विपद् व्यवस्थापनमा ध्यान दिऔँ

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालमा जुनसुकै याममा पनि कुनै न कुनै प्रकारका विपद् परिरहेकै हुन्छन् । बर्खा होस् वा हिउँद, वर्षा ऋतु होस् वा शिशिर जहिले पनि समय सन्दर्भ अनुसारका आपद्विपद् परिनै रहेका हुन्छन् । हुन त विपद् भन्ने कुरा संसारका जुनसुकै मुलुकहरूमा पनि भइरहेकै देखिन्छन्, सुनिन्छन् । तै पनि सम्पन्न मुलुकहरूमा तीसँग सामना गर्ने संशाधन पनि त्यही अनुसारका हुन्छन् । हाम्रोमा प्राकृतिक प्रकोपको नियन्त्रण गर्ने र तीसँग सामना गर्ने संशाधनको कमी छ, कमीमात्रै होइन एक प्रकारले अभाव नै छभन्दा हुन्छ । बर्खामा कतै पहिरो गयो भने त्यसलाई पन्साउनका लागि भनेको बेला डोजर उपलब्ध हुन सक्दैन । बाढीमा बगेका दोपाय-चौपायहरूको उद्धार गर्न उपयुक्त संशाधनहरूको उपलब्धता हुन सक्दैन ।

संशाधनमात्रै होइन तालिम प्राप्त जनशक्तिको पनि अभाव नै छ । बर्खामा बाढी-पहिरोको चपेटामा हामी पर्नुपर्ने हुन्छ भने हिउँदमा आगलागी तथा डढेलोको प्रकोप हुने गरेको छ । हिउँद महिना सुख्खा याम हो । चारैतिर वनपाखा यस याममा सुख्खा हुने गर्दछन् । वनका पातपतिङ्गरहरू सुकेर भूइँमा फिँजिन्छन्, पाखाभित्ता, खरबारीहरूमा खर र घाँसहरू सुकेका हुन्छन् । केही कारणले कतैबाट आगो सल्किन पुग्यो भने त्यसले ठूलो क्षेत्रमा फैलिएर विकराल रूप धारण गर्नपुग्छ । वनका छेउमा रहेका बस्तीहरूमा त्यसले प्रभाव पार्छ । यसरी वर्षैपिच्छे हिउँदयाममा आगलागी वा डढेलोबाट ठूलो परिमाणमा धन र ठूलो संख्यामा जनको समेत क्षति हुनेगरेको छ ।

यस वर्ष त हिउँदे पानी पनि कम पर्‍यो । अहिले जताततै सुख्खा छ । काठमाडौं उपत्यकाका वरिपरिका डाँडाहरूमा समेत डढेलो सल्किरहेको देख्न सकिन्छ । डढेलो मानिसकै लापरबाही वा कमजोरीबाट हुने गर्दछ । कतिपय मानिसले अज्ञानतावस आफ्ना पाखापखेरामा आगो लगाएर त्यसको खरानीको मलमा राम्रो, घाँस पलाउँछ भन्ने आसयले जानी-जानी आगो लगाएका हुन्छन् भने कतिपय अवस्थामा लापरबाहीबाट आगलागी हुने गर्दछ । चुरोट-बिँडीका ठुटा ननिभाई फाल्नाले वा ब्याड सल्काएको आगो ननिभाई छोड्नाले त्यसलाई हावाले उडाई आगलागी वा डढेलो फैलिन जान्छ । घरमा अँगेनाको आगो ननिभाई छोडेर मेलापात जानाले पनि कुनै कारणबस फैलिन पायो भने घरमा आगलागी हुन्छ ।

सबैभन्दा प्रमुख कारण केटाकेटीले भेट्ने गरी आगो पार्ने साधान सलाई, लाइटर, झुलो, चकमक र दर्शन ढुंगा राख्नु हुँदैन । यसलाई ठूलो कमजोरीका रूपमा मानिसले बुझ्नुपर्ने हुन्छ । आगो भनेको खेलाची गर्ने कुरा होइन भन्ने सबैले मनन् गर्नुपर्छ । आगो र पानीसँग सधैं सावधान रहनुपर्छ, यी खेलाची गर्ने कुरा होइनन् भनेर बुढापाकाले भन्ने गरेका कुरा असत्य होइन । वर्षैंपिच्छे देशभरिमा आगोमा परेर धेरैको ज्यान जाने गरेको छ भने त्यसभन्दा धेरै संख्यामा मानिस कुरूप र अंगभंग भएर बाँच्न बाध्य छन् । आगो निभाउन जाँदा ज्यान गुमाउने पनि छन् । डढेलो निभाउन जाँदा पनि मानिसहरू आगोमा पर्ने गरेका छन् । सामान्य नगरिकमात्र होइन तालिम प्राप्त सेनाहरूकै समेत ज्यान गुमाएका विगत छन् ।

यसले गर्दा यसका लागि अझै पर्याप्त तालिम पुगेको रहेनछ भन्ने थाहा हुन्छ । बस्तीका बीचबीचमा पोखरी खन्नुपर्छ भनेर शास्त्रीय ग्रन्थहरूले भनेको कारण यही हो । आगलागी भएपछि कुवा खनेर हुँदैन भन्ने त उखानै छ । त्यसैले सरकार यस्ता विपद् आइपर्छन् भनेर पहिले नै तयारी रहनुपदर्छ । स्यालको सिकार गर्न बाघ मार्ने तयारी गर्नुपर्छ भनिन्छ । त्यसैले साना समस्याका लागि पनि ठूलो तयारीको आवश्यक पर्दछ । गाउँबस्तीतिरका लागि दमकलको व्यवस्था गरिनुपर्ने हुन्छ । दमकल जान नसक्ने ठाउँहरूमा र वनजंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न विकसित देशहरूमा जसरी हेलिकप्टरबाट पानी हाल्न हाम्रो सामथ्र्य नपुग्ला तर स्थानीयस्तरमै गर्न सकिने उपायको अवलम्बन गर्नु आवश्यक हुन्छ ।

सरकारको विपद् व्यवस्थापन विभागलाई सतर्कताका साथ राख्नुपर्छ र जहाँ यस्ता घटना हुन्छन् त्यसको नियन्त्रणका लागि परिचालन गरिहाल्नुपर्छ । यस्ता विपद् आइपर्नासाथ तुरुन्तै हल गरिहाल्नुपर्छ, गरौँला नि ! भनेर बस्न मिल्दैन । त्यसकारण संशाधनका साथ तयारी अवस्थामा सरकार रहनुपर्छ र आवश्यकता अनुसार त्यसलाई परिचालन गरिहाल्नुपर्ने हुन्छ । ठाउँ-ठाउँमा अग्नि रेखा वा अग्निचक्र बनाउनाले पनि ठूला वनजंगलमा डढेलोबाट हुने क्षतिलाई कम गराउन सकिन्छ । यो सावधानीबाट कम गर्न सकिने विपद् हो । सरकार र स्थानीय सबैको भूमिका यसका लागि उत्तिकै आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?