विश्व आर्थिक मन्दीको भयसँगै सुनको महत्व

Read Time = 13 mins

✍️ रिसव गौतम

सुन अर्थतन्त्रमा महत्वपूर्ण योगदान राख्न सक्ने धातु हो । जसको महत्व र महिमा विश्वभर अझ बढी कायम छ । नेपालमा यसको परापूर्वकालदेखि नै उपयोग र महत्व रहँदै आएको छ । धनको पहिलो स्रोत जमिनपछि सुनको नै बढी महत्व संसारभर छ । जमिन स्थिर सम्पत्ति हो भने सुन तरल सम्पत्ति हो । त्यसकारण आजको दुनियाँमा जमिनभन्दा पनि सुनको बढी संग्रह र संरक्षण हुनथालेको छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा सुनलाई लिइने गरिन्छ । सुनले मानिसहरूको शारीरिक शोभामात्रै बढाउँदैन, आपत-विपत्मा तुरुन्तै नगदमा परिणत गरिन सकिने यस धातुले बहुआयामिक उपादायता सिद्ध गरेको छ ।

सुनको अधिक संग्रह गरेका, सुन खानीहरू भएका देशहरू पछिल्ला समय सबैभन्दा धनी मुलुकहरूको रूपमा उदाउँदै गएका छन् । त्यसकारण नेपालले पनि सुनको महिमा बुझेर सुन खानीहरूको अन्वेषण र उत्खनन्, जनमानसमा भएका सुनहरूको संग्रह गर्नु आवश्यक छ । संसारका सबैजसो देशहरूले सुनलाई पैसाको रूपमा प्रयोग गर्दै आएका छन् । त्यसकारण सम्पति सुरक्षित गर्न पनि सुनको प्रयोग भरपर्दो मान्ने गरिएको छ । अझ १९औं शताब्दी तिर त त्यसबेलाका सबै औद्योगिक देशहरूले सुनको आधारमा आफ्नो पैसाको मूल्यांकन गर्थे । त्यसकारण एउटा लामो इतिहास बोकेको, संसारभर अत्यन्तै महत्व पाएको सुनलाई नेपालले पनि महत्व दिएर धनी हुने बाटो रोज्नुपर्छ ।
नेपालको वर्तमान आर्थिक अवस्था

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालसँग १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ । जुसले झण्डै साढे ११ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकको भनाइ छ ।

अर्थतन्त्र अहिले समग्र हिसाबले भन्दा सुधारिँदै गएको छ । यद्यपि अर्थतन्त्रको आन्तरिक गतिशीलता भने कमजोर नै देखिन्छ । जसले गर्दा आमजनमानसमा उत्साह त्यति देखिँदैन । राष्ट्र बैंकको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार शोधानान्तर बचत, व्यापारघाटा, विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स् आप्रवाह जस्ता अर्थतन्त्रका विविध बाहृय पक्षका सूचकहरू सुधारिँदै गएका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको शोधानान्तर वचतको स्थीति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा छ । व्यापारघाटा पनि केही कमी हँुदैछ । कूल विदेशी विनिमय सञ्चिति १३ दशमल ८ प्रतिशले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालसँग १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ । जुसले झण्डै साढे ११ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकको भनाइ छ । त्यसैगरी अर्थतन्त्रको मेरुदण्ड तर बाहृय पक्षको रूपमा रहेको रेमिट्यान्सको वृद्धिदर हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २७ दशमलव १ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो । पछिल्ला दिनमा विदेशीनेहरूको दर झनै बढेका कारण आगामी महिनाहरूमा रेमिट्यान्सको आप्रवाह दर अझै बढ्ने अनुमान गरिएका छन् । यसरी अर्थतन्त्रको बाहृय पक्ष बलियो हुँदै गएको छ । बाहृय पक्ष सुधार हुँदै गए पनि आन्तरिक पक्ष चलाएमान हुन सकेको छैन । त्यसले देशको आर्थिक गतिविधि बढ्न सकेको छैन ।

उच्चदरको व्याजदरकै कारण व्यसायीहरूसमेत आन्दोलित छन् । अर्कोतर्फ सरकारले विकास निर्माणको काममा ध्यान दिनै सकेको छैन । मन्त्रालयहरूमा नयाँ मन्त्रीहरू नियुक्त हुनसकेका छैनन् । सरकारको राजस्व अशुली लक्ष्यभन्दा करिब २० प्रतिशतले खुम्चिएको छ । सरकारले विकास निर्माण खर्च बढाउन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरूको सुस्तता, सरकारको पुँजीगत खर्चको कमजोर अवस्था र विश्वव्यापी मन्दीको भयले उपभोक्ताहरूमा गिरेको आत्मविश्वास आदिले गर्दा नेपाली अर्थतन्त्र गतिशील बन्न सकेको छैन । त्यसकारण अर्थतन्त्रको आन्तरिक पक्ष सकारात्मक छैन तर मूल रूपमा अर्थतन्त्रको बाहृय पक्ष बलियो हुँदै गएको हिसाबले आगामी दिन अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

विश्व अर्थतन्त्र र सुन :
अहिले विश्वव्यापी आर्थिक मन्दीको चरण सुरु भएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी रूपमा अहिले आएर आर्थिक संकट देखापरेका छन् । खासगरी पछिल्ला वर्षमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव र रुस-युक्रेन युद्धका कारण पनि विश्व अर्थतन्त्र प्रभावित छ । सन् २००८ को मन्दीमा विश्वकै समृृद्ध अर्थतन्त्र मानिने अमेरिकामा एउटा ठूलो बैंक नै टाट पल्टिएको थियो । यस वर्षदेखि सुरु भएको मन्दीले अमेरिकाको १६औं ठूलो बैंक सिलिकन भ्याली बैंक र अर्को कमर्सियल बैंक सिग्नेचर बैंक डुब्यो । नेपालमा पनि धेरै वित्तीय सहकारीहरू डुबेका छन्, भागेका छन् । कतिपय लघुवित्तहरूमा अनेकन समस्या उब्जिएका छन् ।

यसरी वित्तीय रूपमा असन्तुलन पैदा भइरहँदा विश्वव्यापी रूपमा सुनको भाउ भने बढेको अवस्था छ । सुनको मूल्यवृद्धिले एक खालको नयाँ रेकर्ड बनाएको छ । संकटका दिनहरूमा सुनप्रति विश्वव्यापी भरोसा झन् बढेको छ । नेपाली बजारमा अहिले सुनको मूल्यप्रति तोला एक लाख ७ हजार ७ सयसम्मको नयाँ रेकर्ड बनिसकेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा सुन कारोबार हुन थालिसकेको छ । यसरी समग्र विश्वव्यापी अर्थतन्त्र खल्बलिँदासमेत सुनको भाउ र महत्व बढिरहेको देखिन्छ ।

अर्थतन्त्रलाई सुनको टेवा :
विश्वव्यापी रूपमा भरोसाको प्रतीकको रूपमा रहेको सुनलाई नेपालले पनि प्राथमिकता दिन जरुरी देखिन्छ । सुन व्यवसायले अहिले नेपालमा पनि लखौंलाई रोजगारी दिइरहेको छ । सुनबाट बन्ने गरगहनाबाट नेपालीहरूको विश्वमाझ शोभा बढाएको छ । सुनको संग्रह र संरक्षणबाट अर्थतन्त्रमा उल्लेख्य टेवा दिएको छ । जुन-जुन देशमा सुनको संग्रह बढी छ, जहाँ-जहाँ सुनचाँदी जस्ता बहुमुल्य धातुका खानी रहेका छन् ति देशहरू आर्थिक दृष्टिले अगाडि छन् र समृद्ध पनि छन् । जस्तो कि पछिल्लो तथ्यांक अनुसार सुनको सबैभन्दा धेरै उत्पादन गर्ने देशहरूमा चीन, अष्ट्रेलिया, रसिया, अमेरिका, क्यानडा, पेरू, दक्षिण अफ्रिका, घाना, माली, इण्डोनेशिया र उज्जेकिस्तान रहेका छन् ।

