नयाँ वर्षमा काठमाडौंको टुँडिखेलमा ‘ओशो महोत्सव’ हुँदै

Read Time = 4 mins

काठमाडौं । नयाँ वर्ष वैशाख १ गते शुक्रबार ‘ओशो महोत्सव’ हुनेभएको छ । काठमाडौंको टुँडिखेलमा दोस्रो संस्करणको ओशो महोत्सव हुनेभएको हो । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत वर्ष वैशाख १ गते १५ हजारभन्दा बढीको उपस्थितमा एकसाथ ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन शीर्षकको कार्यक्रम आयोजना गरेको थियो ।

गत वर्षको उक्त कार्यक्रमबाट प्राप्त उत्साह तथा सकारात्मक सन्देशसँगै यो वर्ष पनि यसलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । बुधबार ओशा तपोवनमा आयोजित पत्रकार सम्मेलनमा ओशो महोत्सव ओशो तपोवनको प्रस्तुतिमा आयोजना हुन लागेको जानकारी गराइएको छ । यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।

वैशाख १ गते बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टासम्म सञ्चालन हुने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका कार्यक्रम रहने जनाइएको छ । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओशो महोत्सव ध्यान र साधनाको महोत्सव हुनेछ । ओशो महोत्सव अध्ययनको महोत्सव हुनेछ । ओशो महोत्सव स्वाद र हाँस्यको महोत्सव हुनेछ । किनकि एक दिने ओशो महोत्सव ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’

ओशो महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजेदेखि प्रारम्भ हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्नेछन् । देशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुने जनाइएको छ ।

सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिनेछ । यसपटक कुटुम्बले अहिलेसम्म नगरेको नयाँ प्रयोगसमेत गर्नेछ, जुन ऐतिहासिक हुने दाबी गरिएको छ । ओशो महोत्सवमा हुने फुड फेष्टिभलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नुहुनेछ । उहाँका केही नयाँ परिकारहरूको स्वाद महोत्सवमा लिन सकिनेछ ।

ओशो महोत्सवको महोत्सव पार्टनरको रूपमा ग्लोबल टुरिजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सवको मिडिया संयोजनको रूपमा चलचित्र पत्रकार संघ रहेको नेपालले ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी गराउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?