प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै, ३ बजे शपथ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

१० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

आज दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी तयारी भइरहेको बताइएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरूको भागबण्डा टुंग्याएको थियो ।

कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा कांग्रेसमा छ ।

हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने छन् ।

कांग्रेसले पाउने मन्त्रालयमा अर्थ, परराष्ट्र, रक्षा, कानून र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै,शहरी विकास, भूमि व्यवस्था,सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ ।

भौतिकको सट्टा माओवादीले गृह मन्त्रालय लिनेछ । माओवादीको भागमा सञ्चार, उर्जा,पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।

नेकपा एसले यी मन्त्रालयमा बेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । यो मन्त्रालयमा यसअघि जनमतका अब्दुल खान मन्त्री थिए ।

जनमतले उद्योग मन्त्रालय पाएको छ । जनमतले एउटा राज्यमन्त्री पनि पाउँदैछ । नागरिक उन्मुक्ति पार्टीलाई युवा तथा खेलकुद र लोसपालाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भागमा परेको छ । लोसपाले श्रममा शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ । प्रभु साह आमजनता पार्टीबाट मन्त्री बन्ने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?