भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । सो मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो । पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको अनुन्धानले देखाएको छ ।

पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरूलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो । पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?