प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालका तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिश जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा रहनुभएको छ ।

त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहनुभएको छ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाएकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

उक्त प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले आगामी वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुग्ने क्यानले जनाएको छ । दुई हप्ताअघि आइसिसी विश्वकप लिग–२ को शीर्ष तीनमा पर्दै ओडिआई मान्यता जोगाएपछि उहाँ बिदामा परिवार भेट्न भारत जानुभएको थियो ।
नेपालले विश्वकप लिग २ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चाएको थियो । देशाई आउँदा नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने र ओडिआई मान्यता जोगाउन कम्तीमा नौ खेल जित्नुपर्ने समीकरण थियो । अविश्वसनीय लाग्ने उक्त लक्ष्य हासिल गराउँदै मोन्टीले नेपाली टोलीको ओडिआई मान्यता जोगाउनुभएको थियो ।

सोही कारण क्यानले उहाँको पारिश्रमिक पनि बढाइसकेको छ । यसअघि मासिक १० हजार डलर तलब पाउँदै आउनुभएका मोन्टीले अब १२ हजार डलर पाउने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?