शबरी प्रतीक्षाले फल प्राप्त हुन्छ

मणि शर्मा
Read Time = 16 mins

शेरबहादुर देउवाले भनेका थिए, कम्युनिष्टको शासन आए बोल्न पाइँदैन । अहिले कथित कम्युनिष्टको नेतृत्वमा देउवा समर्थित सरकार छ तर जनताले आफ्ना पिरमर्का प्रधानमन्त्री समिप राख्दा प्रहरीले उनीहरूलाई लछार पछार गर्दै मुख बलजफ्ती थुनेको छ । संविधानले दिएको बोल्ने अधिकारमाथि ‘कम्युनिष्ट’ प्रधानमन्त्रीको आदेशमा जनताको मुख थुिनएको छ तर देउवा रमिते बनेर चूप लागेका छन् वा बोल्ने अधिकारमाथि बन्देज लगाएका छन् । अहिले फेरि दूरसञ्चार विधेयकमार्फत फोन रेकर्डिङ आफू प्रतिकूलको वाक तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने विधेयक ल्याउने प्रयासमा छ सरकार । पुष्पकमल दाहालको असहिष्णुतालाई कांग्रेसलगायत एघार दलले साथ दिइरहेका छन् ।

महाभारतको अरण्यक पर्वमा लेखिएको छ, ‘जब हस्तिनापुरवासीले पाण्डव वनवास जाने थाहा पाए, शोकाकुल हुन पुगेका, विना कुनै भय त्रास भीष्म, विदूर, द्रोणाचार्य, कृपाचार्य आदिको अकर्मण्यताका लागि ज्ञानगुन, विद्याबल, शस्त्रादिले युक्त त्यस प्रकारका महापराक्रमीहरूको पनि पटक-पटक नाना तरहले परस्पर निन्दा गर्न थाले । आफ्नो निन्दा हुँदै गरेको थाहा पाउँदा पनि अनेक शस्त्र तथा शास्त्र ज्ञानले सुसज्जित ती महाबलीहरूमा कुनै क्रोध उत्पन्न भएन । ती महाबलीहरूभन्दा के हाम्रा पुष्पकमल परम बलशाली छन् ?

देश आर्थिक रूपमा कंगाल पल्टिएको छ । केवल यसलाई ढाकछोप गरेर अहिले राखिएको छ । बैंकमा तरलता छैन । पैसाको अभावको कारण बैंकले कर्जा लगानी गर्न सकेको छैन तर तीन-तीन महिनामा ब्याजदर बढाइरहेको छ । यसको विरुद्ध दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन जारी छ । देशको स्थिति श्रीलंकाको जस्तै भइसकेको अवस्था छ । कुन दिन एकैचोटि विष्फोट हुनेछ, तब यी नेताहरूलाई देश छोडेर भाग्नुको विकल्प हुने छैन । हुन त यिनीहरू र ठूला उद्योगपतिहरूले पैसा हुण्डीमार्फत देशबाहिर पठाइसकेका छन् । नेपालमा पैसा छैन तर विनोद चौधरीले श्रीलंकामा यहाँबाट पैसा लगेर बैंक खोल्दैछन् ।

विश्वबाट साम्यवाद लोप भएर गएको छ । चीन पनि खुला अर्थतन्त्रमा प्र्रवेश गरेको धेरै भयो तर नेपालमा आतंकवाद प्रचण्ड विचारधाराको रूपमा अझै ज्यूँदो छ । यसलाई मलजल गरेर हुर्काउन कहिले कांग्रेसले त कहिले एमालेले मिहिनेत गरिरहेका छन् ।

यहाँका अपराधी, माफिया, तस्कर, बिचौलिया जति सत्तामा छन्, उनीहरूले कानुन आफ्नो अनुकूल बनाउँछन् । मौरीको दुईवटा पेट हुन्छ । एउटामा उसले खाएको कुरा राख्छ र अर्कोमा उसले फूलको रस संग्रह गरेर राख्छ । मौरीहरू झैं यी नेता तथा उद्योगपतिहरूको दुईवटा पेट छन् । एउटामा यहाँ काम चलाउने पैसा राख्छन् र अर्कोमा विदेशमा कालोधन राख्ने गर्छन् । मौरीसँग मिल्ने यिनीहरूको यतिमात्र समानता हो, अरू केही मिल्दैन । आफूले संग्रह गरेको कालोधन रूपी महलाई यिनीहरू जनतामा बाँड्दैनन् ।

