नेताद्वय रावल र पौडेलबीच सवाल-जवाफ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

धनगढी । नेकपा एमालेका शीर्ष नेतामध्येका दुई पूर्वउपाध्यक्ष भीम रावल र वर्तमान उपाध्यक्ष विष्णु पौडेलबीच वाकयुद्ध चलेको छ । पूर्वउपाध्यक्ष रावल र वर्तमान उपाध्यक्ष पौडेल दुवै अहिले सुदूरपश्चिम प्रदेशमा हुनुहुन्छ । उपाध्यक्ष पौडेल पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा हुनुहुन्छ भने पूर्वउपाध्यक्ष रावल गृहजिल्ला अछामसहित सुदूरपश्चिमका जिल्लाहरूमा कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ । पार्टीको १०औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिनुभएका रावल अहिले पार्टीको कुनै औपचारिक जिम्मेवारीमा हुनुहुन्न ।

उता, उपाध्यक्ष पौडेललाई भने पार्टीको अभियानअन्तर्गत सुदूरपश्चिमको जिम्मेवारी दिइएको छ । देशव्यापी रूपमा चलिरहेको एमालेको मिसन ग्रासरुट अभियानमा यी दुई नेताबीच चर्को घोचपेच चलेको छ । चैत १३ गते अछामको साँफेबगरमा मिसन ग्रासरुट अभियानअन्तर्गत राखिएको कार्यक्रममा आफूलाई बोलाउने जिल्ला कमिटीका पदाधिकारीमाथि स्पष्टीकरण सोधिएको भन्दै रावलले आक्रोश पोख्नुभयो । उक्त कार्यक्रममा रावल पक्षधर नेता/कार्यकर्ताले नाराबाजी नै गरेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष पौडेलसहित केन्द्रीय नेताहरू सहभागी भएका थिए । कार्यक्रममा उपाध्यक्ष पौडेलले रावलको आलोचना गर्नुभएको थियो । भीम रावलले गम्भीर गल्ती गरेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘भीम रावलजी पार्टी, जनता र कार्यकर्ताले निर्माण गरेको नेता हो । तर, पछिल्ला दिनमा उहाँले केही गम्भीर गल्ती पनि गर्नुभएको छ । उहाँले पार्टीले दिएको जिम्माअनुसार काम गर्नुभएको छैन । पार्टीका औपचारिक निर्णयका विरुद्ध सार्वजनिक रूपमा बोल्नुभएको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावका बेला पार्टीका निर्णयसँग बेमेल हुने खालका कुरा बोल्नुभएको छ । यदि भीम रावलजीले गल्ती र कमजोरीलाई महसुस गरेर पार्टी काममा सक्रिय हुन चाहनुहुन्छ भने हामी उहाँलाई स्वागत गर्छौंं ।’

जवाफमा रावलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन नै गर्नुभयो । पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदासमेत आफूलाई जानकारी नदिएको भन्दै गुनासो गर्दै रावलले भन्नुभयो, ‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरुटअन्तर्गत कार्यक्रम गरिएको रहेछ । पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा म आउँदै छु भन्नुभएन । उक्त कार्यक्रममा बोल्ने एकजनाले फागुन १९ गते बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिइएपछि ८० प्रतिशत बढीले आपत्ति जनाएका थिए ।’

रावलले पार्टीभित्रको अन्तरविरोधबारे कुरा नगर्ने सर्तमा कार्यक्रम गर्ने भनिएको भए पनि त्यसमा आफूमाथि आक्रमण गरेको जिकिर गर्दै भन्नुभयो, ‘मिसन ग्रासरुट कार्यक्रम पार्टीलाई बलियो बनाउन हो कि विधि, सुशासन र देशको पक्षमा आवाज उठाएका व्यक्तिलाई किनारा लगाउन गरिएको मलाई अलमल भयो ।’ उपाध्यक्ष पौडेललाई जवाफ दिँदै रावलले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘म उहाँलाई सोध्न चाहन्छु, भीम रावलले गम्भीर गल्ती के गर्‍यो ? पार्टीलाई सैतान भन्नेलाई सांसद बनाएको छु कि, १० वर्ष हलोमा भोट हाल भनेको छु कि, छातामा १७ जनालाई मत हाल भनेको छु ?’

उपाध्यक्ष पौडेलले रावलले दिएको जिम्मेवारी पूरा नगरेको, पार्टी अध्यक्षविरुद्ध उम्मेदवारी दिएको भन्दै गरेको टिप्पणीको जवाफमा रावलले भन्नुभयो, ‘अध्यक्षविरुद्ध उम्मेदवारी दियो भन्नुभएको छ, हाम्रो पार्टीले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छ । हिजो ओली र झलनाथजी अध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो, माधव नेपाल र ओलीजीले प्रतिस्पर्धा गर्नुभयो । म पनि प्रतिस्पर्धाबाट सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष चुनिएको हुँ । कुनै व्यक्तिविरुद्ध उम्मेदवारी दिनु नै गल्ती हुन्छ र ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?