फलामे ढोकासम्म पुग्ने साधन र परीक्षार्थी

Read Time = 13 mins

✍️ सञ्जय साह मित्र

अरू परीक्षाको समयमा समाजका खासै कुनै हलचल हुँदैन तर एसइईमा भने एक हिसाबले समाज परिचालित हुन्छ । सम्भवतः अझै पनि अभिभावकको दृष्टिकोणमा विद्यालय तहको अन्तिम परीक्षा एसइई नै छ । एसइईपछि विद्यार्थीले रोजेको विषय पढ्न पाइरहेको, घरभन्दा टाढा गएर अभिभावकले पढाउन तयार भइरहेको तथा विद्यार्थीले पनि आफूलाई जिम्मेवार ठानिरहेको अहिलेसम्मको सामाजिक प्रवृत्ति रहेकोले एसइईलाई फलामे ढोका मान्ने पुरानो प्रवृत्ति पनि रहेको छ । पहिले एसएलसी पास गर्न कठिन थियो र एसएलसी पास गरेपछि सानोतिनो सरकारी जागिरको वा उच्च अध्ययनको बाटो खुल्थ्यो त्यसैले एसएलसीलाई फलामे ढोका समाजले मान्दथ्यो ।

अब कक्षा १२ सम्मको पठनपाठन सहज भइसकेको छ । तराई मधेशको अधिकांश गाउँमा कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयहरू रहेका छन् । अब गाउँमा पनि विज्ञान, कला, शिक्षा, वाणिज्य, कानुनजस्ता विषयहरूको पढाइ हुन थालेको छ । तर जति विषयको पढाइ कक्षा ११ देखि गाउँघरका विद्यालयमा नै हुन्छ त्यत्ति धेरै विषय कक्षा ९ मा नरहेको कारण पनि एउटै विद्यालयमा सोही विद्यार्थीले एसइइसम्म एउटा तहको र एसइईपछि आफूलाई अर्को तहको विद्यार्थी ठान्दछन् ।

केही समय पहिले एसइईमा पहिलोचोटि लेटर ग्रेडिङ प्रणाली लागू हुँदा कोही पनि फेल हुँदैन भनिएको थियो । कोही पनि परीक्षार्थी एसइईमा फेल नहुने समय कोरोनाको काल पनि हो । यद्यपि, अहिले आएर नपढी पास भएको विद्यार्थीमा गुणस्तरको अभाव हुन्छ भन्ने समाजले बुझिसकेको छ ।

अहिले साधारण विद्यालयमा एसइईसम्म ऐच्छिक गणितमा धेरै विद्यार्थी देखिन्छन् भने कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थीले वाणिज्य लिएको पाइन्छ । यहीँनेर यो स्पष्ट हुन आउँछ कि एसइई गर्नुअघि र गरेपछि केही भिन्नता विद्यार्थीले पनि पाउने गरेका छन् । यस कारण विद्यार्थी तथा अभिभावकको दृष्टिमा एसइई अझै पनि फलामे ढोका हो ।

एसइई गरेपछि कतिपय विद्यार्थी मध्यम किसिमको जनशक्ति बन्नको लागि प्राविधिक धारतिर जान्छन् । एचए, ल्याब टेक्निनिसिन, कम्प्युटर र यस्तै अन्य प्राविधिक विषय पढ्न पाउने व्यवस्था अहिले पनि रहेको छ । एसइईपछि अर्को क्षेत्रको पढाइ पढ्न पाउने अवसर विद्यार्थीका अगाडि अहिले पनि छ । यसले गर्दा विद्यार्थी तथा अभिभावक दुवैलाई एसइई एउटा अवसर हुन जान्छ । एसइईपछि नै अभिभावकले आफ्ना सन्तानलाई के पढाइरहेको छु भन्ने बोध गर्न थाल्छन् । एसइईसम्म सन्तान कहाँ पढिरहेको छ भन्ने कुरो महत्वपूर्ण हुन्छ भने एसइईपछि के पढिरहेको भन्ने कुरो महत्वपूर्ण हुनजाने हुन्छ । समाजको चासो यसैमा हुन्छ । यसले के देखिनआएको छ कि एसइई परीक्षा दिने विद्यार्थी र तिनका अभिभावकप्रति समाजको चासो रहने गरेको छ । समाजको चासो अन्य परीक्षाको भन्दा यसैमा रहने गरिएको देखिन्छ ।

