सोमालीयामा पछिल्लो ६ महिनामा तीन हजार बढी अल-शबाब लडाकू मारिए

Read Time = 3 mins

मोगादिसु । बितेका ६ महिनामा सोमाली राष्ट्रिय सेनाले अल-शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकू मारिएका छन् । तीन हजार साय जना घाइते भएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल-शबाबको अधिनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ ।

मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवअधिकार कानुन, इस्लामिक कानुन र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ ।

रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ । आतंवादीविरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल-शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो । चरमपन्थी समूह अल-शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमाा आफ्नो नियन्त्रण कायम राखेको छ ।

गत साता राष्ट्रिय सेनाका कमान्डर मोहम्मद तहलिल बिहीले आतंकवादी समूह अल-शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो ।

अल-शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?