रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ माथि विमर्श

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याउनुभएको छ । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौंमा विशेष कृति-विमर्श कार्यक्रम आयोजना गरियो ।

साहित्यकार तथा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका रूपमा आएको बताउनुभयो । उहाँले लेखक राईले युद्धलाई सकारात्मक दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी प्रा.डा.विष्ण एस राईले अहिलेसम्म नेपाली वाङ्मयमा यसप्रकारको कृति नआएको उल्लेख गर्दै कृतिकार राईले नयाँ र महत्वपूर्ण काम गरेको जिकिर गर्नुभयो ।

दर्शनाशास्त्री तथा संस्कृतिविद् डा.भक्त राईले चिन्तक रक्ष राईको यस ग्रन्थमा दर्शन पाइने बताउनुभयो । उहाँले युद्ध विध्वंशमात्रै नभएर सिर्जना पनि भएको उल्लेख गर्नुभयो । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले युद्ध कुरुपमात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताउनुभयो । यस्तै, समालोचक अनिता पन्थीले रक्ष राईको यस ग्रन्थ नयाँ खोज, नयाँ सोच, विचार, चिन्तन र दर्शनले युक्त भएको बताउनुभयो ।

कृतिकार राईले वाङ्मयका क्षेत्रमा नयाँ-नयाँ खोज तथा अनुसन्धान गर्दै जाँदा ‘युद्ध सौन्दर्य चिन्तन’ नामक ग्रन्थ तयार भएको सुनाउनुभयो । उहाँले करिब एक दशकको खोज, अध्धयन तथा अनुसन्धान र लेखनबाट ग्रन्थ तयार भएको जानकारी गराउनुभयो ।

राईको उक्त ग्रन्थ गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको उक्त ग्रन्थ महŒवपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस बागबजारमा पाइन्छ ।

‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् । छ सय छपन्न (६५६) पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । कवि तथा प्राज्ञ शशी लुमुम्बूले सहजीकरण गरेको कार्यक्रम नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको थियो ।

ब्रिटिश गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’, ‘पोयट इन किलिङ जोन’ (अंग्रेजी) कवितासंग्रह, ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ र ‘पल्टनेको फोटो’ कथासंग्रह जस्ता कृति प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । हाल बेलायतको वेल्समा बस्दै आउनुभएका राईको जन्म खोटाङको बुइपामा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?