राष्ट्रको ढुकुटीमाथि प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि धावा बोलेका छन् । अयोग्य लडाकु र दश वर्षे हिंस्रक आक्रमणमा घाइते र अपांग भएका आफ्ना लडाकु र कार्यकर्तालाई आर्थिक सहयोग बाँड्ने निर्णय मन्त्रिपरिषद्वाट गरेका छन् । तर, माओवादीबाट मारिएका, घाइते भएका, अपांग भएकालाई आर्थिक सहयोग खोइ ? यसमा दुराशय लुकेको छ । पुष्पकमल लगायत माओवादीका नेताहरूले उनीहरू माथि मुद्दा चले फेरि सशस्त्र युद्ध गर्ने धम्की दिएका छन् । भोलि फेरि यिनीहरूले मुलुकमा आतंक मच्चाए बेरोजगार युवाहरूलाई यस्तै आर्थिक प्रलोभन दिएर युद्धमा होमिन उत्प्रेरित गर्नेछन् । हुन त यो माओवादीहरूको स्याल धम्की हो ।

उनीहरू अब एउटा माखो पनि मार्ने स्थितिमा छैनन् तर सत्ता वा प्रतिपक्षमा बसेर पनि आतंक मच्चाउन सक्छन् । यसमा कांग्रेसको समर्थन किन ? के कांग्रेस पनि माओवादी जस्तै आतंककारी शक्ति बन्दैछ ? माओवादी आतंककारीहरूलाई बाँड्ने पैसाले यहाँ कैयौं उद्योगहरू खोल्न सकिन्छ । उद्योगहरू खोलेर तिनीहरूलाई रोजगारी दिने कि पैसा बाँड्ने ? माछा मार्ने सीप दिने कि केही छाक खान माछा दिने ?
अनमिनले अयोग्य लडाकुलाई बाँड्न भनेर पुष्पकमल दाहाललाई पैसा दिएको थियो । उक्त पैसामध्ये दाहालले बीस अर्ब रुपैयाँ आफैँले राखेको र कालीकण्डकी समझौता गर्दा उनी, देउवा र ओलीले नौ करोड रुपैयाँ कमिसन खाएको प्रमाणसहित दिन सक्छु भनेर बाबुराम भट्टराईले भनेका थिए । आज जब पुष्पकमलविरुद्ध अदालतमा मुद्दा पुगेपछि पुष्पकमलमा समाहित भए तब उनले ती प्रमाणहरू पेश गर्ने कुरा बिर्से ? के उनले ती प्रमाण नष्ट गरे वा भविष्यलाई भनेर लुकाएर राखेका छन् ? मुलुक तथा सनातन धर्ममाथि आक्रमण गर्ने यस्ता आक्रमणकारीका नाइकेलाई नेपाली सेना आफ्नो सेनाहरूलाई प्रशिक्षण दिन बोलाउँछ । फेरि राष्ट्रको ढुकुटीमाथि र्‍याल काढेका छन् ।

जसलाई नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक दलले पनि समर्थन गरेको छ । के नेपाली कांग्रेस पनि माओवादीकरण भइसकेको हो ?
रवि लामिछाने नेता बनेपछि उनको बोली फेरियो, उनी अरूलाई जे आरोप लगाउने गर्थे त्यही कित्तामा उँभिन पुगे । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले भविष्यवाणी गर्दै भनेका थिए ‘संसार अब लेखन संस्कृतिबाट श्रव्यदृष्यतर्फ जाँदैछ । गहिरो र वस्तुनिष्ठभन्दा भावनात्मकीकरणतर्फ जाने खतरा उत्पन्न भएको छ ।’ उनको भविष्यवाणी अहिले आएर सत्य सावित भएको छ र रवि लामिछाने जनताको भावनासँग खेलेर नेता भएका पात्र हुन् । मूलतः उनी अमेरिकाले स्थापित गरेर तयार गर्न लागेको नव जेलेन्सी नै हुन् । सि. के.राउत र उनमा कुनै अन्तर छैन । दुवै एउटै कम्पनीका उत्पादन हुन् ।

