रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

मस्को । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेका बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ । क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने निर्णय गरेपछि किभका सहयोगीहरूले रूसी तेल क्षेत्रमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा रूसको हिस्सा धराशायी भएको थियो ।

रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी ‘इण्डियन आयल कर्पोरेसन’का प्रमुखसँग सम्झौता गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रोसनेफ्ट आयल कम्पनी र इण्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको छ । रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन ।

रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत वर्ष मस्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताउनुभएको थियो ।
रोसनेफ्टका अनुसार दुई तेल कम्पनीका प्रतिनिधिहरूले ‘राष्ट्रिय मुद्रामा भुक्तानी गर्ने सम्भावना’ बारे पनि छलफल गरेका थिए । यसले रूसको अर्थव्यवस्थालाई डि-डलराइज गर्ने प्रयासलाई इंगित गर्दछ ।

ओपेक तेल आपूर्तिको प्रमुख उत्पादक तथा प्रमुख सहयोगी रूसले पश्चिमी प्रतिबन्धको जवाफमा यस महिना कच्चा तेलको उत्पादनमा प्रतिदिन पाँच हजार ब्यारेल कटौती गरेको छ ।

रूसविरुद्ध पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रोसनेफ्टले यस महिनाको सुरुमा वार्षिक नाफामा भारी गिरावट आएको जनाएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?