‘बैंकिङविरुद्धको आक्रमण अर्थतन्त्रमाथिको आक्रमण’

Read Time = 3 mins

काठमाडौं । नेपाल बैंकर्स संघले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेको आक्रमणप्रति चिन्ता प्रकट गरेको छ । संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको भन्दै ब्याजदरका नाममा नेपालको बैंकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखे पनि समग्र औद्योगिक क्षेत्रमाथिको आक्रमण भएको बताउनुभयो । बिहीबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले बैंकहरूले विदेशबाट पैसा ल्याउन सुरु भएको समयमा बैंकिङ क्षेत्रमा भएको चौतर्फी आक्रमणले वैदेशिक लगानी प्रभावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो आक्रमण बैंकमा मात्रै नभएर साढे चार करोड खाता धारण गर्नेमाथिको आक्रमण हो । त्यसैले अहिले केही बैंकलाई आक्रमण गरेजस्तो देखिए पनि यसले दूरगामी असर पर्नेछ ।’

अध्यक्ष केसीले ब्याजदरलाई कोरोनाकालसँग तुलना गर्न नमिल्ने भन्दै औद्योगिक वातावरण बनेपछि ब्याजदर बढ्नु सामान्य भएको दाबीसमेत गर्नुभयो । अहिलेको ब्याजदर केही बढी भएजस्तो देखिए पनि सामान्य भन्दै उहाँले ब्याजदर पनि घटाउन बैंकले प्रयास जारी राखेको जिकिर गर्नुभयो ।

केसीले बैंकहरूले अहिले विद्युतीय गाडी तथा उत्पादन बढाउने क्षेत्रमा लगानी गरिरहेको र घरजग्गा कारोबार कम हुँदा खराब कर्जामा दबाब रहेको बताउनुभयो । तर, मेजर इन्डिकेटर राम्रो रहेको र नेपाली बैंक रिक्समा नरहेको र नेपाली बैंकको लगानी सुरक्षित रहेको बताउनुभयो । नेपाली बंैकको ६० प्रतिशतभन्दा बढी लोनमा धितो बलियो रहेको भन्दै उहाँले बैंकले धेरै क्षेत्रमा लगानी गरेको भएर डराउनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । अध्यक्ष केसीले भन्नुभयो, ‘संसारभर ब्याजदर बढेको बेला नेपालमा १८ लाखको मुख हेरेर ब्याज घटाउने सम्भावना कम छ तर पनि कम ब्याजदर होस् भन्नेमा बैंकर्सहरू रहेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?