उपनिर्वाचनः तीनै क्षेत्रमा ‘हेभिवेट भिडन्त’ हुने संकेत

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । प्रमुख दलहरू रिक्त तीन क्षेत्रमा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दलहरू उपनिर्वाचनको तयारीमा जुटेका हुन् । उनीहरू उम्मेदवार चयनदेखि निर्वाचन क्षेत्रमा आन्तरिक प्रचार-प्रसारमा जुटेका हुन् । वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन स्थानमा उपनिर्वाचन हुँदै छ । चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ-१ र बारा-२ एकैपटक उपनिर्वाचन हुँदै छ । चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका रिक्त तीने क्षेत्रमा एकै पटक निर्वाचन गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य रिक्त बनेको थियो । त्यस्तै, तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि दुई क्षेत्र खाली भएका थिए ।

उपचुनावमा पनि राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका ‘हेभिवेट’ उम्मेदवारहरू प्रतिस्पर्धामा आउने भएका छन् । चितवन-२ मा यसअघि निर्वाचित रास्वपा सभापति रवि लामिछाने भिड्ने पक्का छ । बारा-२ को प्रतिस्पर्धा झन् चर्को हुने देखिएको छ । बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता राजेन्द्र महतो लड्ने चर्चा छ । जनमत पार्टीले शिवचन्द्र कुशवालाई उम्मेदवार बनाएको छ । चितवन, बाराजस्तै तनहुँ पनि ‘हटस्पट’ बन्दै छ । तनहुँमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमालेले उम्मेदवार तय गरिसकेको छैन । तर, यही बीचमा तनहुँबाट अर्थशास्त्री स्वर्णिम वाग्ले पनि उम्मेदवार हुने चर्चा छ । रास्वपाले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको छ । उहाँले बिहीबार नै कांग्रेस परित्यागसमेत गर्नुभएको छ । वाग्लेको कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने देखिएको छ ।

बारा-२ मा ‘भाले भिडन्त’
हारेका तीनजना संसद् छिर्ने दाउमा
उपनिर्वाचन हुने तीनमध्ये सबैभन्दा महत्वका साथ हेरिएको निर्वाचन क्षेत्र हो बारा-२ । यसअघि जसपाबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ । आधिकारिक निर्णय हुुन बाँकी भए पनि उपेन्द्र उठ्ने चर्चाबीच सो क्षेत्रलाई महत्वका साथ हेर्न थालिएको छ । यादव मात्रै होइन लोसपा नेता राजेन्द्र महतोको पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी छ । गत निर्वाचनमा यादव र महतो क्रमशः सप्तरी-२ र सर्लाही-२ बाट पराजित भएका थिए । दुवै जना उपनिर्वाचनबाट संसद् छिर्ने दाउमा छन् । तर, दुवैलाई संसद् छिर्न भने सजिलो छैन । बारा-२ मा दुवैजना उम्मेदवार भएको खण्डमा नवगणित जनमत पार्टीले टक्कर दिने देखिएको छ । जनमत पार्टीले ‘हेविवेट’ उम्मेदवारलाई टक्कर दिन गत निर्वाचनमा रामसहाय यादवसँग झिनो मतान्तरले पराजित माओवादी केन्द्रका शिवचन्द्र कुशवालाई पार्टीमा भित्र्याएको छ । उहाँ गत निर्वाचनमा यादवसँग साढे तीन भोटले मात्रै पराजित हुनुभएको थियो । बारा–२ मा उपेन्द्र उम्मेदवार भएको खण्डमा कांग्रेसले जसपालाई सघाउनले भएको छ । कांग्रेस मात्रै होइन गठबन्धनमा आबद्ध माओवादीले पनि जसपालाई नै सघाउने सम्भावना छ । यद्यपि, आधिकारिक निर्णय हुन बाँकी छ ।

