जुम्ला-रारा अल्ट्रा म्याराथन वैशाखमा

हिमालय टाइम्स
Read Time = 4 mins

जुम्ला । जुम्लाको सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्ला अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । अध्यक्ष शाहीले भन्नुभयो, ‘विगतका तीनवटा संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेकोे छ ।’

धाबक रोकायाको सम्मानमा उक्त प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको उहाँको भनाइ थियो । बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरूको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको छ ।

कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटुछेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ । विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झण्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए । आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धाबकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । उक्त म्याराथनका विजेता महिला पुरुष दुवैलाई जनही एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, सान्त्वना हुनेलाई २० हजार र पाँचौँ स्थानमा आउनेलाई २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

त्यस्तै, विद्यार्थीहरूबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

यसैगरीे कर्मचारी तथा व्यापारी र उद्योगीबीच पाँच किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ । ती प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताका लागि झण्डै २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धाबक हरिबहादुर रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?