‘सिडी रेसियो लागू नगरेको भए बैंक डुब्थे, कडा नीति लागू गर्दा सबैको गाली खाएँ’

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) को नीति नल्याएको भए अहिले बैंक डुब्ने अवस्था सिर्जना हुने बताउनुभएको छ । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले आफूले सिडी रेसियोको नीति ल्याउँदा नै बैंकहरू डुब्नबाट बचेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले आफूले कडा नीति अवलम्बन गर्दा धेरैको गाली खाएको पनि गुनासो गर्नुभएको छ । अहिले आफ्नो नीति नै सही सावित हुँदै गएको उहाँको धारणा छ । ‘राष्ट्र बैंकको जति कडा नियम अन्य सरकरी संस्थामा छैन, नियम कानुन कडा गर्दा मैले जति गाली कसैले खाएको छैन, समग्र अर्थतन्त्र शिरमा राखेर काम गर्दा गाली धेरै खाएँ, यदि सिडी रेसियो लागू नगरेको भए बैंकहरू डुब्थे, चालु पुँजी कर्जा कार्यान्वयन गर्दा गाली खाइयो, गाली खाएर पनि अर्थतन्त्र व्यवस्थित गर्छु,’ उहाँले कार्यक्रममा भन्नुभयो ।

उहाँले पछिल्लो समय अर्थतन्त्र पनि सुधार हुँदै गएको बताउनुभएको छ । ‘पर्यटन क्षेत्र कोरोना महामारी अघिकै अवस्थामा पुगिसकेको छ, पर्यटन क्षेत्र चलायमान भइसकेको छ, तरलता सहज हुँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ, सरकारको भुक्तानी ९५ प्रतिशत डिजिटलबाटै हुन्छ, यो समग्र अर्थतन्त्रका लागि पनि राम्रो विषय हो,’ उहाँले भन्नुभयो ।

यस्तै, कार्यक्रममा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरको विषय पनि उठान गर्नुभएको छ । बजारमा संस्थागत विकास गर्न लाइसेन्स वितरण गरिएको भए पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि मर्जर नीति ल्याउनुपरेको उहाँको भनाइ छ । उहाँले लघुवित्तको लाइसेन्स वितरण गलत थियो भन्ने निचोडमा राष्ट्र बैंक नपुगेको पनि बताउनुभयो । कार्यक्रममा लघुवित्तको लाइसेन्स वितरणको विषयमा चर्चा हुँदा उहाँले सो कुरा बताउनुभएको हो । लघुवित्तले अर्थतन्त्रमा ठूलो योगदान गरेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?