वृद्धिदर यथास्थितिमा छ । यसलाई एक प्रकारले सकारात्मक मान्न सकिएला तर कतिपय देशले भोलि जनसंख्या न्यून रहने चिन्ताले जनसंख्या वृद्धिका अनेक उपाय अवलम्बन गरिरहेका छन् । यसलाई विज्ञको रायमुताबिक गर्नु उचित हुन्छ । सरकारले देशभर समानुपातिक जानसांख्यिक फैलावटका लागि उचित उपाय सिर्जना गरी तिनलाई लागू गर्नुपर्ने आवश्यकता छ । नत्र भोलिका दिनमा एकातिर शहरी क्षेत्रमा प्रदूषण र खानेपानी अभावका कारण जनजीविन कठिन बन्दै जान्छ भने दुर्गम गाउँहरूमा मानिसको बसोवास पातलिँदै गएर जंगली जनावरको संख्या अधिक वृद्धि हुनाले ती ठाउँपछि गएर बसोवास योग्य नहुन सक्छन् । त्यसकारण यसबारेमा अहिलेदेखि नै सोच्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?