वीपी राजमार्गमा फोहोर फ्याके जरिवाना

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । वीपी राजमार्गमा फोहोर फ्याक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।

सवारी साधानका यात्रुले जथाभावी फोहोर फ्याक्दा राजमार्ग कुरुप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिकाभित्र रहेको राजमार्गक्षेत्रमा फोहोर गर्नेलाई कार्वाही स्वरुप जरिवाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो ।

‘बोमिट ब्याग’ फ्याक्नेलाई पाँच सय रुपैयाँ, जंगकफुडका खोलहरु पm्याक्नेलाई तीन सय ५० रुपैयाँ र अन्य फोहोरहरु फ्याके दुई सय रुपैँया जरिवाना तोकिएको छ,’ उहाँले भन्नुभयो ।

उहाँकाअनुसार प्लाष्टिकका बोतल, पराग गुट्खा, जंगकफुडका खोलहरु लगायत अन्य मानवजन्य फोहोरका कारण राजमार्गको सुन्दरतामा असर परेको छ । मानवजन्य फोहोरको उचित व्यवस्थापन गर्नु आजको चुनौती समेत भएको उहाँले बताउनुभयो ।
कनपाले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर साप्ताहिक रुपमा नियमित वृहत सरसफाईको अभियान गत शुक्रबारदेखि सुरु गरेको छ । ‘आफुसँग भएको फोहोर समुचित ठाउँमा राखौँ, सभ्य नागरिकको परिचय दिउँ । सुन्दर वीपी राजमार्ग सफाई अभियान सहभागी बनौँ,’ भन्ने मुख्य नाराका साथ सुरुवात गरिएको यस अभियानको पहिलो दिन राजमार्ग अन्र्तगत रहेको माझिटारदेखि हिरापानीसम्म सरसफाई गरेको थियो ।

स्थानीय व्यापारी तथा राजमार्गमा गुड्ने सवारी साधनका यात्रुले पानीको बोतल, प्लाष्टिक र अन्य फोहोर जथाभावी फ्याक्नाले राजमार्गको सुन्दरतामा ह्रास आउन थालेपछि यात्रुवाहक सवारी साधनमा डस्विन राख्ने र फोहोर अनिर्वाय डस्विनमा हाल्ने व्यवस्था मिलाउन सवारी धनि तथा चालकलाई सुझाव दिइँदै आएको र केहीलाई सचेतनाका लागि डस्विन समेत वितरण गरेको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक राजकुमार सिलवालले जथाभावी फोहोर नफ्याक्न आग्रह समेत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्राफिक प्रहरीमार्फत सवारी साधनमा फोहोर राख्ने डस्विन अनिवार्य गदैँ लगिएको छ । राजमार्गसँग जोडिएका पालिकाहरुसँग समन्वय गरी कमलामाई नगरपालिकाबाट सुरुवात गरिएको अभियानलाई फैलाउदैँ प्रभावकारी बनाईदैँ लैजान आवश्यक छ ।’
वीपी राजमार्ग पर्यटकीय मार्ग भएकाले यसलाई सफा र सुन्दर राख्न चेतना जगाउँदै जानुपर्ने उहाँको धारणा छ ।

डिभिजन वन कार्यालयका प्रमुख कृष्णराज न्यौपानेले ग्रिन र क्लिन सिन्धुली निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज, सरोकारवाला सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । ‘आफ्नो ठाउँ सफा र सुन्दर राख्न स्थानीयबासी स्वंयममा पनि सचेतनाको विकास हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

जापान सरकारले निर्माण गरिदिएको वीपी राजमार्गमा दैनिक हजारौँ संख्यामा सवारीसाधन चल्ने गरेका छन् । उक्त सवारीका यात्रुले जथाभावी फोहोर फ्याक्दा राजमार्गको सुन्दरता विग्रन थालेको छ । दिगो रुपमा राजमार्गलाई सफा र सुन्दर राख्न प्रत्येक सवारी साधनमा अनिवार्य डस्विनको व्यवस्था हुनुपर्ने तथा सवारीका यात्रु र स्थानीयबासीमा चेतनाको विकास गर्न आवश्यकता रहेको सम्बन्धित सरोकारवालाहरु बताउँछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?