तरकारी बेचेर करोडपति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर । सदरमुकाम बेनीको मंगलाघाटमा घर र घडेरी । २७ रोपनी भन्दा बढी खेत बारी । खेतवारीमा तरकारी नै तरकारी । पोखरीमा माछा । खोरमा बाख्रा । लभ्लीहिल नजिकै किराना पसल ।

म्याग्दीको बेनी नगरपालिका २ खबरा लभ्लीहिलका ५९ वर्षिय चन्द्रवहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो । ४० वर्षपहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा सुरु गरेका कार्की अहिले रु तीन करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् ।

सँगैका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृत लगायत निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन् ।

२०३४ सालमा १८ वर्षको उमेरदेखि रु एक हजारको लगानीबाट कृषि पेसा सुरु गर्नुभएका कार्की अहिले जिल्लाका नमुना कृषक र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।

आफ्नो २७ रोपनी जग्गामध्ये १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् ।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानी लगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन् ।

‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,’ कार्कीले विगत कोट्याउँदै भने ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा सुरु गरेँ ।’

एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले रु तीनकरोड बढीको मालिक बनाएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो सहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् । त्यसैगरी लभ्लीहिलमा चारतले भव्य पक्की घर हालै मात्र निर्माण गरेका छन् । तरकारी खेतीबाट मात्रै वार्षिक रु १२ लाखभन्दा बढी कमाइ गर्छन् कार्की । माछा,कुखुरा र घरभाडाबाट हुने आम्दानी अलग । पसलबाट हुने फाइदा र अन्न बेचेर आउने पैसा उनको थप आम्दानी हो । गाउँमा र बेनीको मंगलाघाटमा गरी उनका दुई वटा पसलसमेत छन् ।

‘माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ,’ कार्कीले भने ‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो।’
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उहाँको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि लब्लीहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक समेत उनको घरमा नै जाने गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?