सत्ता गठबन्धन बैठकः आज मन्त्रिपरिषद् विस्तारको तयारी, न्यूनतम साझा कार्यक्रम तयार

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । लामो रस्साकस्सी र विवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको थियो । तर, प्रायः सबै मन्त्रालयको भागबण्डा भइसके पनि एकाध मन्त्रालयमा दोहोरो दाबी परेपछि बिहीबार विस्तार हुन सकेन । मन्त्रालयको भागबण्डा मिलाउन बाँकी रहेका विषय मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गठबन्धन दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गर्नुभएको थियो । केही मन्त्रालयमा गठबन्धनका दलहरूको तेहेरोसम्म दाबी परेपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकले मन्त्रालयहरूको भागबण्डा लगभग टुंगो लगाएको थियो । सहमतिअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ मन्त्रालय, सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले पाँच मन्त्रालय, एकीकृत समाजवादी पार्टीले दुई मन्त्रालय पाउने सहमति भएको छ । यस्तै, जसपाले दुई र अन्य साना दलले एक÷एक मन्त्रालय पाउने समझदारी भएको छ । यसअघि नै माओवादीका चार मन्त्री छन् । कांग्रेसले पाउने मन्त्रालयमा अर्थ, परराष्ट्र, रक्षा, कानुन र स्वास्थ्य मन्त्रालय छन् । त्यस्तै, शहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसकै भागमा छन् ।

भौतिकको सट्टा माओवादीले गृह मन्त्रालय लिनेछ । माओवादीको भागमा सञ्चार, ऊर्जा, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ । नेकपा एसले यी मन्त्रालयमा बेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । यो मन्त्रालयमा यसअघि जनमतका अब्दुल खान मन्त्री हुनुहुन्थ्यो ।

जनमतले उद्योग मन्त्रालय पाएको छ । जनमतले एउटा राज्यमन्त्री पनि पाउँदै छ । नागरिक उन्मुक्ति पार्टीलाई युवा तथा खेलकुद र लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भागमा परेको छ । लोसपाले श्रममा शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ । प्रभु साह आमजनता पार्टीबाट मन्त्री बन्ने हुनुभएको छ ।

यी हुन् कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री
नेपाली कांग्रेसका मन्त्रीहरूको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले मन्त्रालय पाएको आठ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लगाएको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्नेछ । कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, शहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ । उपसभापति खड्का र नेता रमेश रिजालमध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने अन्तिम टुंगो लागिसकेको छैन । उपप्रधानसहित परराष्ट्र वा रक्षामध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने बताइएको छ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीनजना मन्त्री पाउनैपर्ने अडान राखेको थियो । तर, उसको भागमा दुई मन्त्रालय मात्र पर्ने देखिएको छ ।

संक्रमणकालीन न्यायका काम दुई वर्षमा सक्ने
सत्तारूढ दलहरूले आफ्नो न्यूनतम साझा कार्यक्रम करिब टुंगो लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् । जसमा दुई वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने, ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, सरकारी सेवा लिन लाग्ने समय एक तिहाइले घटाउनेलगायत विषय उल्लेख छन् । मस्यौदालाई अन्तिम रूप दिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?