धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा देश निकाला

हिमालय टाइम्स
Read Time = 4 mins

बाली । बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै देशनिकाला गर्न लागेको छ।

आफ्नो सुरुवाल गोलीगाँठासम्म झारेर पवित्र अगुङ पर्वतमा उनले खिचाएको तस्बिर गत साता भाइरल भएको थियो।

युरी नाम गरेका ती व्यक्तिले आफ्नो कार्यप्रति क्षमायाचना गरेका छन्। तर उनलाई ६ महिनासम्म इन्डोनेशिया प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ।

बालीले हालैका वर्षहरूमा विदेशी पर्यटकहरूले गर्ने खराब आचरणविरुद्ध कडाइ गर्न थालेको छ। अगुङ पर्वत बालीद्वीपको सबैभन्दा अग्लो स्थान हो। हिन्दू धर्मावलम्बीहरू यो पर्वतमा देवताहरूको वास भएको विश्वास गर्छन्।

अपवित्र भएको पर्वत ‘चोख्याउन’अनुष्ठान

एक स्थानीय अधिकारीले ती पर्यटकको आचरण ‘अक्षम्य’ भएको बताए। ‘उनले मूल्य र मान्यताहरू उल्लङ्घन गरेका छन् र हाम्रो संस्कृतिप्रति कुनै सम्मान देखाएका छैनन्,’ बालीस्थित कानुन र मानव अधिकार कार्यालयका प्रमुख एन्गिया नापिटुपुलुलले जाकार्ता पोस्टसँग भने।

रुसी भाषामा राखिएको भिडिओमा युरीले भनेका छन्, ‘मेरो गतिविधि क्षमायोग्य थिएन। जे भयो त्यो मेरो व्यक्तिगत लापरबाहीका कारण भएको हो।’

पछि उनी उक्त पर्वतलाई ‘चोख्याउन’ स्थानीयवासीहरूले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए। उक्त पर्वतमा त्यस्तो गतिविधि भएपछि शुद्धीकरणका लागि त्यस्तो अनुष्ठान आयोजना गर्ने गरेका छन्।

बालीस्थित रुसका मानार्थ वाणिज्यदूत विजयले सीएनएन इन्डोनेशियासँग ती पर्यटक ‘बहुलट्ठी’ भएको र उनलाई निष्कासन गर्ने निर्णय उचित भएको प्रतिक्रिया दिएका छन्।

कैयौँ स्थानीयवासीले पनि उनलाई निष्कासन गर्ने निर्णयको समर्थन गरेका छन्।

इन्डोनेशियामा यस्तो घटना भएको यो पहिलो पटक चाहिँ होइन।

मध्यबालीको बतुर पर्वतमा निर्वस्त्र नाच्दै गरेको भिडिओ सार्वजनिक गरेपछि गत वर्ष क्यानडाली अभिनेता जेफ्री क्रेगनलाई पनि इन्डोनेशियाबाट निष्कासन गरिएको थियो।

त्यसअघि सन् २०२१ मा रुसी जोडीले बतुर पर्वतमै यौन क्रियाकलाप गरिरहेको तीन मिनेट लामो भिडिओ बाहिरिएपछि ठूलो आक्रोश पैदा भएको थियो।

मंगलबार एक वरिष्ठ उच्च अध्यागमन अधिकारीलाई गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई कारबाही गर्न निर्देशन दिइएको जाकार्ता पोस्टले जनाएको छ।

ट्राफिक नियम उल्लङ्घनका कैयौँ घटनाहरू देखिएको भन्दै यहाँको प्रशासनले बाली क्षेत्रमा विदेशी पर्यटकहरूलाई मोटरसाइकल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि सारेका छन्।

बालीका गभर्नर आई वायन कोस्टरले रुस र युक्रेनका पर्यटकहरूलाई दिइँदै आएको अन–अराइभल भिसाको सुविधा खारेज गर्ने योजना अघि सारेका छन्।

दुई देशबीच जारी युद्धबीच ‘बालीमा ओइरिएका’ दुवै देशका पर्यटकहरूले प्रायः स्थानीय नियम नमान्ने गरेको आरोप छ। स्रोत : बीबीसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?