पारदर्शिता तथा विकासका लागि खुला तथ्याङ्क

हिमालय टाइम्स
Read Time = 8 mins

-हेजोंग लिम

तथ्याङ्क, आर्थिक विकास गर्न र सामाजिक समस्याहरू समाधान गर्न योगदान गर्ने एक आधार हो । आम नागरिक र खासगरी आर्थिक गतिविधिमा संलग्न व्यवसायीहरूका लागि सरकारका सही तथ्याङ्कहरू जान्नु धेरै महत्वपूर्ण छ, किनकि उनीहरूले देशको आर्थिक वृद्धिलाई बढाई रहेका हुन्छन् । तथ्याङ्ककको मुख्य प्रयोगकर्ताहरू नागरिक नै हुन् । दक्षिण कोरियामा नागरिक समाजले यो विषयलाई मननगरी त्यहाँको कानुनमा परिवर्तन गरी खुला तथ्याङ्कलाई नीतिहरूको मुख्य धारमा ल्याउने अभियान चलाइरहेका छन् ।

खुला तथ्याङ्क कानुन २०१३ को कार्यान्वयन पछि कोरीयाली सरकारले प्रत्येक तीन वर्षमा खुला सरकार तथ्याङ्क गुरु योजना बनाइरहेको छ । यसले परिमाणात्मक तथ्याङ्कबाट गुणात्मक तथ्याङ्क जारी गर्ने परिवर्तित पद्धतिलाई दर्शाउँछ ।  जसले नागरिक र व्यवसायीहरूको वास्तविक माग प्रतिबिम्बित गर्दछ ।

खुला सरकार तथ्याङ्क गुरुयोजनासँगै कोरीयाली सरकारले राष्ट्रिय तथ्याङ्क प्रकाशन योजना सार्वजनिक गरेको छ । ति योजनाहरुमा सामाजिक समस्याहरू समाधान गर्ने र नागरिकहरूले चाहेको आर्थिक तथ्याङ्कहरू पहिचान तथा प्रकाशन गर्ने कार्यक्रम उल्लेख छ । खुला सरकार तथ्याङ्कको प्रयोगमार्फत सूचना तथा प्रविधि र प्राबिधिक क्षेत्रहरूमा आर्थिक वृद्धिको आधार निर्माण गर्ने लक्ष्य कोरीयाली सरकारले राखेको छ ।

महत्वपूर्ण जनचासोको राष्ट्रिय मुख्य तथ्याङ्कको रूपमा जारी गरिने तथ्याङ्क पहिचान र चयन गर्न सरकारले खुला तथ्याङ्क फोरमबाट प्रतिक्रिया लिनुका साथै नागरिक र व्यवसायीहरू बीच सर्वेक्षण पनि गर्दछ । त्यसपछि राष्ट्रिय मुख्य तथ्याङ्क परियोजना ‘खुला तथ्याङ्क रणनीति परिषद’द्वारा छनोट गरिन्छ । यो परिषद प्रधानमन्त्री अन्तर्गतको निकाय हो । सरकारको खुला सरकारी तथ्याङ्क नीति, योजना र सोको कार्यान्वयनको अनुगमन गर्नको लागि यो परिषद स्थापना गरिएको हो । परिषद्मा नागरिक समाज, शिक्षाविद्, व्यवसायी र सरकारका प्रतिनिधिहरू हुन्छन् । बहु सरोकारवाला प्रक्रियाको रूपमा यसले समाजमा विभिन्न आवाजहरू आगाडि ल्याउँछ ।

राष्ट्रिय रुपमा प्रमुख तथ्याङ्क विषयहरूको छनोटले खुला सरकारको ‘सरकारी नीतिहरू सार्वजनिक आवश्यकताहरूको आधारमा हुनका लागि ती नीतिहरू बनाउने प्रक्रिया सकेसम्म समावेशी हुनुपर्छ’ भन्ने सिद्धान्तलाई पनि मूर्तरूप दिन्छ । यसरी राष्ट्रिय तथ्याङ्कलाई आर्थिक विकास, समावेशी नीति निर्धारण, पारदर्शीता र सरकारी जवाफदेहिताको मुख्य आधार बनाइएको छ ।

