मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली काँग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागि हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबैकुरा छलफलको क्रममा छ । छलफल घनिभुत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ । गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागि हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली काँग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन ।’

उहाँले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । मलाई लाग्छ अब उहाँले ४÷५ दिनमा हामी यसलाई टुंग्याउँछौ भन्नुभएको थियो विश्वासको मत दिएपछि । त्यही स्पिडमा काम भइराखेको छ । मलाई लाग्छ सम्भवतः २÷३ दिन भित्रमा यसले पूर्णता पाउँछ । सहमतिमा, सबैको सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी हामी सहमतिको आधारमा यो कुरालाई टुंग्याउँछौँ । हाम्रो बिचमा अहिले सरकार बिस्तारको बारेमा भइरहेको छलफलमा कहीँपनि दायाँबायाँ छैन । कसैको बीचमा असहमति पनि छैन । कसैको नकारात्मक कुरा पनि छैन ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गर्नुभयो । सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?