सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उहाँले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताउनु भयो ।

सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताउनु भयो । उहाँले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताउनु भयो ।

उहाँले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी र हामी तपाईहरुको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका हौँ । हामी यसबाट लाभ लिन होइन, तपाईहरुको साथमा हामी छौँ । तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरुको बिरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?