चितवन-२ र तनहुँ-१ मा कांग्रेसले टुंग्यायो उम्मेदवार
नेपाली कांग्रेसले चितवन-२ र तनहुँ-१ मा उम्मेदवार टुंग्याएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुई निर्वाचन क्षेत्रका उम्मेदवार चयन गरेको हो । चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापति हुनुहुन्छ । यसअघि क्षेत्रमा सो निर्वाचन क्षेत्रमा कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार हुनुहुन्थ्यो । उहाँका अनुसार तनहुँ-१ मा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसले तनहुँ र चितवनमा उम्मेदवार चयन गरे पनि अरू दलले भने उम्मेदवार तय गरिसकेका छैनन् । नेकपा एमालेले आज (शुक्रबार) उम्मेदवार तय गर्ने भएको छ । चितवनमा रास्वपाबाट पुनः सभापति रवि लामिछाने नै उम्मेदवार हुने लगभग निश्चित छ । कांग्रेस सत्ता गठबन्धनमा भएकोले माओवादी लगायतका दलबाट उम्मेदवार नहुने सम्भावना छ । राप्रपाले भने उम्मेदवार उठाउने निर्णय गरेको छ । तर, व्यक्ति तय गर्न भने बाँकी छ । तनहुँमा पनि अरू दलले उम्मेदवार तय गरिसकेका छैनन् ।

चितवनका जनताले बुझिसके, गत मंसिरको उल्टो परिणाम आउँछ : श्रेष्ठ
कांग्रेसले टिकट दिने निर्णय गरेपछि जितनारायण श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । पार्टीबाट टिकट पाएपछि प्रतिक्रिया दिँदै उहाँले गत मंसिरको नतिजाको ठिक उल्टो परिणाम आउने दाबी गर्नुभयो । चितवनका जनता शिक्षित रहेकाले रवि लामिछानेको वास्तविकता बुझिसकेको उहाँको भनाइ छ । ‘जनतामा रहेको निराशाका कारण गत मंसिरमा त्यस्तो नजिता आयो । रविजीले प्रचारबाजी र फण्डा गर्नुभयो । चितवनका जनता कि भनेर झुक्किनुभयो,’ उहाँले भन्नुभयो, ‘तर अहिले चितवनका जनताले बुझिसके । गत मंसिरको उल्टो परिणाम आउँछ ।’

तनहुँमा कांग्रेसको जित निश्चित : भट्टराई
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले विगतमा झैँ यसपटक पनि कांग्रेस नै विजयी हुने बताउनुभयो । यसपटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने उहाँको भनाइ छ । ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र कांग्रेसले नै जितेको क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘हामी भारी बहुमतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामबाट नै निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’

रास्वपाको पहिलो रोजाइमा वाग्ले र महानायक हमाल
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्री स्वर्णिम वाग्ले र महानायक राजेश हमालसँग केही नेताहरूले छलफल गरिरहेको छ । तर, यो समाचार तयार पार्दासम्म रास्वपाले उम्मेदवारबारे निर्णय गरिसकेको छैन । स्वर्णिम तनहुँ १ का मतदाताको मनस्थिति बुझ्न व्यस्त रहेकाले निर्णयमा केही समय लाग्ने स्रोतको भनाइ छ ।

‘राजेश हमालजीसँग हाम्रा केही साथीले कुराकानी गरिरहनु भएको छ’, रास्वपाका एक नेताले भन्नुभयो, ‘भारतमा पनि हिरोहरू राजनीतिमा आएका छन् । नेपालमा पनि त्यो लहर सुरु भएको छ ।’ रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ । उसले तीनै क्षेत्रमा चुनावी कमान्डर तोके पनि चितवन २ बाहेक अरूमा उम्मेदवार तय गरिसकेको छैन ।

अर्थशास्त्री वाग्लेद्वारा कांग्रेस पार्टी परित्याग
दाइ-भाउजू-साला-भतिजको गिरोह बनेको टिप्पणी
अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । बिहीबार उहाँले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको हो । पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको उहाँको भनाइ छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको उहाँले टिप्पणी गर्नुभएको छ । अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै स्वर्णिमले २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने प्रष्ट पार्नुभएको छ । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभएको छ, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’ आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने उहाँको भनाइ थियो । वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?