अयोध्याको आकर्षण बन्दै कालीगण्डकीबाट लगिएको देवशिला

दर्शनका लागि दैनिक हजारौंको भीड, राम ललाको मुर्ति बनाउने विषयमा विवाद

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 14 mins

म्याग्दी । भगवान् रामको बालवयको मुर्ति निर्माणका लागि भनेर गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाएका दुईवटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका छन् ।

अहिले ती शिलाहरु अयोध्यास्थित रामजन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर दुरीमा राखिएको छ । देवशिलाको दर्शन, पूजन र अवलोकनका लागि दैनिक हजारौं भक्तजनहरुको भीड लाग्ने गरेको छ । शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

ती शिलाहरुमध्ये कुन शिलालाई कुदेर भगवानको मूर्ति प्रतिष्ठापित गरिन्छ त्यो विषय अहिले अनिर्णित नै छ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको उक्त शिला भारतवर्षको प्राचिन सभ्यता र धार्मिक क्षेत्र मध्येको महत्वपूर्ण स्थल अयोध्यामा ‘साढे ६ करोड वर्ष पुरानो श्री हरिशिला’ भनेर पुजिए पनि जुन कामका लागि अयोध्या लगिएको हो सो विषयमा भने विवाद उत्पन्न भएको छ ।

श्रीराम जन्मभूमी कार्यशाला चौराहामा नेपालको कालीगण्डकी नदीबाट लगिएको देव शिला सहित भारतको उडिसा, राजस्थान,जयपुर, दक्षिणभारत लगाएतका क्षेत्रबाट लगिएका शिलाहरु पनि राखिएका छन् । ती शिलाहरुमध्ये कुन शिलाबाट भगवान रामललाको बाल स्वरुपको मूर्ति बनाइने भन्ने विषयमा अझैसम्म पनि अन्योल रहेको श्रीराम जन्मभूमि ट्रष्टका अधिकारीहरुले आफूलाई जानकारी दिएको अयोध्यास्थित बढी छाउनीका नेपाली साधु दास केदारनाथले बताउनुभएको छ ।

दास केदारनाथका अनुसार कालीगण्डकीबाट ल्याइएका दुई देवशिला कुन कामका लागि प्रयोग गर्ने भन्ने कुरा अहिले नै स्पष्ट भइसकेको छैन ।
श्री रामजन्मभूमि तीर्थ क्षेत्रका नीति निर्धारकहरुले भारत सरकारको निर्णय आएपछि मात्र भन्न सकिने बताएका छन् ।

श्रीराम जन्मभूमी कार्यशाला चौराहामा नेपालको कालीगण्डकी नदीबाट लगिएको देव शिला सहित भारतको उडिसा, राजस्थान,जयपुर, दक्षिणभारत लगाएतका क्षेत्रबाट लगिएका शिलाहरु पनि राखिएका छन् ।

भारतका केही साधु सन्त र विद्धानहरुले नेपालबाट ल्याइएको शिला करोडौं वर्ष पुरानो श्रीहरि शिला भएको,उक्त शिलालाई भगवानको अंश मानेर पूजिने हुँदा छिना वा अन्य हतियार चलाएर फोड्न नहुने, यदी ती देव शिलालाई फोडेमा ठूलो अनिष्ट हुने भन्दै ती शिलालाई यथावतरुपमा नै राखेर भगवान् श्रीरामका समेत गुरु मानिने भगवान हरि (विष्णु) को पूजन गरिनु पर्ने अडान राखेपछि ती शिलाबाट भगवान रामको वायवयको मूर्ति बनाउने वा नवनाउने भन्ने विषय अन्योलमा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

श्री रामजन्मभूमि तीर्थ क्षेत्रका अधिकारीहरुले नेपाली जनताको भावनाको आदर हुनेगरी भारत सरकारले निर्णय लिने बताइएको छ । “भगवान रामललाको मूर्ति निर्माण हेतुले धेरै ठाउँबाट शिलाहरु अयोध्या ल्याइएका छन्, ती शिलाहरुमध्ये कुन शिलालाई कुदेर भगवानको मूर्ति प्रतिष्ठापित गरिन्छ त्यो विषय अहिले अनिर्णित नै छ” दास केदारनाथले भन्नुभयो “सो विषयमा यहाँका अधिकारीहरुले अहिल्यै केही बताउन चाहँदैनन्। कुन शिलाबाट भगवान रामको बालवयको मूर्ति बनाउने भन्नेकुरा भारत सरकारले निर्णय गरिसकेपछि मात्र भन्न सकिन्छ ।”

अयोध्याको सवैभन्दा प्राचीन पीठ तपस्वी छाउनीका पीठाधीश्वर जगद्गुरु परमहंस आचार्यले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई एक पत्र लेखेर अहिल्या रूपी पत्थरमा छिना हथौडा नचलाउन अपिल गर्नुभएको छ । यदी यी पत्थरमा छिना हथौडा चलाएर फोड्ने हो भने तबाही आउन सक्ने उहाँले चेतावनी दिनुभएको छ ।

