✍️ डा.शान्तिकृष्ण अधिकारी
डा.विमला शर्मा अंग्रेजी विषयकी प्राध्यापक हुन् । देश, समाज र परिवेशका बारेमा चिन्तन गरिरहने उनको बानी छ र समूहमा रहँदा बस्दा कुनै न कुनै सन्दर्भमा छलफल चलाउने गर्दछिन् । एक दिनको चियागफमा नेपालमा युवाको जनसंख्या र त्यसले पार्न सक्ने प्रभावका बारेमा कुरा उठाइन् । बालबच्चा र वृद्धवृद्धाहरूभन्दा नेपालमा युवाहरूको संख्या अझै अधिक छ, यही अवस्थामा युवाको शक्ति र जाँगरको प्रयोगबाट नेपालको उन्नति गर्न सक्नुपर्ने तर्क राखिन् । यतिबेला नेपालले केही गर्न सकेन भने कहिल्यै केही गर्न सक्दैन भन्ने उनको निष्कर्ष छ ।
युवा कसलाई भन्नेमा चाहिँ सबैका आ-आफ्नै धारणा छन् । संयुक्त राष्ट्र संघको सचिवालय, युनेस्को, आइएल्ओ आदिले १५ देखि २४ वर्ष उमेर समूहकालाई युवा भनी परिभाषित गरेका छन् । युएन् हेविट्याटले १५ देखि ३२ वर्षभित्रकालाई मानेको छ भने अफ्रिकन युथ चार्टरले १५ देखि ३५ कालाई युवा मान्दछ । यो लेख र डा.विमलाको आशय भने अलि भिन्न हो । पाखुरीमा दम र तिघ्रामा बल भएकालाई युवाका रूपमा मान्दै परिवार, समाज र देशका लागि केही योगदान गर्न सक्नेका बारेमा चर्चा गर्न खोजिएको हो ।
शारीरिक रूपमा समर्थ भए पनि मानसिक रूपमा कमजोर छ भने त्यस्तालाई बीपी कोइरालाले युवा मानेका छैनन् । उमेरले पाको भए पनि नयाँ विचार दिन सक्दछ र मानसिक रूपमा सक्रिय छ भने त्यस्तालाई कोइरालाले युवा मान्दथे । आदिकवि भानुभक्त आचार्यले पनि भनेका थिए, ज्युँदै मर्याको भनी नाम कस्को ? उद्यम बिना बित्दछ काल जस्को । समग्रमा भन्नु पर्दा युवा त्यही हो, जसले कुनै न कुनै उद्यम गर्दछ, क्रियाशील रहन्छ ।
नेपाल छाडेर विदेशतर्फ हान्निएका मानिसहरू प्रायः रोजीरोटीका लागि खाडी मुलुकतिर भासिएका छन् भने केही अध्ययनका सिलसिलामा अन्य मुलुकहरूमा बसोवास गर्दछन् । यसबाट के पुष्टि हुन्छ भने नेपालले मानवस्रोतको उपयोग गर्न सकेकै छैन ।
नेपालमा उमेरका हिसाबले युवाहरूको संख्या पर्याप्त छ तर उनीहरूको जीवन उद्यममा बितेको छ कि छैन भन्ने अलग्गै प्रसंग हो । विसं २०७८ मा सम्पन्न जनगणनाका अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । पन्ध्र वर्ष देखि ५९ वर्षसम्मका मानिसहरूको संख्या एक करोड ८० लाख ७१ हजार ६ सय ८५ छ । यो संख्या भनेको कुल जनसंख्याको लगभग ६२ प्रतिशत हो । यसलाई नेपालको सौभाग्य नै मान्नु पर्दछ । यो उमेर समूहका मान्छेले परिवारका लागि मात्र नभई देशका लागि मज्जैले श्रम खर्चिन सक्दछन् । कुरा यत्तिमात्रै हो कि देशले आफूसँग भएको जनशक्तिको सदुपयोग गर्न सक्छ कि सक्दैन ।
