आजदेखि सूर्य नेपाल च्यालेन्ज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा मंगलबारदेखि सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज हुने भएको छ । एसोसिएसनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारदेखि शुक्रबारसम्म आयोजना हुने जनाएको हो । रोयल नेपाल गल्फ क्लबमा हुने चारदिने प्रतियोगिता ७२ होलको हुनेछ ।

प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने एसोसिएसनका महासचिव दीपक आचार्यले बताउनुभयो । प्रतियोगितामा साबिक जिजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायतका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालका नम्बर एक शुक्र राई भने भारतमा रहेका कारण प्रतियोगिता गुमाउनुभएको छ ।

विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रोदेखि १०औँ स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुने आयोजकले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?