मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठिक भएन : ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

श्यामप्रसाद घिमिरे/हिटा

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताउनुभएको छ । एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको बताउनुभयो । ‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उहाँले भन्नुभयोे, ‘अब अरू एकातिर, एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो । ओलीले भन्नुभयोे, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरूमा छैन ।’ अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिनुभयो । एमालेजस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उहाँको भनाइ थियो । व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयोे, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’ समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उहाँले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै ओलीले भन्नुभयोे, ‘झण्डै दुईतिहाइ कम्युनिष्ट सरकार फुटाल्नेलाई मति बिग्रेको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’ साथै सरकार ‘बनाइदिएको’ भोलिपल्टबाटै चालामाल ठिक नभएको र सरकार ढाल्न लागिपरेको उहाँको भनाइ थियो ।

जनताको सबैभन्दा धेरै माया मैले पाएको छु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जनताको सबैभन्दा धेरै माया पाउने व्यक्ति आफू भएको बताउनुभएको छ ।
सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जहाँ पुगे पनि आफूलाई जनताले निक्कै माया गर्ने बताउनुभयो । आफू र आफ्नो पार्र्टी एमालेलाई जनताले निक्कै माया गर्ने गरेका उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो जोसुकैले प्राप्त गर्दैन, मैले त्यसैकारण आफूलाई भाग्यमानी भन्ने गरेको छु, ठूला-ठूला भनेका देशहरूले लखेट्छन्, ठूला-ठूला शक्ति भनेकाले लेखट्छन्, तर जनताको माया सबैभन्दा बढी कोही व्यक्तिले नेपालमा पाएको छ भने मैले पाएको छु, त्यो सौभाग्य मलाई मिलेको छ ।’

अर्घाखाँचीले आफूलाई अन्यत्र जस्तै अत्यन्त माया गरेको भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले लामो समयपछि अर्घाखाँची आएर पुराना, जेल बसेका र नयाँ साथी भेट्दा खुसी लागेको बताउनुभयो । आफू अर्घाखाँची जिल्लाप्रति सानैदेखि प्रभावित भएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?