ठूला दलहरूमा भएका जेलेन्सीहरू काम गर्न नसकेपछि यिनीहरूलाई प्रयोगमा ल्याउन जगेडा कोषमा राखिएको हो । यही श्रव्यदृष्यमार्फत भावनानात्मकीकरण गरी राष्ट्रिय स्वतन्त्र पार्टी र यसका सुप्रिमो रवि लामिछानेलाई उदय गराइएको हो । यो जनताको भावनासँग खेलेर जनतालाई मुर्ख बनाउँदै सत्तामा जाने युग हो ।

विश्वबाट साम्यवाद लोप भएर गएको छ । चीन पनि खुल्ला अर्थतन्त्रमा प्र्रवेश गरेको धेरै भयो तर नेपालमा आतंकवाद प्रचण्ड विचारधाराको रूपमा अझै ज्यूँदो छ । यसलाई मलजल गरेर हुर्काउन कहिले कांग्रेसले त कहिले एमालेले मेहनत गरिरहेका छन् । मरेको लाशलाई ब्यूँताउन खोज्नेहरूलाई के भन्ने ? यिनीहरू कुनै तान्त्रिक पनि होइनन् । यो प्रचण्डपथ साम्यवाद मुलुकका लागि सबैभन्दा बढी खतरा हो, यसले देशलाई खोक्रो बनाइरहेको छ । तर, सत्तालोभले कहिले कांग्रेस र कहिले एमालेले सतीदेवीको शवलाई काँधमा बोकेर हिँडे झैं माओवादीको लाशलाई काँधमा बोकेर हिँडिरहेका छन् । एकदिन सडेर यो पतन भएरै जानेछ ।

मियोविनाको दाइँ हुँँदैन । यो बुझेर नै दूरदर्शी नेता बीपी कोइराला तथा मदन भण्डारीले देशमा मियोका रूपमा राजसंंस्था रहनुपर्छ भनेका थिए तर आज उनीहरूकै अनुयायीहरू राजसंस्थाको कट्टरविरोधी छन् र पुष्पकमल दाहालको फेर समात्दै पछि लागेका छन् । नेपाल जस्तो सानो र सैन्य तथा आर्थिक दृष्टिकोणले कमजोर मुलुकको स्थायीत्व तथा शान्तिका लागि राजसंस्था अपरिहार्य छ । आज देशको मियोलाई उखालेर फालेकाले देश विदेशीको क्रीडा मैदान भएको छ र शासकवर्ग विदेशी शक्तिका गुलाम बनेका छन् । शबरीले रामको प्रतीक्षा गरे झैं नेपाली जनता देशको मियो आफ्नो ठाउँमा आउन प्रतीक्षा गरिरहेका छन् । अब जनताले नै विदेशी शक्तिले फालेको मियोलाई ल्याएर दाइँ हाल्ने ठाउँमा स्थापित गर्नुपर्छ ।

शबरीको प्रतीक्षा लामो भयो तैपनि उनी प्रतीक्षारत नै रहिन् । एक दिन भगवान श्रीरामको त्यहाँ आगमन भयो । उनले भित्र गएर बयर लिएर आइन् । रामलाई अमिलो बयर नपरोस् भन्दै आफूले चाख्दै रामलाई दिन थालिन् रामले पनि प्रसन्न चित्त भएर ती बयर खाए ।

शबरीलाई आश्रममा छोडेर जब गुल्मीका ऋषि शृंगका पुत्र महर्षि मतंग देवलोक जान लागे तब शबरी पनि उनीसँगै देवलोक जाने जिद्दी गरिन् । उनी त्यसबेला बालिका थिइन् । जब शबरी आफू मतंग महर्षिसँग जान नपाएर रुन थालिन् तब महर्षिले भने, तिमी यहाँ बसेर प्रतीक्षा गर, एकदिन भगवान राम यो आश्रममा आउने छन् । उनी गुरुवाक्यलाई सत्य ठानेर आश्रममा रामको प्रतीक्षा गर्न थालिन् । सधैं उनी रामको बाटो हेरिरहन्थिन् ।

