मनाइयो ६२औं रंगमञ्च दिवस

Read Time = 9 mins

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा ६२औं विश्व रंगमञ्च दिवस मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सोमबार ६२औं विश्व रंगमञ्च दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाका बारेमा बताउनु हुँदै मौलिक कलाको प्रवद्र्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सो सँग सम्बन्धित व्यक्तिसँगको अन्तर्वार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिनुभयो । आफूहरूसँग संगीत तथा नाटकलाई गतिशील बनाउने थुप्रै योजना भए पनि बजेटको अभाव रहेको उहाँले गुनासो गर्नुभयो ।

कुलपति शर्माले रंगकर्मीका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताउनुभयो । उहाँले सरकारसँग भवन निर्माण गर्ने बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको उल्लेख गर्नुभयो ।

उपयुक्त श्रोतसाधनहरूको कमीका कारण नेपाली नाटकलाई विश्व रगंमञ्चका रूपमा विकास गर्न नसकेको रंगकर्मीले गुनासो गरिरहेका छन् । यस अवस्थामा रंगमञ्चको व्यवस्थापन, प्रवद्र्धन र रंगकर्मीको पेशागत सुरक्षातर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

उहाँले भन्नुभयो, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्नसक्ने थियौं । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसका लागि माग त गरेका छौं, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’ कुलपति शर्माले रंगकर्मीहरू सबै मिलेरमात्रै रंगमञ्चको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो ।

नाटककार अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देशका रूपमा इजिप्टकी अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नुभएको थियो । कार्यक्रममा डा.शिव रिजालले विश्व रंगमञ्च र नेपालको उल्लेखनीय भूमिका विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।

यस्तै, रंगकर्मी आकांक्ष कार्कीले नाटक सामूहिक प्रयास भएकाले सबैले आफ्नो अपनत्व हुने किसिमले यस क्षेत्रमालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति भूपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति थियो ।

जीवन र समाज परिवर्तन गर्न नाटक आवश्यक : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नाटक मनोरञ्जनका लागि मात्र नभई जीवन र समाज परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले रंगमञ्च समाजका लागि बनेको भन्दै यस्तो खालको सांस्कृतिक कला र नाटकलाई पुनः सञ्चालनमा ल्याउने हो भने यसले पर्यटकीय क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘मनोरञ्जनका लागि मात्र होइन जीवन र समाज परिवर्तन गर्न यो आवश्यक विषय हो । जीवन र समाजका लागि रंग मञ्च हो, नाटकको हामीले पुनर्जन्म गर्न सक्यौ भने हाम्रो देशमा पर्यटनको प्रबद्र्धन हुन्थ्यो होला । दुई हजार वर्षदेखि जातजातिहरूले देखाउँदै आएको कला र नाटकलाई जोगाएर राख्नुभएका महान् जनतालाई म धन्यवाद भन्न चाहन्छु ।’

मन्त्री किरातीले १५ सय वर्षअगाडि नाटक देखाउन निर्माण गरिएको डबलीहरूलाई पुनर्निर्माण गर्न सके त्यसले पर्यटकलाई आकर्षित गर्नुका साथै विदेशी मुद्रा पनि भित्र्याउन सजिलो हुने बताउनुभयो ।

रंगकर्मीहरूले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् : खनाल
कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२औं वर्ष भए पनि अझै रंगकर्मीहरूले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताउनुभयो । उहाँले अझैसम्म पनि रंगकर्मीहरूले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको गुनसो गर्नुभयो । अभिनेता खनालले सरकारले रंगकर्मीहरूलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी ६२औं रंगमञ्च दिवस मनाइरहेका रहेछौं तर पनि हाम्रो स्थिति त्रिपालमुनि नै रहेछ, दयनीय नै रहेछ, श्रमीकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ ।’

विश्व रंगमञ्च दिवस
हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । ‘थिएटर एण्ड ए कल्चर अफ पिस’ २०२३ विश्व रंगमञ्च दिवसको मूल नारा रहेको छ । यो नाराले विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवद्र्धनमा रंगमञ्चको महत्वलाई जनाउँछ ।

अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आइटीआई) द्वारा सन् १९६१ मा तोकिएदेखि विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ । र, युनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । यसको आफ्नो छुट्टै महत्व छ ।

यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य, महत्व र मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका, रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ । यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था तथा सरोकारवालालाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई प्रष्ट पार्दछ ।

नेपालमा रंगमञ्चलाई समग्र मानव जीवनलाई नै चित्रण गर्ने प्रभावशाली विधाको रूपमा लिइन्छ । समाजलाई सही बाटो हिँडाउन, विसंगति तथा विकृति हटाउन मानिसको कलालाई प्रस्तुत गर्न नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरूको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन ।

उपयुक्त श्रोतसाधनको कमीका कारण नेपाली नाटकलाई विश्व रगंमञ्चका रूपमा विकास गर्न नसकेको रंगकर्मीले गुनासो गरिरहेका छन् । यस अवस्थामा रंगमञ्चको व्यवस्थापन, प्रवद्र्धन र रंगकर्मीहरूको पेशागत सुरक्षातर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?