नेपालको वैदेशिक व्यापारमा हवाई ढुवानी सेवा

Read Time = 12 mins

✍️ डा.सुमनकुमार रेग्मी

नेपालको विकट भौगोलिक बनौट र भूपरिवेष्ठित नेपालको स्थितिको कारणबाट उत्पन्न ढुवानी समस्यालाई स्थलगत, सामुद्रिक तथा हवाई तीनवटा नै मार्गको प्रयोग गरिनुपर्दछ । यसका लागि बहुउदेश्य ढुवानी कन्टेनर व्यवस्था हुनुपर्दछ । स्थलगत, समुद्रिक तथा हवाई तीनवटा मार्गबाट हुने कार्गोबारे अध्ययन-अनुसन्धान गरिनुपर्दछ । स्थलगत, सामुद्रिक तथा हवाई मार्गबाट हुने ढुवानीका लागि उपयुक्त संवेष्ठन गर्नुपर्ने देखिन्छ । हवाई मार्गद्वारा पठाइने ढुवानी सम्बन्धमा जानकारी उपलब्ध गराई निर्यात व्यवसायलाई छिटो छरितो तुल्याउनु आवश्यक छ । नेपालमा हवाई ढुवानीको विकास तथा विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क राख्नुपर्ने देखिन्छ ।

फेट्फर्वाडरसम्बन्धी नेपाल वायु सेवा तथा अरू हवाईसेवाले नेपाल हवाई ट्राफिक संघलगायत अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघसँग निकटतम सम्बन्ध राखी फेटसम्बन्धी समस्याहरू आपसी सम्झौता-छलफलबाट समाधान गर्नुपर्ने देखिन्छ । नेपालको निकासी योग्य वस्तुहरूको ढुवानी व्यवस्था मुख्यतया हवाई मार्गबाट नै कहिलेकाँही भएको देखिन्छ । देशको एकमात्र अन्तर्राष्ट्रिय हवाईस्थलबाट फूलको बिउ, रुद्राक्ष जस्ता वस्तुहरू आयात भएको देखिन्छ ।

विमानस्थलबाट आयात-निर्यात हुने बिरुवा र बिरुवाजन्य वस्तुहरूका मापदण्ड अनुगमन गर्ने निकायको प्लान्ट क्वारेन्टाइन चेकपोष्टमा आयात हुनेमा स्ट्रबेरीका बिरुवा, सतुवा, ताजा फलफूल, बिरुवाजन्य वस्तुहरू, तरकारी, बिउ आदि देखिन्छन् । नेपालमा फूलको बिउ अमेरिका, जर्मनी, जापान, ग्वाटेमाला, हल्याण्डलगायत देशबाट आयात भएको देखिन्छ । यी देशबाट आयात हुने फूलका बिउ अधिकांश नर्सरीका लागि हुन्छन् । त्यस्तै गरी हवाई ढुवानीबाट चिया, च्याउ, कफी दाना, सतुवा, काठका सामान, खाद्य सामग्री, फूलको बिउ, हर्रो, गहतको दाल, आलस, घाँसको बिउ, जिम्बु, टिमुर, चिराइतो, ताजा तरकारी र रुद्राक्ष-भद्राक्ष आदि निकासी भएको देखिन्छ ।

नेपालका कम तौल र बढी मूल्य भएका निकासी वस्तुहरू हवाई ढुवानीबाट निकासी गरिनुपर्दछ । कुनै वर्ष त नेपालको हवाई मार्गबाट बिरुवाजन्य वस्तुका आयात घटेका र यस्ता वस्तुका निकासी बढेका देखिन्छन् । निकासी वस्तु ढुवानी परिमाणमा कम, हवाईउडान ढुवानीमा कम क्षमता र हवाई ढुवानी खर्चमा बढी हुनाको कारण नेपालका लागि स्थलगत र सामुद्रिक कोलकाटा पोर्ट र बंगलादेशी पोर्टबाट नेपालको वैदेशिक व्यापारका ढुवानी गर्ने गरिन्छ । नेपालको निकासी व्यापार परिमाणको ढुवानीको करिब पन्ध्र प्रतिशत जति निकासी ढुवानी हवाईजहाजबाट गरिने अनुमान गरिएको छ । अरू कोलकोटा र बंगलादेशको पोर्टबाट गर्ने गरिन्छ ।

नेपालमा बढ्दै जाने वैदेशिक व्यापार ढुवानी परिमाणका लागि समयसापेक्ष हवाई ढुवानी स्थिति अपर्याप्त हुँदै जाने भएकाले थप अन्तर्राष्ट्रिय हवाई ढुवानी सेवालाई आमन्त्रण गर्नुपर्ने देखिन्छ । त्यसर्थ अरू विदेशी जहाज कम्पनीहरूलाई पनि हवाई कार्गो सामान ढुवानीका लागि प्रयोगमा ल्याउन आवश्यक छ । अन्तर्राष्ट्रिय हवाई ढुवानी सेवाका जहाज नेपालमा ट्रान्जिट मार्ग भइआएको खण्डमा नेपालमा हवाई ढुवानी सेवा सरल हुन जान्छ । त्यसका साथै अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाललाई अन्तर्राष्ट्रिय हवाई यात्रुको सन्दर्भमा ट्रान्जिट गन्तब्य बनाउँदै लगिनुपर्दछ ।

