‘सन् २०२२ मा विश्वमा प्रयोग गर्न सकिने आणविक हतियारको भण्डार बढ्यो’

फाइल तस्बिर

Read Time = 3 mins

ओस्लो । युक्रेनमा जारी युद्धपछि आणविक तनाव बढ्दै गएपछि बुधबार सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको संख्यामा वृद्धि भएको जनाएको छ । नर्वेली जनताका लागि सहयोग (एनपिए) नामक गैरसरकारी संस्थाद्वारा प्रकाशित आणविक हतियार प्रतिबन्ध अनुगमनको रिपोर्टअनुसार सन् २०२३ मा नौवटा आधिकारिक र अनौपचारिक आणविक शक्तिसम्पन्न मुलुकसँग नौ हजार ५७६ वटा तयारी हतियार रहेका छन् ।

ती हतियारमा एक हजार ३५० भन्दा बढी हिरोसिमामा आक्रमण भएका बम बराबरका ‘सामूहिक विनाशकारी ऊर्जा शक्ति’ रहेको प्रतिवेदनमा उल्लेख छ ।

रूसले युक्रेनमाथिको आक्रमण र पूर्वी युरोपेली मुलुकलाई पश्चिमी सैन्य सहायताका सम्बन्धमा बारम्बार आणविक खतरा उठाएको बेला यो तथ्यांक प्रकाशित गरिएको हो ।

शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा ‘रणनीतिक आणविक हतियार तैनाथ गर्न’ मिन्स्कसँग सहमत भएको घोषणा गर्नुभएको थियो ।

गत वर्ष प्रयोगका लागि तयार पारिएको विश्वव्यापी आणविक भण्डारमा थप १३६ वटा ‘वारहेड’को श्रेय पाँच हजार ८८९ वारहेड भएको विश्वको सबैभन्दा ठूलो शस्त्रागार रूस तथा चीन, भारत, उत्तर कोरिया र पाकिस्तानलाई दिइएको थियो ।

‘यो वृद्धि चिन्ताको विषय हो र सन् २०१७ देखि सुरु भएको यो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ’, आणविक हतियार प्रतिबन्ध निरीक्षणका सम्पादक ग्रेटे लाउग्लो ओस्टर्नले एक विज्ञप्तिमा भन्नुभएको छ ।

यसैबीच विश्वमा सेवाबाट हटाइएकासहित आणविक हतियारको कुल भण्डार घट्दै गइरहेको छ । गत वर्ष रूस र संयुक्त राज्य अमेरिकामा पुराना ‘वारहेड’हरूको नष्ट गरिएका कारण आणविक हतियारहरूको संख्या १२ हजार ७०५ बाट घटेर १२ हजार ५१२ मा झरेको छ ।

नयाँ वारहेडहरू थप्ने क्रम नरोकिएसम्म विश्वमा आणविक हतियारहरूको कुल संख्या पनि चाँडै शीतयुद्धपछि पहिलोपटक फेरि बढ्न ओस्टर्नले बताउनुभयो ।

आधिकारिकरूपमा आठ आणविक शक्तिराष्ट्रहरू संयुक्त राज्य अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरिया हुन् भने इजरायलसँग अनौपचारिकरूपमा आणविक हतियार रहेको अनुमान छ । रासस/एएफपी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?