धेरै मानिसहरूको रोजगारीसँग सरोकार राख्ने, सरकारलाई वार्षिक अर्बौं राजस्व योगदान दिने क्षेत्रलाई राज्यले बेवास्ता गर्नु उचित होइन । त्यसकारण यस व्यवसायलाई सरकारले प्राथमिकता दिएर आवश्यक व्यावसायिक वातावरण बनाइदिनु, यसलाई व्यवस्थित र नियमित गर्न छुट्टै कानुन बनाइनु आजको आवश्यकता हो ।

ती देशहरू आर्थिक रूपमा समृद्ध छन् र हुने क्रममा छन् । नेपालमा पनि सुनको खानी हुनसक्ने विभिन्न अध्ययनले देखाए पनि त्यसको ठोस अन्वेषण हुनसकेको छैन । नेपालमा सुनचाँदी जस्ता बहुमूल्य धातुहरूको आवश्यक खोज तथा अध्ययन हुनसकेको छैन । हामी केवल प्रकृतिले ठगिएको मुलुक भनेर आफूलाई हेरिरहेका छौं तर सम्भावित खोज तथा उत्खनन्का कुरामा निजी क्षेत्रदेखि सरकारसम्म कसैका पनि ध्यान जान सकेका छैनन् । नेपाली मौलिक गरगहनाहरूको संरक्षण, प्रवद्र्धन, निर्यात प्रवद्र्धनमा सरकारले ध्यान दिनै सकेको छैन । सुन व्यवसयीहरूका संघ-संगठनहरू पनि धेरै स्वरूपमा छरिएका देखिन्छन् ।

जसकारण एकमुष्ट आवाज बुलन्द हुन सकेको देखिँदैन । सरकारले सुन व्यवसायीका मागहरू सम्बोधन गरेको छैन । विश्वमै महत्वपूर्ण रहेको सुन व्यसायको विकास एवं विस्तार गर्न सरकारले ध्यान दिन सकेकै छैन । त्यसकारण नयाँ बनेको सरकारले सुन अर्थतन्त्रको महिमा बुझन् जरुरी छ । सुन व्यवसायलाई अनुत्पादक भनेरमात्र हुँदैन, विश्वकै ध्यान त्यँही रहेको परिपेच्छमा नेपालले आदर्श छाँटेर पनि हुँदैन । वर्षेनी अर्बौं रुपैयाँ कारोबार हुने सुन व्यवसायको क्षेत्रले हालका वर्षहरूमा करिब तीन लाख मानिसलाई रोजगारी दिँदै आएको अनौपचारिक तथ्यांक छ । मुलुकमा हाल साना-ठूला गरेर २३ हजारभन्दा बढी सुनचाँदी पसल रहेका छन् ।

यत्रो धेरै मानिसहरूको रोजगारीसँग सरोकार राख्ने, सरकारलाई वार्षिक अर्बौं राजस्व योगदान दिने क्षेत्रलाई राज्यले बेवास्ता गर्नु उचित होइन । त्यसकारण यस व्यवसायलाई सरकारले प्राथमिकता दिएर आवश्यक व्यावसायिक वातावरण बनाइदिनु, यसलाई व्यवस्थित र नियमित गर्न छुट्टै कानुन बनाइनु आजको आवश्यकता हो । सुनचाँदीको कलात्मक गरगहना बनाएर नेपालले निर्यात प्रबद्र्धन गर्न सक्दामात्र पनि अर्थतन्त्रमा त्यसले निकै ठूलो टेवा दिनसक्छ । त्यसकारण सरकारले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नु आजको आवश्यकता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?