केही समय पहिले एसइईमा पहिलोचोटि लेटर ग्रेडिङ प्रणाली लागु हुँदा कोही पनि फेल हुँदैन भनिएको थियो । कोही पनि परीक्षार्थी एसइईमा फेल नहुने समय कोरोनाको काल पनि हो । यद्यपि अहिले आएर समाजले पनि बुझिसकेको छ कि नपढी पास भएको विद्यार्थीमा गुणस्तरको अभाव हुन्छ । गुणस्तरको अभावमा राम्रो श्रेणी ल्याएर उत्तीर्ण भएको परीक्षार्थीले पनि खासै केही गर्न पाउँदैनन् । अगाडिको बाटो सहज बनाउन विद्यार्थीले राम्रो गर्नैपर्छ । आजभोलि सबै ठाउँमा प्रतिस्पर्धा हुनथालेको छ । विद्यार्थीको प्रमाणपत्रमा राम्रो डिभिजन वा ग्रेड हुनुभन्दा प्रतिस्र्धात्मक क्षमता हुनु जरुरी छ । प्रतिस्पर्धी क्षमताको विकास गराउन अभिभावक चाहन्छन् तर सामान्य मनोविज्ञान यही रहेको छ कि एसइईपछि बालबालिका आफूप्रति नै बढी जवाफदेही बन्न थाल्दछन् ।

सबै अभिभावक चाहन्छन् कि आफ्ना सन्तान राम्रा होऊन् । सबैले आफ्ना छोराछोरीलाई अत्यधिक प्रतिस्पर्धी बनाउने चाहना राख्नुलाई स्वाभाविक मान्नुपर्छ । तर, सबैको अवस्था एक किसिमको हुँदैन । आर्थिक, सामाजिक तथा अन्य भौतिक कारणले अभिभावकले आफ्ना सन्तानलाई सोचेजस्तो शिक्षा दिलाउन सकिरहेका हुँदैनन् । यति हुँदाहुँदै पनि जुन विद्यालयमा सन्तानलाई पढाउँछन् त्यहाँको भौतिक अवस्था र शिक्षकबारे अभिभावकलाई उति धेरै चासो हुँदैन । विद्यालय छ र बालबालिका पढ्न गइरहेका छन्, यति भएपछि पुग्छ । अभिभावकलाई आफ्नो सन्तान अब्बल होओस् भन्ने चाहना छ तर विद्यालयको वातावरण अब्बल बनाउने किसिमको नहुँदा आफ्नो भूमिका कस्तो हुनसक्छ भन्ने विषयमा भने उदासीन बन्न पुग्दछन् अभिभावकहरू । एउटा सामान्य उदाहरण हेरौँ ।

मधेश प्रदेशको रौतहटमा यस वर्ष ११२ विद्यालयबाट ८ हजार ९५९ परीक्षार्थीले ३५ परीक्षा केन्द्रबाट एसइई परीक्षा दिँदै छन् । यीमध्ये २४ संस्थागत विद्यालय रहेका छन् । रौतहटमा ८८ सामुदायिक माध्यमिक विद्यालय छन् । २४ संस्थागत विद्यालयबाट करिब पाँच सय परीक्षार्थी एसइईमा सम्मिलित छन् भने ८ हजारभन्दा बढी ८८ सामुदायिक माध्यमिक विद्यालयबाट परीक्षामा सम्मिलित छन् । एसइई दिने ८८ सामुदायिक माध्यमिक विद्यालय रहेको यस जिल्लामा माध्यमिक तहको शिक्षक दरबन्दी भने जम्माजम्मी १९० रहेको छ । माध्यमिक तहको राहत दरबन्दीको संख्या ४८ छ ।

रौतहटमा २० भन्दा बढी माध्यमिक तहको दरबन्दी रिक्त छ । राहत दरबन्दीसमेत गरी जिल्लामा माध्यमिक शिक्षकको संख्या करिब सबा दुई सय हुन आउँछ । यदि ८ हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी भएका छन् भने कम्तीमा कक्षा ९ मा पनि यत्ति नै विद्यार्थी रहेको मान्ने हो भने १६ हजारभन्दा बढी विद्यार्थीको लागि २१८ जनामात्र शिक्षक उपलब्ध छन् । यदि यही तथ्यांकलाई राम्ररी विचार गर्ने हो भने माध्यमिक तहका अधिकांश शिक्षक प्रअ हुने देखिन्छ । ८८ सामुदायिक विद्यालयका ८८ जना शिक्षक त प्रअ नै हुने भए ।