तर, दुर्भाग्य अहिलेसम्मको नेपालको परिस्थिति हेर्दा मानवस्रोतलाई मुलुकले परिचालन गर्न सकेकै छैन । भर्खरै सम्पन्न जनगणनाले देखाएको परिणाम अनुसार २१ लाख ९० हजार ५ सय ९२ जना मुलुक बाहिर रहेका छन् जसमध्ये १७ लाख ९९ हजार ६ सय ७५ पुरुष र ३ लाख ९० हजार ९ सय १७ महिला छन् । यसरी विदेशतिर गएको यो समूह बालबच्चा र बुढापाकाको नभई श्रम खर्चिन सक्ने युवाहरूको हो भनेर ठोकुवा गर्न हिच्किचाउनु पर्ने अवस्था छैन । नेपाल छाडेर विदेशतर्फ हान्निएका यी मानिसहरू प्रायः रोजीरोटीका लागि खाडी मुलुकतिर भासिएका छन् भने केही अध्ययनका सिलसिलामा अन्य मुलुकहरूमा बसोवास गर्दछन् । यसबाट के पुष्टि हुन्छ भने नेपालले मानवस्रोतको उपयोग गर्न सकेकै छैन ।
जबसम्म युवाशक्ति विदेशिने प्रचलनको अन्त्य गर्न सकिँदैन तबसम्म नेपालले विकासको बाटो समात्ने भन्ने असम्भव नै हुन्छ । यहाँका खेत खलियान बाँझा रहने, स्थापना भएका उद्योगहरू बन्द हुँदै जाने र विदेशबाट आयातित वस्तुहरूका भरमा गुजारा गर्ने परिपाटीले मुलुकलाई खस्किँदो अर्थतन्त्रतर्फ डो¥याउने सिवाय केही हात लाग्दैन । विदेशी अनुदान र ऋणका भरमा मुलुकको अर्थतन्त्र धान्दै अगाडि बढिरहेको मुलुक लामो समयसम्म ध्वस्त नभइरहन सक्दैन भन्ने पनि सबैले जानेकै कुरा हो ।
नेपालमा जति युवा बसिरहेका छन् तिनको उपयोग राजनीतिक दलहरूले गरिरहेका छन् तर त्यो उपयोग सदुपयोग हुन सकेको छैन । दुरुपयोगमात्र भइरहेको छ । क्याम्पस पढ्ने विद्यार्थीलाई क्याम्पस प्रमुखलाई कालो मोसो दल्न, प्राध्यापकलाई पिट्न र हड्ताल गर्न प्रयोग गरिएको छ । उद्योगमा कार्यरत मजदुरलाई साहुविरुद्ध भड्काउँदै उद्योग बन्द हुने गरी आन्दोलन गर्न सिकाइएको छ । हलो-जुवा हुनुपर्ने हातमा दलहरूका झण्डा बोकेमा भविष्य उज्ज्वल हुने पाठ पढाइरहिएको छ । आजको युवा नेपाली सेनाभन्दा ब्रिटिश सेना रोज्दछ । देशको विश्वविद्यालयभन्दा विदेशकोलाई प्राथमिकता दिन्छ । स्वदेशको स्वरोजगारभन्दा विदेशको तल्लो तहको रोजगारीलाई महत्व दिन्छ । उद्यमसहितको राजनीत होइन कि चाकडीमार्फत माथि उठ्ने प्रयासमा देखिन्छ ।
सारमा भन्नु पर्दा अधिकांश युवाहरू विभिन्न पार्टीका झोला बोक्नमै व्यस्त छन् । हातमा सीप भएका, भविष्यका लागि चिन्तित र परिवारको जिम्मा लिएका जिम्मेवार युवाहरू भने मुलुक छाडेर विदेशिन बाध्य छन् । अर्थात् अनुत्पादक काममा व्यस्त युवाहरू नेपालमा बस्नु र उत्पादनशीलहरू कामको खोजीमा भौँतारिनु वा विदेशतिर जानु नै हाम्रो दुर्भाग्य बन्दै आएको छ । यही विडम्बनालाई चिर्दै बाटो बिराएकालाई सही मार्गमा अग्रसर गराउनु र परदेशिएको श्रमलाई देशमै उपयोग गर्नु आजको नेपालको चुनौती हो ।
विश्वका कतिपय देशहरूमा औसत आयु बढ्दै जाँदा र जन्मदर घट्दै गएकाले युवाहरूको संख्या घट्दै गएको छ भने वृद्धवृद्धाहरूको जनसंख्या बढिरहेको छ । यसका कारण मुलुकका लागि श्रमदान गर्ने मानवस्रोतको अभाव खट्किँदै गएको देखिन्छ । विकसित र सम्पन्न मुलुकहरूले अल्पविकसित र गरिब मुलुकहरूबाट उनीहरूका लागि आवश्यक जनशक्तिको परिपूर्ति गरिरहेका छन् भने विदेशी जनशक्तिलाई रोजगारी दिन नसक्ने मुलुकहरू समस्यामा फस्दै जान थालेका छन् । सुदृढ अर्थतन्त्र नभएको नेपालले पनि युवाहरू प्रशस्तै हुँदाका बखत नै प्रगतिका तर्फ पाइला चाल्न सकेन भने भोलि गम्भीर समस्या भोग्ने दिन नआउला भन्न सकिन्न ।
