सेयर कारोबार कमिसन घटाउन माग

Read Time = 7 mins

काठमाडौं । सेयर लगानीकर्ताले नेपालमा धितोपत्रको कारोबारमा चर्को कमिसन शुल्क लाग्दै आएको भन्दै घटाउन माग गरेका छन् । सेयर बजारमा तीन लगानीकर्ताका संगठनद्वारा बुधबार आयोजित अन्तरक्रियामा उनीहरूले कमिसन शुल्क घटाउन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको ध्यानाकर्षण गराएका हुन् । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले अहिलेको ब्रोकर कमिसन पनि धेरै रहेको भन्दै ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, अल्पकालीन लगानीकर्तालाई लगाइँदै आएको ७.५ प्रतिशत पुँजीगत लाभकर घटाएर पाँच प्रतिशतमा झार्नुपर्ने उहाँले बताउनुभयो । छिटोभन्दा छिटो नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर ल्याउन र कमोडिटी एक्सचेन्ज ल्याउन माग गर्दै रौनियारले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर नेपाली पुँजीबजारका लागि कोशेढुंगा साबित हुने दाबी गर्नुभयो । पुँजीबजार सुधार र विकासका लागि सरकारले तत्कालै गैरआवासीय नेपालीलाई पनि पुँजी बजारमा भित्र्याएर नेपाल राट्र बैंक, अर्थमन्त्री र धितोपत्र बोर्डले मिलेर काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । कुल जनसंख्याको १६ देखि १८ प्रतिशत पुँजी बजारमा आबद्ध रहेकाले पुँजी बजार सुधारमा हरेक मुद्दा मामिलामा लगानीकर्ताको साथ रहने रौनियारको भनाइ थियो ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले पनि नेपालमा सेयर कारोबार गर्दा विश्वमै नभएको चर्को कमिसन लिने गरिएको भन्दै कमिसन घटाउन माग गर्नुभयो । साथै उहाँले ब्रोकररहित सेयर कारोबारको पनि माग गर्नुभएको छ । पुँजीबजार सुधार गर्न सकेमा अर्थतन्त्र पनि सुधार हुँदै जाने फुल्लेलको दाबी थियो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने अब पुँजीबजारका लागि सुनौलो दिन आउने दाबी गर्नुभयो । बजार सुधारका थुप्रै काम भइरहेकाले सुनौलो दिन आउने उहाँको दाबी थियो । तर, तत्कालका लागि संयमता अपनाउन पनि उहाँले लगानीकर्तालाई आग्रह गर्नुभयो । विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव नेपालको तरलतामा परेको र त्यसले पुँजीबजारमा पनि नकारात्मक असर देखिएको उहाँले बताउनुभयो । अध्यक्ष हमालले भन्नुभयो, ‘बजारमा पूरै चाप छ, पुँजीबजारमा पनि चाप छ । तरलता चापले बजारमा पनि चाप पारेको हो । सरकारको पुँजीगत खर्च वृद्धि नहुँदा तरलता अभाव भयो र पुँजीबजार पनि प्रभावित बन्यो । तर, बजारको स्थायित्व र विकासका लागि हामीले पूरै ध्यान दिएका छौँ । कर कम गराउने प्रयास जारी छ, यसपालि कर कम गराउँछौँ । ब्रोकर कमिसन पनि समयसँगै कम हुँदै जानेछ ।’

सेयर बजारमा झिनो सुधार
सेयर बजार फेरि ओरालोतर्फ लाग्ने संकेत देखिएको छ । अघिल्ला दिनहरूमा दोहोरो अंकले बढेको सेयर बजार बुधबार १.०२ अंकले मात्रै बढेर १९१९.४२ अंकमा पुगेको छ । दुई सय ५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर ८१ करोड ६२ लाख १९ हजार एक सय २९ रुपैयाँमा कारोबार भएको हो । मंगलबारको तुलनामा कारोबार रकम ६२ करोड ७५ लाखले घटेको छ । सो दिन एक अर्ब ४४ करोड ३७ लाखको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको एनआइसी एसिया बैंकको तीन करोड ५६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको तीन करोड ३२ लाख २२ हजार, शिवम् सिमेन्ट्सको दुई करोड ५२ लाख, हिमालयन डिष्टिलरीको दुई करोड ५१ लाख र एसियन हाइड्रोपावरको दुई करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सुपर माई हाइड्रोपावर र कालिञ्चोक दर्शनको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने धौलागिरि लघुवित्त ५.१७, स्वावलम्बन लघुवित्त ३.९५ र सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ३.८८ प्रतिशतले बढेको छ । तर, खप्तड लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घटेर ९३१ रुपैयाँमा झरेको छ भने एनएलजी इन्स्योरेन्स ३.३४, सिर्जनशील लघुवित्त ३.३०, सूर्याज्योति लाइफ ३.१३ र आरम्भ चौतारी लघुवित्तको मूल्य ३.०१ प्रतिशतले घटेको छ ।

होटल तथा पर्यटन समूह सर्वाधिक १.३४ प्रतिशत, अन्य ०.६३, लघुवित्त ०.२७, निर्जीवन बीमा ०.२१ र लगानी ०.२१ प्रतिशतले बढेको छ । व्यापार सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ भने जीवन बीमा ०.५३, विकास बैंक ०.३६, फाइनान्स ०.३५, म्युचुअल फण्ड ०.१९, उत्पादन ०.०९, जलविद्युत् ०.०४ प्रतिशत र बैंकिङ ०.०१ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?