सबैले बुझेका छन्, प्रअलाई व्यवस्थापकीय तथा कार्यालयीय कामले फुर्सद भइरहेको हुँदैन । कतिपय विद्यालयमा तह अनुसारको प्रअ नहुँदा अर्कै समस्या झेल्नुपर्ने हुन्छ । यदि प्रअलाई शिक्षण गर्ने शिक्षकबाट झिक्ने हो भने रौतहटमा जम्मा १३० माध्यमिक शिक्षकको भरमा करिब १६ हजार विद्यार्थी पढिरहेका छन् । साँच्चिकै शिक्षा क्षेत्रको यो भयानक तस्बिर हो ।

मधेश प्रदेशको रौतहटमा यस वर्ष ११२ विद्यालयबाट ८ हजार ९५९ परीक्षार्थीले ३५ परीक्षा केन्द्रबाट एसइई परीक्षा दिँदै छन् । यीमध्ये २४ संस्थागत विद्यालय छन् । रौतहटमा ८८ सामुदायिक माध्यमिक विद्यालय छन् ।

गतवर्ष शिक्षक सेवा आयोगले गरेको विज्ञापनको अन्तिम नतिजासम्म आइपुग्दा धेरै जिल्लामा आवश्यकताभन्दा कम मात्र शिक्षक नियुक्त भएका छन् । अहिले फेरि विज्ञापन भइसकेको छ । सबै तहमा र सबै प्रदेशमा शिक्षकको अभाव छ । माथि रौतहट जिल्लामा शिक्षकको अभाव रहेको देखाइए जस्तै देशको अन्य जिल्लामा पनि शिक्षक र विद्यार्थीको अनुपात ज्यादै असन्तुलित हुन सक्छ । फेरि दक्ष जनशक्ति नपाइने अवस्था पनि शिक्षक सेवा आयोगको पछिल्लो नतिजाले देखाइसकेको छ । साथै विभिन्न चाडपर्व तथा विपद्को कारणले पनि विद्यालय बन्द हुने अवस्था आउँछ । २०७९ को वैशाख महिनाभरि अहिले एसइई दिइरहेका परीक्षार्थीले पढ्न पाएनन् । यही शैक्षिक तथा भौतिक वर्तमानमा कथित फलामे ढोकासम्म पुगेका छन् परीक्षार्थीहरू ।

कोरोनाको समयमा कतिपय अवस्थामा विद्यार्थीलाई मोबाइलले पनि पढ्न लगाइएको थियो । कक्षागत समूह बनाएर अनलाइन शिक्षण गर्नुपर्दा मोबाइलको प्रयोग धेरै विद्यार्थीले गरेका थिए । त्यसपछि धेरै विद्यार्थीको हातमा मोबाइल पुगेको छ । मोबाइलमा मनोरंजनात्मक कार्यक्रमहरू हेर्ने, भिडियो बनाउने, अपलोड गर्ने तथा विभिन्न खेलहरू खेल्ने काममा धेरै विद्यार्थीहरू अभ्यस्त भइसकेका छन् । विद्यालयमा शिक्षकको आँखाबाट ओझेल पर्नासाथ तथा घरमा अभिभावककै अगाडि पनि मोबाइल चलाउन बानी परिसकेका विद्यार्थीहरूको पढाइमा त पक्कै घाटा लागिसकेको छ ।

पाठ्यपुस्तकप्रति उदासीन रहने तर मोबाइल देखेरै उत्साहित हुने परीक्षार्थीहरू छन् । केही अपवादबाहेक ग्रामीण क्षेत्रका अधिकांश परीक्षार्थी परीक्षालाई लिएर पनि गम्भीर बनेको पाइँदैन । झण्डै हरेक विषयमा पाइने प्रयोगात्मक नम्बरको सहायताले उत्तीर्ण भइहाल्छु भन्ने चिन्तन हावी भइसकेको छ । उत्तीर्ण भएपछि कतै न कतै माथिल्लो कक्षामा भर्ना हुन्छु, त्यसपछि देखाजाला ।

पहिले एसएलसीलाई हौवा बनाइएको थियो । विद्यार्थीमा निकै डर हुन्थ्यो । अहिलेका अधिकांश अभिभावकहरू त्यहीँ एसएलसीको हौवामा होलबाट गुज्रिएका छन् । अहिले एसइईलाई आफ्नै जमानाको मनोविज्ञानबाट प्रभावित भई हेर्ने गरेका छन् । पहिलेको एसएलसी र अहिलेको एसइई एउटै होइनन् । कक्षा १० को अन्त्यमा लिइने अन्तिम परीक्षा भने अवश्य हो । अधिकार प्राप्त केन्द्रीय वा प्रादेशिक निकायले लिने र नतिजा निकाल्ने पहिलो परीक्षा एसइई भएको कारणले पनि होला, परीक्षार्थी र अभिभावक दुवैको दृष्टिमा यस परीक्षाको महत्व अलिकति बढी भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?