१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक : अध्यक्ष ओली

स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन सक्दैन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउनुपर्ने निर्देशन दिनुभएको छ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले जनताले भाषण, विचार सुन्न भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल ब्यवहार र आचरण देखाउन निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब भएपनि कार्यकर्ताहरु असल रहेकाले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने बताउनु भयो ।

‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्’ ओलीले भन्नुभयो, ‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर, ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गर्नुभयोे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको उहाँले आरोप लगाउनु भयो।

मिसन ग्रासरुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल वहुमत ल्याउने रहेको उहाँले बताउनु भयो ।
१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानीकारक रहेको आरोप लगाउँदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गर्नु भयो ।

अध्यक्ष ओलीले स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको बहुमतको सरकार बनाउने अठोट र संकल्प सहित एकल वहुमत हासिल गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनविहीन भन्दै अध्यक्ष ओलीले यस्ताले देश कसरी बनाउँछन् भन्ने प्रश्न गर्नु भयो । ‘यो सरकार कस्को नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’ ओलीले भन्नुभयो–‘कि खानका लागि मात्रै हो ?’

रुपन्देहीमा जति भोट ल्याउनुपर्ने हो त्यति ल्याउन नसकेको उल्लेख गर्दै ओलीले विष्णु पौडेलको भोट गन्दा छक्क परेको उल्लेख गर्नुभयो ।
‘सबै वडामा ५१ प्रतिशत भोट एमालेको पक्षमा बनाऔं, वहुमत नआउनुपर्ने कुनै कारण छैन । सबै क्षेत्रमा एमालेका नीति, निर्णय काम अरु दलको तुलनामा धेरै अब्बल छन् । बालबालिका, युवा देखि बृद्धबृद्धासम्मलाई एमालेले सम्बोधन गरेको छ ।’ उहाँले भन्नुभयो ।

एमाले सरकारमा हुँदा युवा देश बाहिर जाने दर १८ प्रतिशतले घटेको र कृषि उत्पादन ८ प्रतिशतले बढेको थियो’–ओलीले भन्नुभयो ‘ २० वर्षमा नभएका काम एमालेको साढे ३ वर्षको सरकारको पालामा भएका थिए,एमालेले गरेका काम आफु बसेको ठाउँमै उभिएर हेरे देखिन्छ, डाँडा चढ्न पर्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?