योगका बहुरूप र सन्देश

प्राडा. कुलप्रसाद कोइराला
प्राडा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

पौरस्त्य जगतको सबैभन्दा उम्दो कृति कुन हो भनेर कसैले मलाई सोधे मेरो सहज उत्तर हुन्छ ‘गीता’ । यो एक प्रकारको अचम्मको पुस्तक छ । यसमा अवलम्बन गरिएको विषयका सम्बन्धमा यदि कसैले सोधे के विषय छैन र ? भनेर म उल्टोप्रश्न गर्नेछु । म जब स्नातकोत्तर तहमा पढ्न काठमाडौं आएँ अनि मलाई केही साथीहरू (हरि अधिकारी र गोविन्द अधिकारी) ले एक दिन कोपुण्डोल किसुन्जीको भाञ्जाको घरमा पु¥याएका थिए । गोविन्द त्यसैबेला पनि पत्रकारिता गर्थे । श्रीभद्रजी त्यस बेला सांसद हुनुहुन्थ्यो । उहाँ त्यता धेरै जानुहुन्थ्यो । हरि अधिकारी खालि पढ्थे जस्तो लाग्छ । हरिले आज पण्डितलाई अर्को गीतापाठी पण्डितकोमा लिएर जाऊँ भने ।

बिहान हरि, म र गोविन्द गयौँ । यद्यपि किसुनजीसँग म जनकपुरदेखि नै परिचित थिएँ । म चिन्थेँ, साथीसँग पनि मौका पर्दा मैले किसुनजीलाई चिनेको छु भनेर धाक पनि लाउँथेँ । प्रायः राजनीतिमा ध्यान दिनेलाई नेताले चिन्दैनन् तर म चिन्दछु भनेर धाक नलाए साथीका बीचमा पनि रवाफ जम्दोरहेनछ । यो पनि मेरो निजी अनुभव हो । गीताको पहिलो अध्याय छ ‘अर्जुनविषादयोग’ लौ हेर्नुस् विषाद पनि योग, कतै अर्जुन हाँसेका भए अर्जुन हास्ययोग हुनेरहेछ ।

आज मैले गीताको एउटा श्लोकमा दुईवटा गीतापाठीलाई दाँज्न खोजेको छु । गुरु र शिष्यलाई दाँज्दा रमाइलै होला पनि । मैले अर्जुन र कृष्णलाई दाँजेर हेर्दा यति योग्य गुरु शिष्यका जोडी कम भेटेँ । अरस्तु र सिकन्दर राम र हनुमान बुद्ध र अङ्गुलीमाल, रत्नाकर र नारद यी सबैसँग मेरो कुनै लेनदेन छैन । आजको मेरो सरोकार रामचन्द्र पौडेल र किसुनजी नै हुन् ।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा हृयनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।
यो कर्मयोगको श्रीगणेश गर्ने श्लोक हो । कर्मयोगी व्यावसायिक बुद्धिको एकदृष्टि, एक सङ्कल्प, एक उद्देश्य रहेको हुन्छ । यस्तो एकात्मकता नभएका कर्मयोगी या व्यावसायिक हुनसक्दैनन् । पहिलो अध्याय अलिकति सञ्जय र धृतराष्ट्रका बीचमा भएको प्रसंग उत्थान र अर्जुनको कायरतापूर्ण प्रवचनले भरिएको छ । कृष्णले चुँ पनि गर्न पाएका छैनन् । दोस्रा अध्यायमा पुगेपछि भने कृष्णले अर्जुनको नाडी छामेर नसा थिचेर नै बोल्न थालेका छन् । मैले यहाँ उद्धृत गरेको श्लोक गीताको दोस्रो अध्यायको ४१औं श्लोक हो ।

कृष्णप्रसाद भट्टराई जति सरल र गहिरो व्यङ्ग्य गर्ने केशवराज पिंडाली र देवकोटामात्रै देखिए । उनले सांसदको खस्कँदो अवस्थालाई सङ्केत गर्दै सांसदलाई भत्ता हुन्छ त्यसले अलि सजिलो गरी ‘रक्सी’ खान पाइने हुनाले भनेका प्रसङ्गको व्यङ्ग्यार्थ आज कसैले सम्झने प्रयत्न गरेका छौँ हामीले ?

यो व्यावहारिक जीवनका निमित्त असाध्य नै काम लाग्ने श्लोक छ । यहाँ कृष्णले अर्जुनलाई व्यावसायिक बुद्धिका सम्बन्धमा बताएका छन् । मानौँ जीवन एउटा वृक्ष हो, त्यसमा अनेकौं हाँगाबिँगा पनि पलाएर बढेका छन् । अझ वरपरबाट लहरा बढेर आएर त्यही वृक्षमा चढेका रहेछन् भने त वृक्षको बाढ नै अबरुद्ध गराइदिन्छन् । चारकोशे झाडीमा मैले यसरी अनेकौं लहराले जेलेर कक्रिएका रुख धेरै देखेको छु । किसुनजीले जति चुनाव हार्नुभयो त्यति नै उहाँ शक्तिशाली बन्नुभयो । उहाँ नेपालको गीतापाठी र छाता, सुराही र थोत्रो टिनको बाकसबाहेक केही नभएको प्रधानमन्त्री भनेर हामीले धेरै ठाउमा गौरव बोध गरेका भाषण पनि गर्‍यौँ ।

तर, कहिल्यै हामीले सादाजीवन उच्च विचार भन्ने कुरालाई बुझ्ने प्रयत्न गर्‍यौँ ? किसुन्जीको व्यवसाय विचार, पद्धति र राष्ट्रको समृद्धि अनि प्रजातन्त्र प्राप्ति थियो भने पछिल्ला समयमा प्रजातन्त्र प्राप्त भएपछि पनि उहाँ संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातन्त्रमा एकलव्यभावले लागि नै रहनुभयो । नेपाली कांग्रेसका माथिल्लो तहमा पुगेका र पुग्ने सम्भावना बोकेका नेतामा किसुनजी र रामचन्द्र पौडेल नै गीता पाठी बनेर देखापरेका मान्छे हुन् । रामचन्द्रको आराध्य व्यवसाय रहृयो पद त्यो पनि कार्यकारी अधिकार भएको त्यसका निमित्त उहाँ सत्र (१७) पटक चुनावमा पराजित हुँदा पनि हतास र खिन्न नबनेको उदाहरण हामी सबैले देखेकै हौं ।

एउटामा एकत्रित हुनु व्यावसायिक बुद्धि हो भनेर गीताले भनेको छ । जीवनमा अनेकौं विषयका शाखा प्रशाखा पलाएर आउँदा पनि त्यो १ नम्बरका पदमा पुग्न आफैं नेता भएर कांग्रेसमा पजनी गर्न पाउने अवस्थालाई तिलाञ्जलि दिएर जीवनभरि प्रतिस्पर्दा गरेका साथीलाई समर्थन गरेर भए पनि सम्मानितमात्रै पद भए पनि रामचन्द्रले लिएर छाडेको वर्तमान सन्दर्भमा उनका गुरु किसुनजीसँग भने गीता पाठबाट प्राप्त बोधव्यार्थमा भने भिन्नता देखियो । रामचन्द्रले शाखाप्रशाखा मात्रै होइन शैवालिक र अनेकौं उल्झन्बिल्झन् पनि बोकेरै हिँडे भने किसुनजी आजीवन आफ्ना प्राप्तव्यमा आउने उल्झन्बिल्झन्लाई छिमलेर एकमात्र लक्ष्यमा लागेको देखियो ।

मुख उनको पनि सुको होला, शरीरको छाला भत्भती पोलो पनि होला, अनेकौं घुम्ती र अप्ठ्याराले उनलाई पनि सताएको हामीले देख्यौँ । रमाउन र व्यङ्ग्यविनोदमा मजा लिनसक्ने उनका व्यक्तित्वले उनलाई जहिल्यै पनि शक्ति प्रदानगरेथ्यो । ‘तपाईं सांसद बन्न किन चाहनुहुन्छ किसुनजी’ भन्ने पत्रकारका जवाफमा त्यो बेलाका सांसदको खस्कँदो अवस्थालाई संकेत गर्दै सांसदलाई भत्ता हुन्छ त्यसले अलि सजिलो गरी ‘रक्सी’ खान पाइने हुनाले भनेर उत्तर दिएका प्रसङ्गको व्यङ्ग्यार्थ आज कसैले सम्झने प्रयत्न गरेका पनि छौं हामीले ? कृष्णप्रसाद भट्टराई जति सरल र गहिरो व्यङ्ग्य गर्ने केशवराज पिंडाली र देवकोटामात्रै देखिए ।

रामचन्द्रजी देशकै एक नम्बरको नागरिक बन्नुभयो । अब केही नगरे पनि सरकारी प्रोटोकल (मर्यादामा)पछि परन्तुसम्मै रहनुहोला तर किसुनजीजस्तो बहुजनस्मृतिमा होइन । औपचारिक क्षेत्रमा मात्र । अन्तर यही हो मखाऊँ मैलाऊँ र बहुजन हितायका लक्ष्यमा लाग्ने मान्छेका बीचमा सृष्टिका ऋतले निर्धारण गरेको पार्थक्य । गीता नपढे पनि शेरबहादुर दाइ पनि सत्ताका खेलमा कृष्णले भनेजस्तै र बकुल्लाले माछा ढुके झैँ ढुक्नसक्ने योग्यताका देखिए । २३ सिटमा पनि प्रधानमन्त्री बन्नु र असैद्धान्तिक गठबन्धन गरेर भए पनि सत्ता सयर गर्ने लक्ष्य नछाड्नु व्यवसायात्मिका बुद्धिको यो एकमात्र वस्तुमा स्थिरबुद्धिको परिचायक नै हो ।

भक्भकी उम्लेको दूधसहितको घोप्टिएका सत्ताकुँडेलाई एक दुईथोप्पा दूध उछिट्टिए पनि सिंगोसग्लो कुँडे कोल्ट्याएर ६२ दिनमा नै सत्तागठबन्धन तोडेर आफ्ना पक्षमा ल्याउनु अर्को विशाल पिरामिड यिनले खडा गरेर देखाए । यसरी हेर्दा पाँच वर्ष पहिले विघटित संसद्लाई पाँच वर्षपछि पुनःस्थापित गर्नु, राज्यसत्तालाई निष्प्रभ पारेका र हिंसामा लागेका शक्तिलाई संसद्भित्र ल्याएर संसदीय पद्धतिका राजमार्गमा हिँडाउनु गिरिजाप्रसाद कोइरालाको अचम्मको काम देखिएको थियो । यिनी पनि गीता पढ्ने होइनन् तर राजनीतिबाहेक केही उनका क्रियाकलाप र सोच चिन्तनमा थिएन । अहोरात्र सङ्गठन, राजनीति र मैले हार्न पनि सक्छु तर देशले हार्नु हुँदैन भनेर मौकामा त्याग र संयोजन गर्ने क्षमता प्रदर्शन गरेका थिए ।

मेरो राजनीतिक गुरु भनेर शेरबहादुर पटक-पटक गिरिजाप्रसाद कोइरालाको नाम लिने गर्थे पनि । गिरिजाप्रसाद कोइरालाको सत्तामा पकड देखेपछि उनलाई नियन्त्रण गरेर लक्ष्योन्मुख बनाउन किसुनजीले प्रयोग गरेका साधन हुन वर्तमान नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर पनि । नेपाली कांग्रेसका इतिहासमा बहुआयामिक व्यक्तित्व भएका मान्छे भनेका बीपी र सुवर्णशमशेरमात्रै हुन् बाँकी कोही पदले गौरवान्वित, कोही आफ्ना एकलव्यभावका चिन्तन र आचरणले स्मर्तव्य छन् भने सभापतिका पदमा पुगेर आश्चर्यजनक काम गरेर देखाएका व्यक्ति जसले सिद्धान्तको लिक नछाडीकन सम्पन्न गरेर देखायो त्यो भने गिरिजाप्रसाद कोइराला मात्रै हुन् ।

नेपाली कांग्रेसका इतिहासमा बहुआयामिक व्यक्तित्व भएका मान्छे भनेका बीपी र सुवर्णशमशेरमात्रै हुन् बाँकी कोही पदले गौरवान्वित, कोही आफ्ना एकलव्यभावका चिन्तन र आचरणले स्मर्तव्य छन् भने सभापतिका पदमा पुगेर आश्चर्यजनक काम गरेर देखाएका व्यक्ति गिरिजाप्रसाद कोइराला मात्रै हुन् ।

सैद्धान्तिक दृष्टिले आलोच्य नै भए पनि सत्ता प्राप्तिका दृष्टिले अधिकांश कार्यकर्ताले जयजयकार गरिने यश आर्जन गर्ने व्यक्ति भनेका शेरबहादुर देउवामात्रै देखापरेका छन् आजका दिनसम्म । यो पटक शेरबहादुरले एउटा गुटमा लागेर आफूसँग पद्र्धा गरेका पौडेललाई आफ्ना गुटमा मिलाएर राष्ट्रपति बनाउनु, गुमेको सत्ता फर्काएर पार्टीलाई सत्तासीन गराउनु, जजसले जति गाली गरे पनि चुँ नगरिकन कामले मात्रै मान्छेलाई जवाफ दिनु शेरबहादुर देउवाका तारिफलायक काम हुन् । मैले माथि अर्जुन विषादयोगको कुरो गरेको थिएँ । हो, यही हो योग । परिस्थिति अनुकूल या प्रतिकूल जे भए पनि साधक विचलित नभइकन लक्ष्यमा पुग्ने विधि हो योग ।

रामदेव र बालकृष्णले हरिद्वारमा गरेको साधनामात्रै योग होइन । रामचन्द्रले पदका लागि गरेको आचरण, शेरबहादुरले सत्ताका लागि गरेको गोटीचाल र खप्तडस्वामीले गरेको ओखती उद्यानको निर्माण पनि योग नै हुन् । नौ वर्ष कारागारमा र नौ वर्ष प्रवासमा बसेर बहुदलीय संसदीय प्रजातान्त्रिक पद्धतिको राजनीतिक व्यवस्थाका निमित्त बीपी र गणेशमानले गरेको संघर्ष पनि योग नै हो । सत्ता प्राप्तिका निमत्तको योग, पद प्राप्तिका निमित्तको योग र समाजको रूपान्तरण गरेर नवमूल्यपद्धति स्थापनाका लागि गरेको योगका बीचमा रहेको अन्तर अबका कांग्रेसीले तुलनात्मक अध्ययन गरेर नेपाली प्रबुद्धवर्ग समक्ष ल्याउन सक्नुपर्दछ ।

दुर्भाग्य नेपाली कांग्रेसका नेतामा बीपी, सुवर्ण, गणेशमान, किसुनजीपछि पढ्ने नेताको अब सर्वथा अभाव छ । धेरै दिनदेखि नेपाली कांग्रेसमा प्रदीप गिरि, नरहरि आचार्य पठनशील ठानिन्थे । प्रदीप रहेनन्, नरहरिजी अशक्त हुनुभयो । पढ्नु सजिलो छैन । सांसद मन्त्री भएपछि दुःख किन गर्ने ? अन्यथा राजनीति पनि गायत्रीजस्तो संशोधनै गर्नु नहुने वैदिक ऋचा बन्छ या कम्युनिष्ट सिद्धान्तमा जस्तोमार्क्सले भनेको, लेलिनले भनेको र माओले भनेका वाक्यसँग मेल नखाने कामजतिलाई गद्दारको संज्ञा दिनुपर्ने पनि हुनसक्छ ।

गान्धीको लक्ष्य, बीपीको लक्ष्य, किसुनजीको लक्ष्य र अर्जुनको लक्ष्य तुलनीय छन् । अर्का दृष्टिले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल तुलनीय हुन्छन् भने अहिले ओलीजीको भूमिका चाहिँ दुःशासनको जस्तो बढी देखियो । माओवादी केन्द्र चाहिँ दूध पोखिएर जमेका ठाउँमा भुन्भुनाउने मक्षिकाको गोलोमात्रै हो । स्थिरता र योजनाविनाको खञ्चुवाको झुण्डमात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. लेखकले कलमको शक्तिलाई राम्ररी प्रदर्शन गरेको कुरा यो विश्लेषणले प्रमाणित ग-यो।जय होस्

    “माओवादी केन्द्र चाहिँ दूध पोखिएर जमेका ठाउँमा भुन्भुनाउने मक्षिकाको गोलोमात्रै हो । स्थिरता र योजनाविनाको खञ्चुवाको झुण्डमात्र ।”

रिलेटेड न्युज

छुटाउनुभयो कि ?