शबरीको प्रतीक्षा लामो भयो, बुढेसकालले छोयो तैपनि उनी प्रतीक्षारत नै रहिन्, कहिले राम आउनेछन् भनेर पर्खिरहिन् । एकदिन भगवान श्रीरामको त्यहाँ आगमन भयो । रामलाई देखेर शबरी भावविभोर हुँदै रुन थालिन् । उनले भित्र गएर बयर लिएर आइन् । रामलाई अमिलो बयर नपरोस् भन्दै आफूले चाख्दै रामलाई दिन थालिन् रामले पनि प्रसन्नचित्त भएर ती बयर खाए ।

उनले रामलाई उनको दर्शनका लागि लामो समयसम्म लामो प्रतीक्षा गरेको बताइन् । रामले पनि भने मेरो जन्मभन्दापूर्व नै तपाईसँग मेरो भेट हुने लेखिएको थियो । भेट त अवश्य हुन्थ्यो । उनले रामलाई भनिन्, एउटा कुरा भनूँ प्रभु ? भक्तिमा दुई प्रकारको शरणागति हुन्छ । पहिलो वानरी भाव र दोस्रो मार्जारी भाव । वानरको सन्तान पूरै बल लगाएर आमाको पेटमा झुण्डिन्छ ताकि नलडोस् । उसलाई सबैभन्दा बढी भर आमामाथि हुन्छ । त्यसैले उसले आफ्नी आमालाई पूरै शक्तिले समातिराख्छ । यो पनि भक्तिको एउटा भाव हो जहाँ भक्तले आफ्नो ईश्वरलाई पूरै शक्तिले समातेर राख्छ । निशीदिन उनको आराधना गर्छ । यो वानरी भाव हो । मैले यो अपनाइन ।

दोस्रो हो मार्जार भाव । म त बिरालोको बच्चाहरू जस्ती थिएँ, जसले आफ्नी आमालाई समात्दै समात्दैन, बरु निश्चिन्त बस्छ, आमा छँदैछिन्, उनले स्वयं मेरो रक्षा गर्नेछिन् र साँच्चिकै आमाले उसलाई मुखमा झुण्डाएर हिँड्ने गर्छे । म पनि निश्चिन्त थिएँ कि एकदिन तिमी आउने छौ, तिमीलाई के समात्नु छ र ? तिमी प्रतिष्ठित रघुकुलको भविष्य, म वनको भिल्नी । यदि रावणको अन्त्य गर्नु नपरेको भए तिमी यहाँ किन आउँथ्यौ र ?

रामले गम्भीर हुँदै भने भ्रममा नपर्नु माते । राम रावणको बध गर्न यहाँ आएको होइन । रावणको बध त लक्ष्मणले नै गर्न सक्छन् । म तपाईंलाई नै भेट्न यति दूरन्त गहन वनमा आएको हूँ । म वनमा भविष्यमा मानिसहरूलाई यो सन्देश दिन पनि आएको हूँ कि शासन, प्रशासन र सत्ता जब पैदल हिँडेर वनमा बस्ने समाजको अन्तिम मानिससम्म पुग्छ तब त्यो नै रामराज्य हुनेछ ।

भविष्यमा मानिसले यो पनि स्मरण गरून् कि प्रतीक्षा एकदिन पूरा हुन्छ । राजा महेन्द्र र वीरेन्द्र पनि पैदल यात्रा गरेर दूर-दूरन्तको विकट ग्रामहरूमा रहेका शबरीहरूलाई भेट्न जाने गर्दथे । हामी पनि प्रतीक्षा गरौँ शासन, प्रशासन र सत्तालाई दूरुदूरन्तका विकट ग्रामहरूसम्म पु¥याउन एकदिन हाम्रो राजाको सिंहासनमा प्रत्यागमन हुनेछ र राजाको प्रत्यागमनका लागि जनता एकढिक्का हुने दिन आइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?