काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । अपरान्ह ४ बजे बस्ने बैठकले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा टुंगो लगाउने बताइएको छ । सोमबार सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच भएको छलफलमा आज अपरान्ह ४ बजे बैठक राख्ने सहमति भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा मन्त्रालय केन्द्रीय मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा र प्रदेश सरकार नेतृत्वको विषय टुंगो लगाउन गठबन्धनको बैठक बस्ने सहमति भएको हो । शीर्ष तीन नेताहरूबीच मन्त्रिमण्डल विस्तार र संसद्मा पेस भएको सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको थियो । सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि दलहरूबीच सहमति हुन सकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् ।
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले फागुन १६ गतेदेखि एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबण्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको हो । चैत ६ मा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिएपछि दुई/चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीले दाबी गर्नुभए पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफलपछि गठबन्धनको बैठक राखेर भागबण्डा टुंग्याउन लाग्नुभएको हो । आज गठबन्धनको बैठक बस्नुअघि पनि शीर्ष तहमा नेताहरूबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने ११ दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ र माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय लिने लगभग सहमति भइसकेको छ । तर, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन/तीन मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई दुई/दुई मन्त्रालय दिने तयारी गर्नुभएको छ । तर, नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । जसपा यसअघि सात दलीय गठबन्धनमा हुँदा पनि दुई मन्त्रालय दिएपछि असन्तुष्ट जनाउँदै सरकारमा सहभागी भएको थिएन । तर, अहिले उपराष्ट्रपति पाइसकेकाले दुई मन्त्रालयमा चित्त बुझाउने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीलाई पनि प्रधानमन्त्रीले एक/एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गृहकार्य गरिरहनु भएको छ । तर, जनमत, लोसपा र नाउपाले पनि दुई मन्त्रालयमा दाबी गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको हो । उहाँहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधन लगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सभामुख घिमिरेले सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा पनि चासो राख्नुभएको थियो । चैत ६ गते प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेस भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा सत्तारूढ दलका सांसदहरूबाट ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव परेको छ ।
कांग्रेसबाट अर्थमन्त्रीमा महत
नेपाली कांग्रेसले पार्टीको तर्फबाट अर्थमन्त्रीमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतलाई पठाउने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नयाँ अर्थमन्त्रीका रूपमा कांग्रेस प्रवक्ता डा.महतको नाममा प्रधानमन्त्री प्रचण्डसँग पनि सहमति जुटाइसक्नु भएको स्रोतको दाबी छ । फागुन १५ गते एमालेले सरकार छाडेयता अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्नुभएको छ । सभापति देउवाले अर्थमा डा.महतलाई पठाउनेबारे पार्टीका नेताहरूसँग पनि छलफल गरिसक्नु भएको स्रोतको दाबी छ । पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित छ । खड्का उपप्रधानमन्त्री हुने निश्चित भए पनि मन्त्रालय भने टुंगो लागेको छैन । परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नु भएका डा.महतलाई अर्थमन्त्री बनाउँदा वैदेशिक अनुदान र सहयोग ल्याउन सजिलो हुने आँकलन सभापति देउवाको छ । महतले २०७३ मा परराष्ट्र मन्त्रालय सम्हाल्नुभएको थियो । अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएका महतले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पनि सरकारमा जाने
डिल्लीबजार जेलमा रहनुभएका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ । उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस–माओवादी सहितको सत्ता गठबन्धनमा जोडिएको छ । यद्यपि, श्रेष्ठले कुन मन्त्रालय लिने भन्नेमा टुंगो लागिनसकेको बताउनुभएको छ । नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ । नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड पनि लागिपर्नु भएको छ ।
गृहमा जाने निर्णय भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ । आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारको जुन समीकरण परिवर्तन भएको छ, त्यो सबैलाई अवगत नै छ, मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । केही दिनभित्रै पूर्णता पाउँछ । म गृह मन्त्रालयमा जाने हल्ला भए पनि निर्णय भइसकेको छैन । प्रधानमन्त्रीलाई जे गर्दा उपयुक्त हुन्छ भन्नुहुन्छ वा निर्णय गर्नुहुन्छ, त्यही गर्छु ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका