कर्णालीमा खेल पर्यटनको विकासका लागि जुम्ला-रारा अल्ट्रा म्याराथन हुने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । कर्णालीमा खेल पर्यटनको विकास गर्नका लागि जुम्ला-रारा अल्ट्रा म्याराथन वैशाखमा हुने भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन २०८० सालको बैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुने कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

विश्व किर्तीमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरिने भएको छ । अध्यक्ष शाहीले भन्नुभयो ,'विगतका तीन वटा संस्करणको सफलतापछि आगामी महिनाको बैशाख ११ गते क्लबले आयोजना गर्न लागि परेको छ ।' धावक रोकायाको सम्मानमा चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष शाहीको भनाइ छ ।

बितेका बर्षहरुको तयारीअनुसार यस बर्षको प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँहरुमा चेक पोईन्ट, उपसमिति तथा दौड हुने रुटका वजार तथा गाउँहरुमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भईरहेको छ । कर्णालीको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनवाट शुरु भई नेपालकै अति सुन्दर सबैभन्दा ठुलो रारा तालको हुटु छेउमा अन्त्य हुने छ ।

जुम्ला-रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिताको दूरी ४९ किलोमिटर रहेको छ । विगतका तिनवटा प्रतियोगिताहरुमा ३ सयदेखि ४ सयको हाराहारीमा देश विदेशका खेलाडी सहभागी रहेकोमा यसवर्ष झण्डै २ हजार खेलाडीको सहभागिता गराउने लक्ष्य राखिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष शाहीले बताउनुभयो । गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकावाट समेत खेलाडीहरु सहभागी भएका थिए ।

यस वर्ष प्रतियोगिताका विभिन्न बिधाहरुमा २८ जना धावकहरुलाई नगद, मेडल तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने तयारी छ । जुम्ला-रारा अल्ट्रा म्याराथनको विजेता महिला पुरुष दुबैले नगद १/१ लाख पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । द्वित्तिय हुनेले नगद ७५ हजार, तृत्तिय हुनेले ५० हजार, सान्त्वना हुनेले २० हजार र पाँचौ स्थानमा आउनेले पनि २० हजार नगदसहित प्रमाण पत्र र मेडल प्रदान गरिने कर्णाली खेलकुद क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयाे ।

त्यस्तै विद्यार्थीबीच ५ किलोमिटर दुरीको छोटो दौड प्रतियोगिता पनि हुने छ । जसमा प्रथम हुनेले ५ हजार नगदसहित पुरस्कार उपलव्ध गरिने छ । क्रमशः द्धित्तिय, तृत्तिय हुनेले ३ र २ हजार नगद र मेडल प्रमाण पत्र पाउने छन् । साथै ५ किलोमिटर दुरीको कार्यालय कर्मचारी र व्यापारी उद्योगी बीचको दौड प्रतियोगिता हुने छ । १ किलोमिटर दुरीमा बालबालिकाको दौड प्रतियोगिता हुने छ । जसमा प्रथम, द्वित्तिय, तृत्तिय हुनेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ ।

चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताका लागि झण्डै २२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । सो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?