आपराधिक गतिविधिमा बढ्यो चिनियाँ गिरोहको सक्रियता

ह्वाट्सएप र टेलिग्रामबाट ठगी गर्ने नौ चिनियाँ र १० नेपाली पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालमा बसेर पछिल्लो समय विभिन्न आपराधिक गतिविधिमा चिनियाँ गिरोहको संलग्नता बढेको पाइएको छ । प्रहरीले विभिन्न अपरेसनमार्फत पटक-पटक चिनियाँ गिरोहलाई पक्राउ गर्ने गरे पनि उनीहरूको सञ्जाल झनै बढ्दै गएको पाइएको हो । यसअघि चिनियाँहरू दुर्भल वन्यजन्तु अखेटोपहारको अवैध कारोबार, सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी, एटिएम तोडफोड, मानव तस्करी जस्ता कार्यमा बढी देखिएकोमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि खुलेरै ठगी धन्दामा लागेको पाइएको हो ।

प्रहरीले बुधबार यस्तै घटनामा पक्राउ परेका नौ चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई सार्वजनिक गरेपछि सामाजिक सञ्जालमार्फत हुने चिनियाँ नागरिकको अपराध बाहिरिएको हो । अनलाइन बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ‘टेलिग्राम’ मा ‘अपरेसन टिचर’ नामक च्यानल चलाएर कक्षा सञ्चालन गरेर उनीहरूले सर्वसाधारणलाई ठगी गर्दै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दीलगायत छन् भने नेपाली नागरिकहरूमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगरलगायत छन् । उनीहरूले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध रूपमा कार्यालय सञ्चालन गरी अनलाइनमार्फत ठगी गरेको पाइएको हो । उनीहरूले सामाजिक सञ्जाल टेलिग्राममा अपरेसन टिचर नामको अनलाइन च्यानल बनाएर अनलाइनमा कसरी लगानी गर्ने भन्ने विषयमा कक्षाहरू सञ्चालन गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी गराउनुभयो ।

अनलाइनमा लगानी गरेपछि १५ प्रतिशत कमिसन आउने भन्दै नेपालीलाई लोभ्याएर पैसा लगानी गर्न लगाएको खुलेको हो । नौजना चिनियाँले काठमाडौंको बौद्धमा कोठा भाडामा लिएर नेपालीहरूलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । नौजना नेपालीहरूको नाममा खाता खोल्न लगाएर उनीहरूलाई खाता खोलेबापत मासिक १० हजार रुपैयाँ दिँदै आएका थिए । उनीहरूको खातामा अनलाइन ठगी गरेको पैसा नेपालीको खातामा जम्मा गर्ने र एटिएम, अनलाइन बैंकिङमार्फत पैसा झिक्ने गरेको अनुसन्धानमा खुलेको छ । खाता खोल्ने नेपाली र नौजना चिनियाँहरूको मुख्य एजेन्टका रूपमा अर्जुन श्रेष्ठले गर्दै आएका थिए । उनले नै एटिएमबाट पैसा झिकेर चिनियाँहरूलाई बुझाउने गरेको अनुसन्धान खुलेको एसएसपी केसीले जानकारी गराउनुभयो ।

एसएसपी केसीका अनुसार यसभन्दा अगाडि अनलाइन ठगीमा चिनियाँहरूले आफूहरू संलग्न हुँदैनथे, तर यसपालि उनीहरू आफू संलग्न भएकाले नेपालमै मुद्दा चल्ने बताउनुभयो । उनीहरूले समग्रमा १० करोड रुपैयाँ ठगी गरेको खुलेको छ । प्रहरीमा एकजना व्यक्तिले आफू ४८ लाख रुपैयाँ ठगिएको भन्दै उजुरी दिएपछि घटनाबारे पोल खुलेको थियो ।

उनीहरूको साथबाट प्रहरीले चार लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान पनि फेला पारेको छ । उनीहरूले यसका लागि ह्वाट्सएपको प्रयोग गरेको पनि प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमा नाराबाजी
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बानेश्वर परिसरमा नाराबाजी गर्नुका साथै त्यही नै सुतेर विरोध जनाएका छन् । बुधबार पक्राउ परेकालाई परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिने क्रममा हतकडीमा रहेका उनीहरूले नाराबाजी गरेर, सुतेर विरोध जनाएका हुन् ।

उनीहरू तस्बिर खिच्न खोज्नेलाई दुव्र्यवहार पनि गर्न खोजेका थिए । उनीहरूले चिनियाँ भाषामा नाराबाजी गरेका थिए । पक्राउ गरेर हतकडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार भएको एक प्रहरी अधिकारीले हिमालय टाइम्सलाई बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?