मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । अपरान्ह ४ बजे बस्ने बैठकले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा टुंगो लगाउने बताइएको छ ।

सोमबार सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच भएको छलफलमा आज अपरान्ह ४ बजे बैठक राख्ने सहमति भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा मन्त्रालय केन्द्रीय मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा र प्रदेश सरकार नेतृत्वको विषय टुंगो लगाउन गठबन्धनको बैठक बस्ने सहमति भएको हो ।

शीर्ष तीन नेताहरूबीच मन्त्रिमण्डल विस्तार र संसद्मा पेस भएको सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको थियो । सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि दलहरूबीच सहमति हुन सकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् ।

नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले फागुन १६ गतेदेखि एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबण्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको हो । चैत ६ मा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिएपछि दुईरचार दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीले दाबी गर्नुभए पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफलपछि गठबन्धनको बैठक राखेर भागबण्डा टुंग्याउन लाग्नुभएको हो । आज गठबन्धनको बैठक बस्नुअघि पनि शीर्ष तहमा नेताहरूबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने ११ दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ र माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय लिने लगभग सहमति भइसकेको छ । तर, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन/तीन मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई दुई/दुई मन्त्रालय दिने तयारी गर्नुभएको छ । तर, नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ ।

जसपा यसअघि सात दलीय गठबन्धनमा हुँदा पनि दुई मन्त्रालय दिएपछि असन्तुष्ट जनाउँदै सरकारमा सहभागी भएको थिएन । तर, अहिले उपराष्ट्रपति पाइसकेकाले दुई मन्त्रालयमा चित्त बुझाउने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीलाई पनि प्रधानमन्त्रीले एक/एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गृहकार्य गरिरहनु भएको छ । तर, जनमत, लोसपा र नाउपाले पनि दुई मन्त्रालयमा दाबी गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?