२०१६ मा कोरीयाली सरकाले खाद्य र औषधी, घर जग्गा कारोबार र सार्वजनिक खरिद सहित ३३ क्षेत्रहरूमा खुला सरकारी तथ्याङ्कहरू जारी गरेको थियो। २०१७ मा कोरीयाली सरकारले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स्)  र रोजगारीका जानकारी सहित १५ तथ्याङ्क सेटहरू खुला रुपमा जारी  गरेको थियो। यसरी खुला स्वरुपमा जारी गरिएको तथ्याङ्क सेटहरूको कूल संख्या ४८ पुगेको छ । यसले गर्दा जनताले निजी क्षेत्रद्वारा विकसित एपहरुबाट सजिलै मोबाइल उपकरणहरूमा सम्बन्धित सूचना र तथ्याङ्क तथा संदेश प्राप्त गर्न पाइरहेका छन । जनतालाई आवश्यक पर्ने सूचना पुनःप्रयोग गर्न सक्ने स्वरुपमा खुला तथ्याङ्कका रुपमा पाउनुले ती स्रोतहरुको अधिकतम सदुपयोग भैरहेको छ ।

खुला डाटाको प्रयोगले कृत्रिम बुद्धिमत्ता र अटोमेटेड सवारी साधनहरूसँग सम्बन्धित नयाँ उद्योगहरू सिर्जना गर्ने क्षमता निर्माण गर्दै देशको अर्थतन्त्रलाई पनि फाइदा पुर्याएको छ । साथै यस कार्यक्रम मार्फत ९ सय ११ वटा आपतकालीन तथ्याङ्कहरू छन् । जस्तै आपतकालीन बिरामीको अवस्थाको जानकारी र एम्बुलेन्सका जानकारी  र आगलागीका घटनाको तथ्याङ्क पनि जारी गरिएको छ ।

२०२१ सम्म १४७ क्षेत्रहरूको तथ्याङ्कहरुलाई राष्ट्रिय तथ्याङ्क पोर्टलमा खुला रुपमा जारी गरिएको थियो । सामाजिक मुद्दा र अत्यावश्यकतालाई प्रतिबिम्बित गर्दै कोरीयाली सरकारले २०२१ मा कोभिड १९ सँग सम्बन्धित तथ्याङ्क सार्वजनिक जारी गरेको थियो। यस तथ्याङ्कमा कोभिड-१९ सँग सम्बन्धित क्लिनिकल परीक्षण योजना चयन र बहिष्कार मापदण्ड सहित कोभिडसँग सम्बन्धित औषधीहरुको क्लिनिकल परीक्षणको जानकारी समावेश थिए ।

सन् २०२२ मा कोरीयाली सरकारले राष्ट्रिय मुख्य तथ्याङ्कको रुपमा व्यवसायिक जोखिम निर्धारण, औद्योगिक दुर्घटना समीक्षाका निर्णयहरु, राज्यको एकीकृत अनुदान र नागरिक दर्ता तथ्याङ्कहरुको जानकारीहरु राष्ट्रिय तथ्याङ्क पोर्टलमा जारी गरेको छ ।

यसको सफल कार्यान्वयनबाट उत्साहित भएर कोरीयाली सरकारले सन् २०२३ देखि २०२५ सम्मको लागि चौथो राष्ट्रिय मुख्य तथ्याङ्क सार्वजनिक योजना विकास गरिरहेको छ । तथ्याङ्कहरुलाई राष्ट्रको महत्वपूर्ण श्रोतका रुपमा आम नागरिक र व्यवसायिहरुले सहजै प्रयोग गर्न सक्ने खुला योजनाबाट कोरीयाली सरकारले आर्थिक विकासलाई बढाउन महत्वपूर्ण कदम चालेको त छँदैछ सँगसँगै पारदर्शी र उत्तरदायी लोकतन्त्रलाई सार्थक पनि बनाइरहेको छ ।

लेखक, लिम दक्षिण कोरीयाको राष्ट्रिय सूचना समाजका वरिष्ठ प्रबन्धक हुन । यो लेख खुला सरकार साझेदारीको पोर्टलबाट लिइएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?