फेरियो धौलागिरिको परिचय : कला संस्कृतिको विरासतसँगै पर्यटकीय हब

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 17 mins

म्याग्दी । देशमा भएको राजनीतिक परिवर्तन पछि गति लिएको विकास निर्माणको कार्यले धौलागिरि क्षेत्रको पर्यटन विकास तीब्र गतिमा अघि बढेको छ ।

करिब डेढ दशक अघिसम्म लाहुरेहरुको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्रै सीमित नभएर उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरुको क्षेत्र भनेर पनि चिनिन थालेको छ ।

साविकको धौलागिरि अंचलका म्याग्दी,मुस्ताङ,बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधीमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीय स्थलहरुको पहिचान,व्यवस्थापन र निर्माण भए पछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो ।

कास्की जिल्लाको नयाँ पुल तर्नेबित्तिकै सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जन वढी पर्यटकीय स्थलहरुले आन्तरिक तथा वाह्य पर्यटकहरुको ध्यान खिच्न सफल भएका छन् । राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीय स्थल घोडेपानीदेखि लिएर म्याग्दीको टोड्के, खयरवराह, करवाकेली,राम्चे, लभ्लीहिल, गलेश्वर, महारानीथान, तातोपानी कुण्डहरु, ताकम कोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धाम लगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटकहरु आकर्षित भएका हुन् ।

त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुंगे पुल, पञ्चकोट, शालग्राम संग्रहालय जस्ता मानवनिर्मित धार्मिक स्थल तथा आध्यात्मिक केन्द्रहरुको रहरलाग्दो व्यवस्थापन र प्रचारप्रसारले पनि धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयले बताएका छन् ।
त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाइरहेको छ ।

त्यसैगरी हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल,हिमश्रृङ्खला , ढुम्बा ताल, कागबेनी र हिन्दू र वौद्ध धर्मावलम्वीहरुको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीय स्थलहरुले धार्मिक र यायावरीय पर्यटकहरुको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताउनुभयो ।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले पनि चिनाउन थालेका बागलुङका हरि गौतमले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय चर्चामा आएका प्राकृतिक र मानव निर्मित धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सिंगो धौलागिरि क्षेत्रको शिर उचो बनाएको छ ।

मानव निर्मित तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा विकासका पूर्वाधारहरू निर्माण भएपछि आगन्तुकहरूको आगमनसमेत उत्साहपूर्ण छ । यसले व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ । करिब डेढ वर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्यहरू पुनः तंग्रिन थालेका छन् । कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रहरूमा संरचना निर्माण भएका छन् । लगानीकर्ताहरूले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन् ।

करिब दुई वर्ष अघि संचालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोचमा बनेकोे विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुंगा सावित भएको छ ।

द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो । कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर छ । द क्लिप प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यो विश्वकै अग्लो बञ्जीजम्पका रूपमा स्थापित भएको कार्कीको दाबी छ । कोरोनाले गर्दा केही बाहृय पर्यटकहरू भित्रिन नसकेको भन्दै आन्तरिक पर्यटकहरूको भने चहलपहल हुँदै गएको उहाँको भनाइ छ ।

त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटकहरूको आकर्षण बढेको छ । यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाहृय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाहृय पर्यटकहरूसमेत आउने गरेको स्थानीयको भनाइ छ ।

पुल सात करोड ९७ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण भएको थियो । झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

गलेश्वर धाम

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम विश्वकै अलौकिक तीर्थस्थलका रूपमा परिचित छ । रहु नदी र कालीगण्डकीको पवित्र संगममा पर्ने गलेश्वरधाम धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरतर्फ पर्ने गलेश्वरधाम मुक्तिनाथ प्रवेशद्वारमा रहेको छ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णगण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिंगेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ ।

विशेष गरी गलेश्वरधाममा बाला चतुर्दशीमा देशविदेशबाट सद्विज छर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । पछिल्लो समय महाबत्ती बाल्ने भक्तालु बढेको गलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव रेग्मीले बताउनुभयो ।

मुक्तिनाथ

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल हो । समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा रहेको यस मन्दिरमा विशेष गरी बाहृय पर्यटकहरूको आगमन निकै हुने गर्छ । यस पवित्र स्थलमा १०८ वटा ढुंगाले बनाएको गाईको मुखबाट निस्किएका धाराहरू छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वास जनमानसमा छ ।

मन्दिरको ठीकअगाडि दुई वटा पोखरी (कुण्ड) छन् । एकतर्फी धर्मकुण्ड र अर्कोतर्फ पापकुण्ड छ । यहाँ अन्य मन्दिरहरू आसपासमा रहेका छन् । तीर्थ यात्रुहरूले मुक्तिनाथलाई तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध मान्दै आएका छन् । मुक्तिनाथमा पूजाआजा गर्दा मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ । मुक्तिनाथमा खासगरी भारतीय पर्यटकहरू बढी आउने गरेका छन् ।

विगतका दुई वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः रहेका यहाँका पर्यटकीय स्थलहरु अहिले भने पुनः पुरानै लयमा फर्किन सुरु गरेका छन् । गत मंसिरदेखि फागुन अन्तिमसम्म पाँच हजार बढी आन्तरिक पर्यटकहरुले यस क्षेत्रका पर्यटकीय स्थलहरुको भ्रमण गरेका अनुमान गरिएको छ ।

घोडेपानीमा आन्तरिक पर्यटक बढ्दै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् । पर्यटकको सङ्ख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण संकटमा परेका होटेल तथा पर्यटन व्यावसायीमा आशा पलाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै वि.सं. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो। अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनाएको थियो।

घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताउनुभयो । ‘वसन्त ऋतुको सुरूवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ’, उहाँले भन्नुभयो ‘केही दिनयता दैनिक २० जनाको हाराहारीमा विदेशी र ६० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन्।’ पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको उहाँको भनाइ छ।

अध्यक्ष गर्बुजाका अनुसार वसन्त ऋतुको समयलाई पर्यटक आउने मौसमको रूपमा लिइन्छ। यो समयमा यहाँको पर्यटकीय क्षेत्रहरूमा भिड लाग्ने गर्छ। व्यवसायीले पनि राम्रो आम्दानी गर्छन्। तर, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै विगत दुई वर्षदेखि होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ। यस वर्षदेखि भने पर्यटकको सङ्ख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसायमा थप सहजता आउने अनुमान गरिएको छ। कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण थला परेको व्यवसायमा बिस्तारै चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएकाले होटेल व्यवसायीहरू पर्यटकको सङ्ख्या बढ्ने आशामा छन्। समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ। चैत–वैशाख महिनामा यहाँका वरपरका पाखामा फूलेका लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ।

यस क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले आफू पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएको उनले बताए। उपसमितिको बैठकले घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पूर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेको छ । ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गिकरण गरेर फरक–फरक दररेट बनाइएको हो।

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिनुभयो ।

‘सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ’ उहाँले भन्नुभयो ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ ।’ म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र दुई सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?