सत्ता गठबन्धनमा असहमति कायमै, टुंगिएन मन्त्रालय भागबण्डा

दलहरूका आ-आफ्नै दाबी, आज फेरि बैठक बस्दै

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । पटक-पटक प्रयास गर्दा पनि सत्ता गठबन्धनले मन्त्रालय भागबण्डा टुंग्याउन सकेको छैन । मंगलबार निर्णायक भनिएको बैठक पनि निष्कर्षविहीन भएपछि आज (बुधबार) फेरि बैठक बस्ने भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा सबै दलहरू आ-आफ्नै अडानमा रहँदा मन्त्रालय बाँडफाँटमा सहमति नजुटेको हो । मन्त्रिपरिषद् विस्तार गर्दा आफूले नौ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान छ । त्यस्तै, जसपा र नेकपा एसले तीन/तीन मन्त्रालयको दाबी छाडेका छैनन् । त्यस्तै, लोसपाले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

दलहरूले दाबी नछाड्दा मन्त्रिपरिषद् विस्तार पनि प्रभावित बनेको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा टुंग्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ । तर, दलहरूले अडान नछाड्दा मंगलबारको बैठक बिनानिष्कर्ष टुंगिएको हो । बैठकमा गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे भने छलफल भएको छ । साझा न्यूनतम कार्यक्रमका सम्बन्धमा आ-आफ्नो दलमा छलफल गरेर बिहान ९ बजे पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरूको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । बुधबार फेरि बस्ने भन्नेछ । भागबण्डाको बारेमा छलफल भएन । चाँडोभन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो । सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ । मन्त्रालयका बारेमा कुनै विवाद छैन ।’ प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनुभयो । उहाँले मंगलबारको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको बताउनुभयो ।

एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्रालयको दाबी नछाड्ने
सत्तारूढ १० दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले उपप्रधानमन्त्रीसहित कम्तीमा तीन मन्त्रालय लिएर सरकारमा सहभागी हुने निष्कर्ष निकालेको हो । पार्टीका सम्मानित नेता झलनाथ खनालले भन्नुभयो, ‘सरकारमा जानका लागि उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय हाम्रो बटमलाइन हो । मुख्यमन्त्रीबारे छलफल भएको छैन ।’ बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायम राख्ने जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ, हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौँ । सिट बाँडफाँट ढिला भएकाले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौँ । कार्यदलले आफ्नो रिपोर्ट पेस गर्ने काम जारी छ । हामीले तीन मन्त्रालयको दाबी गरेका छौँ ।’

मंगलबार बालुवाटारमा पार्टी अध्यक्ष मावधकुमार नेपालले प्रधानमन्त्रीसँग गरेको भेटमा पनि तीन मन्त्रालयको अडान राख्नुभएको थियो । बैठकमा अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग भएका कुराकानीबारे पनि अध्यक्ष नेपालले ब्रिफिङ गर्नुभएको थियो । त्यसक्रममा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारमा कुनै ढिला नहुने भन्दै उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गर्ने ब्रिफिङ गर्नुभएको थियो । सचिवालय बैठकले मिटरब्याजविरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गर्ने पनि बैठकले निर्णय गरेको छ ।

एसमा मन्त्रीको लगभग टुंगो
नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको लगभग टुंगो लगाएको छ । सरकारमा सहभागी हुन कम्तीमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडानमा रहेको नेकपा एसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । विकासे, सामाजिक र जनसम्पर्क हुने मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको नेकपा एसले पार्टीबाट डा.बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशीलाई सरकारमा पठाउने तयारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टी तीनवटा मन्त्रालयको अडानबाट पछि हट्न नसक्ने जानकारी गराउनुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुग्नुभएका अध्यक्ष नेपालसहित नेकपा एसका शीर्ष नेताहरूले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने दलहरू धेरै भएको र उनीहरूको पनि चित्त बुझाउनुपर्ने भएकाले दुईवटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै सम्मानित नेता खनालले भन्नुभयो, ‘ठोस सहमति हुन सकेन । मन्त्रालयका बारेमा थोरै कुराकानी भयो । हामीले थोरैमा तीनवटा मन्त्रालय मागेका छौँ । प्रधानमन्त्रीले कोसिस गर्छु तर धेरै गाह्रो छ भन्नुभयो ।’

यसैबीच, सत्ता गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्षबीच भेटवार्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, आसन्न उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?