हेर्नुहोस् परमहंस आचार्यले श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्ट अयोध्यालाई लेखेको पत्र

भारतीय संचारमाध्यमहरुले पनि यस विषयलाई प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरेका छन् ।

उहाँले कालीगण्डकीबाट ल्याइएको शालिग्राम शिलामा भगवान श्रीहरि विष्णको साथमा माता लक्ष्मीको पनि वास हुनेहुँदा ती शिलाको प्राणप्रतिष्ठा गर्न नहुने र प्राणप्रतिष्ठा नै नगरी भगवान रामको मूर्ति मन्दिरमा राख्न नमिल्ने बताउनुभएको छ । यही विषयलाई लिएर भारत सरकारले अहिले अन्य विद्धान र साधुसन्तहरुसँग छलफल गरिरहेको पनि बुझिएको छ ।

भारतीय संचारमाध्यमहरुले पनि यस विषयलाई प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरेका छन् । भारतीय संचारमाध्य प्रभासकाँसी,टिभि इण्डिया,अमर उजाला,आजतक लगाएतले शालिग्राम शिला स्वयं भगवान नारायण भएको हुँदा भगवानलाई कुनै पनि हतियार प्रयोग गर्न नहुने भन्दै समाचारहरु प्रकाशन/प्रशारण गरेका छन् ।

यस्तो छ अयोध्याको इतिहास

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आखी झ्याल बनेको छ ।

नील नदीको किनारमा पिरामिडको अस्तित्व नहुदै, युरोपीय सभ्यताको केन्द्रबिन्दु मानिने युनान र रोममा सभ्य संस्कृति स्थापित नभइसकेको अवस्थामा भारतीय सभ्यतालाई विश्वमा चिनाउन सफल भएको साकेत नगरी अयोध्या पछिल्लो समय भारतीय राजनीतिको प्रमख केन्द्रसमेत बनेको थियो ।

नेपाल भारतको सिमानामा पर्ने सुनौलीबाट लगभग दुई शय किलोमिटर टाढा पश्चिममा पर्दछ अयोध्या । सभ्यताको पहिलो किरण सर्वप्रथम अयोध्याबाट नै युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको यहाका सन्त महात्माहरुको भनाइरहेको छ ।
हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । यहा करिव पौने छ लाख जनसंख्या रहेको छ । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम अयोध्याजी कायम गरेको छ । यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र वबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ‘सरयु’ बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो ।

मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।

सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु–याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए । मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो ।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ । मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ । ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भैरहेको छ ।

ढुंगा लैजान अयोध्याबाट राम मन्दिर निर्माण समितिका महासचिव राजेन्द्रसिंह पंकज पनि गलेश्वर पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वाकांक्षी परियोजनाका रूपमा अयोध्याको राम मन्दिरलाई अघि सारेका छन्। उक्त स्थानमा मुगल सम्राटले सन् १५२८ मा मस्जिद बनाएका थिए। उक्त मस्जिद बाबरी मस्जिदका रूपमा प्रख्यात थियो जहाँ मुस्लिम समुदायले प्रार्थना गर्थे। सन् १८५९ मा तत्कालीन ब्रिटिस शासकले मस्जिदमा मुस्लिम समुदायले प्रार्थना र बाहिर हिन्दु समुदायले पूजा गर्ने व्यवस्था मिलाएका थिए।

भारतका मुस्लिम समुदाय र हिन्दु समुदायवीच उक्त स्थान आ–आफ्ना धर्मका केन्द्रका रूपमा विवाद बढ्दै गयो। सन् १९९२ मा हाल भारतका प्रधानमन्त्री रहेका मोदीको पार्टी भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद, शिवसेना, आरएसएस लगायतले मस्जिदमा आक्रमण गरे। त्यति बेला भएको हिन्दु–मुस्लिम दंगामा २ हजार बढी मानिसले ज्यान गुमाएका थिए। उक्त घटनापछि भारतीय जनता पार्टीसहित कट्टर हिन्दुवादीले उक्त स्थानमा रामको मन्दिर बनाउन माग गर्दै आएका थिए।

बाबरी मस्जिद भएको ठाउँ हिन्दु र मुस्लिम समुदायले दाबी गरेपछि उक्त विवाद भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालत पुगेको थियो। लगातार ४० दिनको सुनुवाइपछि भारतको सर्वोच्च अदालतले २०१९ नोभेम्बर ९ मा उक्त स्थानमा राम मन्दिर बनाउन पाउनेगरी फैसला सुनाएको थियो। मस्जिद बनाउन अयोध्याकै अर्को ठाउँमा जग्गा उपलब्ध गराउन सर्वोच्च अदालतले भारत सरकारलाई आदेश दिएको थियो। अदालतले उक्त आदेश दिएपछि प्रधानमन्त्री मोदीले उक्त स्थानमा राम मन्दिर बनाउने याजना अघि बढाएका हुन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?