कलाकारहरूको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी

Read Time = 7 mins

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताउनुभएको छ ।

मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताउनु भयो । उहाँले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको बताउनु भयो ।

कार्यकारी अध्यक्ष केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताउनु भयो । उहाँले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । साइबर सुरक्षालाई बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताउनु भयो । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौति सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ । यी चुनौतिहरुलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ । साइबर सेक्युरिटी एक जटिल मुद्दा हो । यसलाई हामीले बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध छ ।’

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाउनु भयो । उहाँले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताउनु भयो । उहाँले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विषय महत्वपूर्ण छ तर आउँदा छरपस्ट भएर आयो । समस्या हामी सबैलाई थाहा छ तर समाधान केही पनि आएन । अहिले कर्मकाण्डी जस्तो छलफल भयो । अहिले टिकटकले धेरै समस्या ल्याएको छ । टिकटकमा २ मिनेट ४ मिनेसम्मको मात्रै भिडियो आउँछ भन्थे अहिले त ४० मिनेटसम्मको हाल्न मिल्छ । त्यो प्रविधि रहेछ, दुई पटक हाल्दा त फिल्म सकियो । तर त्यसलाई रोक्ने संयन्त्र के छ हामीसँग । मरिसकेपछि उपचार खोजेर के हुन्छ ? कानूनी उपचार तत्काल हुनुपर्छ ।’

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बन्ने चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनइ अघि बढ्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको कानूनलाई नै मजबुत पारेर अघि बढ्यो भने साइबर क्राइमका घटनाहरु सहज रुपमा समाधान गर्न सकिन्छ । नेपालमा जतिपनि फिल्म बन्छन्, त्यो स्वीकृति लिइसकेपछि स्वीकृतिको मापदण्ड बनाएर अघि बढ्नसके अझै राम्रो हुन्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताउनु भयो । उहाँले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसबाट जसलाई प्रत्यक्ष क्षति पुगेको छ, उसले उजुरी हालेको हाल्यै गर्नुपर्छ, सूचना दिनुपर्छ यसो गर्नु हुँदैन भनेर । दर्शकको गोपनियताको होला । यसबारे बुझाउन सक्यो भने न्युनिकरण गर्न सम्भव छ । प्रो एक्टिभ काम तपाईहरुले गर्नुहोस् हामी रि एक्टिभ काम गर्छौं ।’

प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरु मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?