वर्तमान हवाई ढुवानी दर नेपालका लागि विशेष भूपरिवेष्ठित देशका लागि उपयुक्त देखिँदैन । हवाई ढुवानी सेवाको आफ्नो दर हुन्छ जुनबेला मन लाग्यो उहीबेला ढुवानी दर बढाउने गरेकाले अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघको ढुवानी दर भूपरिवेष्ठित देशका लागि लागू गरिनुपर्ने देखिन्छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएको हुँदा निकासी-पैठारी बढ्दै गएको अवस्थामा हवाई ढुवानी सेवाको प्रयोग बढ्दै जाने हुन्छ । हवाई ढुवानी भाडा बढेमा नेपालको पैठारी मन्द र निकासीमा बढी असर पर्दै आएको देखिन्छ । हवाई ढुवानी शुल्क जति भए पनि समुद्रसँग जोडिएको देशको लागि त्यति असर पर्दैन । तिनीहरूले सस्तोमा पानीजहाजबाट सामान ढुवानी गर्न सक्दछन् । हवाई ढुवानी शुल्क समुद्रीतटका देशका लागि त्यति महँगो त देखिँदैन तैपनि ती देशहरूमा कूल ढुवानी खर्च कम पार्न समुद्री मार्गको विकल्प रहेकाले निकासीमूलक वस्तुहरू सस्तोमा निर्यात गर्न सक्दछन् । तैपनि नेपालले निकासी-पैठारीका वस्तु अन्तिम बिन्दुसम्म पुर्‍याउने हवाई ढुवानीसहित कोलकोटा बन्दरगाह र बंगलादेशी बन्दरगाह प्रयोग गरिन्छ ।

वर्तमान हवाई ढुवानी दर नेपालका लागि विशेष भूपरिवेष्ठित देशका लागि उपयुक्त देखिँदैन । हवाई ढुवानी सेवाको आफ्नो दर हुन्छ जुनबेला मन लाग्यो उही बेला ढुवानी दर बढाउने गरेकोले अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघको ढुवानी दर भूपरिवेष्ठित देशका लागि लागू गरिनुपर्ने देखिन्छ । नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघले छुटै हवाई ढुवानी दरको सेवा विश्व व्यापार संघमार्फत माग र प्रदान गरिनुपर्दछ ।

नेपालको निकासी हृवात्त बढ्न नसक्नुमा व्यापारिक साझेदारी देशको संख्या एक सय सत्तरीभन्दा बढी पुग्दा पनि व्यापारिक सम्झौता भएको देश १७ मा नै सीमित रहनु एक कारण देखिन्छ । नेपालको एक देश भारतसँग मात्र पारबहन मार्ग रहने प्राकृतिक कारण हुनु नेपालको सतह मार्गबाट गरिने व्यापारमा ठूलो अवरोध आइपरेको छ । यसका लागि पारबहन खर्च घटाई नेपाली वस्तुका वैदेशिक बजारमा प्रतिस्पर्धा बढाउन खटिएको कूटनीतिक अधिकारीले नेपालमा पुग्ने जल, स्थल, हवाईको ढुवानीका साधनको अद्यावधिक विवरण राखी आई.ए.टी.ए. दरभन्दा सहुलियत दर कार्यान्वयन गराउन पहलसहित भारत, पाकिस्तान तथा बंगलादेश बाहेकका देशसँग पारबहन सन्धि गराउनेतर्फ पहल गर्नुपर्ने नितान्त आवश्यक देखिन्छ ।

उपयुक्त बुँदाहरूमा संकलित विवरण खटिएका अधिकृतले आफ्नो देशभित्र र विदेशस्थित कूटनीतिक निकायहरूमा बेलाबेलामा प्रेस भेलामार्फत परराष्ट्र मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमति अनुरूप सम्बन्धितलाई प्रचारप्रसार गरी नेपालको व्यापार, पर्यटन लगानीले आर्थिक क्षेत्रको उन्नतिका लागि कार्य गर्नुपर्ने देखिन्छ । उपयुक्त कार्यसम्बन्धी विवरण, संकलन, कार्य तर्जुमा, कार्यान्वयनका लागि नियोगमा उपलब्ध सम्बन्धित वेवसाइटबाट सहयोग लिई बनाउन सकिने कार्य विभिन्न वेवसाइटबाट तर्जुमा हुन सक्ने अन्य कार्य पनि औंल्याउन सकिन्छ । यी यस्ता कार्य जुनसुकै देशको आफ्नो देशबाहिर रहेका आफ्ना कूटनीतिक नियोगहरूमा गरिने कार्य हुन् । नेपालमा हवाई ढुवानी कम्प्लेक्स बने पनि अझ यसलाई अत्याधुनिक बनाउँदै लगिनुपर्दछ ।

नेपालका निकासीयोग्य वस्तुहरूका लागि अन्तर्राष्ट्रिय हवाई सेवाका कम्पनीहरू खास एवं किटान वस्तु र दरबाट सम्झौता गराउन अति आवश्यक छ जसले गर्दा ढुवानी भाडा कम भई बजेटमा प्रतिस्पर्घा गर्न सकिने हुन्छ । अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघको सदस्य देशहरूले हवाई ढुवानीमा के कस्तो सुविधा पाइआएका छन् अध्ययन गर्न जरुरी छ । नेपालमा हवाई ढुवानी सामान ढुवानी उडानहरूको थप गर्नुपर्ने देखिन्छ । साथै हवाई वातानुकुलित कन्टेनर बहुउदेश्य ढुवानी यातायात सेवा नेपाल सञ्चालन भएमा गुणस्तरीय कृषि वस्तु निकासी गर्न सकिन्छ । नेपालमा वातानुकुलित हवाई ढुवानी कन्टेनर आकारका ट्रक कन्टेनर सेवा काठमाडौंको हालको र प्रस्तावित चक्रपथमा सुरुवात गर्न आवशयक छ । (लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्वनायव-कार्यकारी निर्देशक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?