नेपालमा पनि केही भएको छैनभन्दा भन्दै पनि अस्पतालहरूको संख्या बढ्दै गएको छ । प्राणघातक रोगहरूको उपचार नेपालमै हुन थालिसकेको छ । औषधिमूलोको उपलब्धता बढ्दै गएको छ । यी कारणहरूबाट नेपालीहरूको औसत आयु पनि वर्षेनी वृद्धि हुँदै गइरहेकै छ । यसले गर्दा वृद्धवृद्धाहरूको संख्यामा वृद्धि हुँदै जान थालेको छ । अर्कोतिर चेतनामा अभिवृद्धि हुँदै जाँदा छोरा भए पनि या छोरी भए पनि एउटै बच्चामा चित्त बुझाउने दम्पतीहरूको संख्या पनि बढ्दै जान थालेको छ । गाउँघरतिर सानो परिवार सुखी परिवार भन्ने चेतना पलाउँदै जाँदा सन्तान उत्पादन कम गर्ने प्रवृत्ति बढिरहेको छ ।
यी सबैको परिणाम केही वर्षपछि गएर नेपालमा युवाहरूको संख्या बालबच्चा र वृद्धवृद्धाहरूको भन्दा कम हुने निश्चित छ । पौरखी हातहरू न नेपालले पाउने छ न अहिले जसरी विदेशिने युवाहरू प्रशस्तै हुनेछन् । विप्रेषणबाट धानिँदै आएको नेपालको अर्थतन्त्रले त्यही अवसर पनि गुमाउँदै जानेछ । अन्ततः मुलुक गम्भीर संकटमा परेर अहिलेको श्रीलंकाभन्दा नाजुक अवस्थामा नपुग्ला भन्न सकिँदैन । त्यसैले बेलैमा सबै सचेत हुन जरुरी भइसकेको छ । अहिलेकै जस्तो अव्यवस्था र अराजकता रही रहृयो भने सुधार आउने सम्भावना पनि देखिँदैन ।
सरकारले सोच्ने भनेको विदेशमा पसिना बगाइरहेका करिब २२ लाख नेपालीले नेपालमै श्रम गर्ने अवस्था कसरी सिर्जना गर्ने भन्ने नै हो ।
नेपालमा काम गर्दा परिवारको सामान्य गुजारा गर्न पनि नपुगेका कारण नै घर छाडेर अर्काका देशमा मजदुरी गर्न बाध्य हुनुपरेको कुरालाई मनन् गर्न सक्नुपर्दछ । खाडीमा मासिक ३० हजार कमाउने व्यक्तिले नेपालमा मासिक १५ हजारमात्रै कमाउने अवस्था आएमा कोही पनि विदेशिने रहर गर्दैन । सबै कुरा नगदी चल्ने मुलुकमा छोराछोरीको कापी–किताब किन्ने पैसा पनि यहाँ कमाउन नसकेका कारण नै युवाहरू रुँदैरुँदै अरबतिर जान बाध्य भएका छन् ।
यसको सबैभन्दा ठूलो असर नेपालको मूल आयस्रोत कृषिमा असर परेको छ । गाउँघरमा बसोवास गरिरहेका वृद्धवृद्धा र महिलाबाट मात्रै खेत जोतिनु, रोपिनु र उत्पादन गर्नु त्यति सहज छैन । फलतः कृषियोग्य भूमि बाँझो बन्दै गइरहेको छ भने नेपालकै उत्पादनले पुग्ने फसलहरू पनि विदेशबाट आयात गर्नु परिरहेको छ । केही वर्ष अघिसम्म नेपालबाट निर्यात भइरहेका कृषिजन्य उत्पादनहरू अहिले अर्बौं रुपैयाँ खर्चेर आयात हुन थालेको छ । औषधि हालेर लामो समयसम्म ताजा जस्तै रहने बनाइएका विदेशी कृषिजन्य सामग्रीले नेपालीहरूको स्वास्थ्य बिगारी रहेको छ ।
