इम्बोस्ड नम्बर र युनिकोड : देवनागरी लिपिविरुद्धको खेल

हिमालय टाइम्स
Read Time = 7 mins

केही वर्षदेखि इम्बोस्ड नम्बर निकै चर्चामा रहेको विषय हो । नागरिकहरूलाई राहत, सुविधा नहुने र नेपाली पहिचान गुम्ने भनेर चर्को विरोध भइरहेको यो विषयमा किन सरकार यति जोड दिएर लागिरहेको छ भन्ने कुरा सोचनीय छ । कतिले यसको रहस्य बताउने गरेका छन् । त्यसमा कति सत्यता होला र कति सत्यतामा अतिरञ्जना गरिएको होला । तर, कुनै विदेशी कम्पनीलाई ठेक्का दिइसकेको विषय भएका कारण त्यसलाई खारेज गर्न नमिल्ने भएकाले सरकार यसैमा लिँडेढिपी लगाइरहेको छ । यसको विरोधमा उत्रिएका केही व्यक्ति र संस्था भने खारेजीका लागि जोडदार रूपमा आवाज उठाइरहेका छन् ।

केही दशकभित्र हामी पश्चिमा प्रभावमा परेर आफ्ना सम्पूर्ण मौलिकता गुमाइसकेका छौं । कतिपय विज्ञहरूले यसलाई कालचक्र भनिरहेका छन् र हामी कालचक्रको चक्रभित्र फसिसकेका छौं । हाम्रा मौलिक रीति-संस्कृति चाडपर्व हराउँदै गएका छन् र हामी पश्चिमी संस्कृतितर्फ आकर्षित भइरहेका छौं । नेपाली मौलिक भेषभूषा, खानपान, रहनसहन सबै कुरा हराउँदै गएझैँ शिक्षा र भाषामाथि पनि अतिक्रमण भइरहेको छ । नेपालभित्रै सञ्चालन भइरहेका विद्यालयहरू नेपाली बोल्यो भनेर विद्यार्थीलाई दण्डित गरिन्छ र अंग्रेजी भाषामात्र बोल्न प्रोत्साहित गरिन्छ । यसबाट नेपाली विद्यार्थीको अंग्रेजी त राम्रो होला तर नेपाली भाषाको अवस्था कस्तो होला ? नेपाली भाषाप्रति हाल विद्यालयहरूमा सञ्चालक, विद्यार्थी तथा अरू विषय पढाउने शिक्षकको समेत हेय दृष्टिकोण रहेको हुन्छ ।

हाम्रा मापनका संशाधन मानापाथीहरू लोप भइसकेका छन् । अर्थात् यिनलाई लोप गराइएको छ । भूमि मापनमा नेपालीपन थियो त्यो पनि अब समाप्त भइसकेको छ । कपडालगायत गजमा नापिन्थ्यो तर अब त्यसमा पनि मिटर प्रयोग भइसकेको छ । संसारभरिका सबै मानिसले बुझ्नेगरी एकरूपता कायम गरिएको भनिन्छ, तर त्यो भनेर आफ्नो मौलिकतालाई समाप्त पारेका छौं, नेपाली गाउँ–गाउँसम्म पुगेर हाम्रा पुराना धातुका तथा काठबाट निर्मित भाँडावर्तन, गरगहना र पुराना प्रचलित मुद्राहरू समेत सबै पश्चिमाहरूले किनेर उनीहरूका देशमा पु¥याइसकेका छन् । आज गाउँबस्तीतिर शेर्पिनीहरूका गलामा जीमाला पनि देख्न मुस्किल छ । हाम्रो मौलिकता सबैतिरबाट समाप्त पारिसकेपछि भाषा र लिपि समाप्त पार्ने खेल सुरु भएको छ ।

केही वर्ष पहिले नै भाषामाथि प्रहार भएको थियो तर आफ्नो भाषाप्रति सचेत केही व्यक्तिहरूबाट प्रतिकार गर्ने कार्य भएको थियो । यसका बाबजुद हाम्रो भाषा र व्याकरण बिथोल्ने काम भयो । हाल यही गञ्जागोलको भाषा र व्याकरणभित्र हामी रुमल्लिँदै छौं र भाषा जोगाउने प्रयत्न जेनतेन गरिरहेका छौं । हाम्रो लिपि देवनागरी लिपि हो । प्राचीन भारतको देवनगरबाट सुरु भएको यो लिपि संसारकै सबैभन्दा पुरानो हो । संसारको सबैभन्दा पुरानो ग्रन्थ वेद पनि देवनागरी लिपिमै लेखिएको छ । अहिले यस लिपिमाथि चौतर्फी प्रहार भइरहेको छ । एकातिर इम्बोस्ड नम्बरका माध्यमबाट नेपाली सवारीसाधनमा प्रयोग हुँदै आएको सवारीको प्रकार अञ्चलसमेत जनाउने गरी नेपालीमा अर्थात् देवनागरी भाषामा लेख्ने गरेको नम्बर प्लेटमा अब अंग्रेजीमा नम्बर लेख्नुपर्ने भनिएको थियो ।

यसो गर्दा दुर्घटना गराएर भाग्न लागेको सवारीसाधनको नम्बर सर्वसामान्य नेपालीले झट्ट पढेर टिपोट गर्न नसक्ने र त्यसभन्दा पनि भित्री कुरा हाम्रो लिपि नै लोप गराउने प्रयत्न भएरहेकाले आफ्नो लिपि नै गुमाउन लागेका थियौं । इम्बोस्ड नम्बरको पैसा पनि विदेशी कम्पनीले लाने भएकाले हामी गाँठ पनि गुमाइरहने र बेबकुफ पनि बनिरहेको अवस्थामा थियौं । तर हालै सरकारले नेपालीमै इम्बोस्ड नम्बर राख्ने कार्ययोजना बनाएकाले हालका लागि यो अवस्थाबाट मुक्ति पाएका छौं । यसका लागि सरकारलाई धन्यवाद दिनैपर्छ तर यो दीर्घकालीन भने हुनुपर्छ । नेपाली भाषा र देवनागरी लिपिविरुद्ध यतिमात्रै होइन युनिकोड टाइपिङका माध्यमबाट पनि प्रहार गरिँदै छ ।

हालका दिनमा बोलेको टाइप हुने प्रविधिको समेत विकास भइसकेको छ । अंग्रेजी अक्षरमा टाइप गर्दा त्यसले नेपाली बनाइदिने प्रविधि त निकै पहिलेदेखि नै विकास भएको हो । यसैलाई युनिकोड फन्ट भन्ने गरिएको छ । टाइप गर्न सजिलो हुने बाहनामा नेपाली अड्डा-अदालतहरूमा पनि युनिकोडकै प्रयोग गरिन्छ । सरकारले समेत हाम्रो भाषा र लिपिमाथि प्रहार गर्नेलाई प्रोत्साहन गरेको यसबाट नै प्रष्ट देखिन्छ । यी सबै वस्तुतर्फ ध्यान दिएर सरकारले यस्ता कार्यलाई निरुत्साहित गर्नु जरुरी छ । हाँगाका टुप्पातिर बसेर फेद काट्ने कालिदास प्रवृत्ति सरकार तथा निजीस्तरबाट हुनु सर्वथा निन्दनीय कार्य हो । सबै आफ्नो मौलिकता, भाषा र लिपिको संरक्षणतर्फ सचेत भएर लाग्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?