बैंकहरूले २० प्रशितभन्दा बढी नाफा असुलेको दाबी

Read Time = 4 mins

कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा लिने गरेको आरोप लगाउनुभएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा बुधबार आयोजित लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकारी खर्च कम हुँदा बजारमा तरलता अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको भन्दै श्रेष्ठले बैंकले उद्योगीसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएकाले तत्काल घटाउन माग गर्नुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाइने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानुन लागू गरेर दुःख दिइन्छ तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन् ।’ निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेका बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशील बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशतभन्दा धेरै छ तर सरकारको योगदान न्यूनमात्र छ । त्यसले देशको पुँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्छ ।’ सरकारले अर्थतन्त्रलाई सुदृढ गर्न आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै थापाले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तीनै तहका सरकारसँग तीन खर्ब ५१ अर्ब रुपैयाँ छ, यो रकमबाट सरकारले खर्च गर्न सक्छ र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वका सबै देशले आर्थिक मन्दी र चुनौतीबाट पाठ सिकेर नयाँ नीति र व्यवस्था गर्ने गरेको भए पनि हामीले कहिल्यै सिक्न चाहेनौँ, हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चित हुनुपर्छ ।'

जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्यासी अरुणराज सुमार्गीले निजी क्षेत्रका माग र समस्या सम्बोधन गर्न र आन्दोलनका रूपमा अघि बढाउन अञ्जन श्रेष्ठको नेतृत्व आवश्यक भएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?