मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैनः महामन्त्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताउनुभएको छ ।

बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्नु नहुने बताउनुभएको हो । उहाँले मिटरब्याजी पीडितहरुल प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गर्नुभयो । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको बताउनु भयो ।

उहाँले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजी पीडितहरु कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनु भयो । महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्नेकुरा मुख्य रहेको उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दापनि उहाँहरुले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न स्क्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन । प्रधानमन्त्रीले अविलम्व भेट दिनुपर्छ । त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ । दोस्रो उहाँहरुले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानून बनाउने, संसदबाट प्रक्रिया अघि बढाउने, तेस्रो कुरा मिटरब्याजीहरु जुनसुकै राजनीतिक दलको छत्रछायाँमा हुन्, काँग्रेस, एमाले, माओवादी वा अरु दलका उनीहरुलाई कुनैपनि झमेलामा नराखि काम गर्नुपर्छ । प्रधानमन्त्रीले अविलम्व भेट्नुपर्छ । हामी उहाँहरुको आन्दोलनको समर्थन गर्न र संसदमा लैजान तयार छौँ । लोकतन्त्र कति धेरैले बोल्न पाए होइन, उनीहरुले बोलेका कुरा कति सरकारले सम्बोधन गरेको छ त्यो अहिलेको लोकतन्त्र हो । उहाँहरुको मुद्दालाई हल गर्नु यो बेलामा राजनीतक दल, राज्य सबैको कर्तव्य हो ।’

महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?