मन्त्रीमण्डलमा सहभागिताबारे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्नेछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्नेछ ।

सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने बताइएको छ ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। कांग्रेसले प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो।

कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ। योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो। सोही आधारमा आज मन्त्री छान्ने तयारी छ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?