गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर: विश्वप्रकाश शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, गणतन्त्रमा विरोध गर्ने व्यक्तिको मुख थुन्न नपाइने बताउनुभएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका तीनजना युवाको मुख थुनेको र उनीहरुलाई थुनामा परेपछि शर्माले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गर्नुभएकाे हाे ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गर्नुभएकाे छ ।

‘सम्माननिय पीएमनेपाल लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन,’ उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो ।’

आफूविरुद्ध नाराबाजी गरेका युवालाई तत्काल रिहा गर्न माग गर्दै उहाँले लेख्नुभएकाे छ , ‘आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 28, 2023

७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका युवा अहिले थुनामा छन् । बैंकको चर्को ब्याजललगायतका विषयमा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई मुख थुन्दै प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

१२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् । यसपछि महामन्त्री शर्माले उनीहरुको रिहाका लागि माग गर्दै लोकतन्त्रमा विरोधीको मुख थुन्न नपाइने बताउनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?