नेपाललाई प्रकृतिले अन्य देशहरूलाई भन्दा बढी वरदान दिएकै छ । यही प्रचार गर्दै सुविधा सम्पन्न वृद्धाश्रमहरू खोलेर विदेशीलाई नेपालमा आकर्षित गर्नसक्ने हो भने विदेशमा पाएको हेरचाह गर्ने रोजगारी नेपालमै मिल्ने अवस्था आउन सक्दछ ।
कतिपय नेपालीहरू नेपालमै केही गर्छु भन्दै विदेशबाट फर्किए पनि । कृषिक्षेत्रमा आकर्षित भएर लगानी गरे पनि । कसैले तरकारी खेती गरे । कसैले मत्स्यपालन गरे त कसैले कुखुरा पाले । कसैले गाई भैँसी पालन गरेर दुग्धजन्य पदार्थको उत्पादन पनि थाले तर उनीहरूका लागि देश र समाजले सकारात्मक परिस्थिति निर्माण गर्न सकेको देखिँदैन । कृषकका उत्पादन बिक्री नभएर कहिले तरकारी सडकमा फालिएका त कहिले दूध-दही बाटोमा बगाएका समाचार बग्रेल्ती आइरहेकै छन् । यही अवस्था रहिरहेमा युवाहरू नेपालमै रोकिने परिस्थिति निर्माण हुनै सक्दैन ।
आफ्ना घरका वृद्ध बाबुआमालाई असहाय छाडेर अर्काका बाबुआमाको स्याहार गर्न हजारौं नेपालीहरू इज्रायल पुगेका छन् । आफ्नै नाममा रहेको सिँचाइ सुविधा पर्याप्त रहेको जग्गामा खेती गर्न छाडेर पानीको स्रोत नै नभएका खाडीका देशहरूमा हरियाली बनाउन लाखौं युवाहरू उता गएका छन् । नेपालमा निर्माण हुने घरहरूमा भारतीय मजदुरहरू प्रयोगमा आइरहेका छन् भने नेपाली युवाहरू अरबतिरका भौतिक पूर्वाधार निर्माणमा व्यस्त छन् । यसबाट परिवारहरू विच्छिृंखलित भइरहेका छन् भने देशले ठूलो मूल्य चुकाइरहेको छ । विप्रेषणमा रमाउनु भनेको त मुतको न्यानो भनेजस्तो मात्रै हो ।
नेपाललाई प्रकृतिले अन्य देशहरूलाई भन्दा बढी वरदान दिएकै छ । बालक, वृद्ध, युवा, रोगी सबैखाले पुस्तालाई सुहाउने मौसम नेपालको छ । यही प्रचार गर्दै सुविधा सम्पन्न वृद्धाश्रमहरू खोलेर विदेशीलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने विदेशमा पाएको हेरचाह गर्ने रोजगारी नेपालमै मिल्ने अवस्था आउन सक्दछ । यो त एउटा उदाहरणमात्रै हो, यस्तै अनेकन योजनाहरू बनाएर सरकारले युवालाई नेपालमै रोकेर मुलुकको विकासमा परिचालन गर्ने सम्भावना पर्याप्त छ । युवाहरूले उत्पादन गरेको कृषिजन्य वस्तुको ग्यारेण्टीमात्रै सरकारले लिइदिए पनि ठूलो संख्यामा युवाहरू यहीँ मिहिनेत गर्न लालायित हुन्छन् भन्नेमा कुनै शंका छैन ।
अझै आगामी पन्ध्र वीस वर्ष नेपालमा काम गर्न सक्ने जनशक्तिको संख्या पचास प्रतिशत भन्दा बढी नै हुने सम्भावना देखिएको छ । यसको मतलब नेपालले केही गर्ने हो भने आगामी बीस वर्षभित्रैमा गरिसक्नुपर्नेछ । युवाको संख्या कम हुँदै गएपछि प्रगति पनि पछि धकेलिँदै जान्छ । त्यसैले सरकार सम्वेदनशील हुँदै तत्काल ठोस योजना ल्याई कार्यान्वयनमा उत्रिन अब ढिलो गर्न नहुने भएको छ । सत्तास्वार्थभन्दा माथि उठेर युवाका समस्यामा सबै राजनीतिक दलहरूको ऐक्यबद्धता अहिलेका आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच